close

यसरी मापन गरिन्छ रेडियोको कभरेज

टेकपाना टेकपाना

कात्तिक १८, २०७७ १६:४९

यसरी मापन गरिन्छ रेडियोको कभरेज

काठमाडौं । नेपालमा रेडियोको कभरेज मापन गर्न करिब एक दशकदेखि आधुनिक प्रविधिको प्रयोग भइरहेको छ । रेडियो म्यापिङ (आरएम) सफ्टवेयरको सहयोगमा एफएम रेडियोको कभरेज नाप्ने गरिन्छ ।

यसका लागि कुनै स्थानमा भएको रेडियोको टावरको उचाइ र टावरमा राखिएको एन्टेना (भर्टिकल, सर्कुलर, यागी, प्यानल पोलोराइजेसन) ट्रान्समिटरसम्म जोडिएका हुन्छन् । नेपालमा १०० वाटदेखि ५००० वाटसम्मको  ट्रान्समिटर क्षमता भएका सामुदायिक तथा निजी रेडियो सञ्चालित छन् । 

यो प्रविधिबाट रेडियो रहेको स्थानबाट कति दूरीसम्म कुन गुणस्तरमा रेडियो प्रसारण भइरहेको छ भन्ने कुरा एकै स्थानमा बसेर मापन गर्न सकिन्छ । यो आईटीयू (अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन) को एफएम प्रसारण मापदण्डअनुसार तयार पारिने एक प्रकारको भर्चुअल विधि हो । 

सफ्टवेयरले रेडियो ट्रान्समिटर र टावर भएको स्थानमा रहेको ट्रान्समिटरको गुणस्तर, क्षमता, त्यसमा जडान भएको फिडर केवल, र त्यो फिडर केवलमाथि झुण्डिएको एन्टेना (डाइपोल) तथा त्यस तीबीचमा हुने क्याभिटी फिल्टर, एक्साइटर जस्ता प्रसारण सामग्रीहरुको सहयोगमा म्यापिङ तयार पार्दछ । 

यसमा सञ्चार मन्त्रालयबाट प्राप्त फ्रिक्वेन्सी (जस्तै ९९ मेगाहर्ज) मा रेडियोलाई भर्चुअल रुपमा प्रसारण गरिन्छ र आधा घण्टादेखि ६ घण्टासम्मको अन्तरालमा रेडियोको गुणस्तर सहितको नक्सा तयार हुन्छ ।

जसमा २२ डीबी (फ्रिक्वेन्सीको गुणस्तर मापन गर्ने इकाई) देखि ७६ डीबीसम्मको गुणस्तर स्पष्ट देख्न सकिन्छ । यसरी तयार पारेको नक्सालाई जीआईएसको सहयोगमा जिल्ला, वडा, र सीमा क्षेत्रको नक्साहरु सिंक गरी अन्तिम नक्सा तयार पारिन्छ ।

रेडियो विज्ञहरुका अनुसार यसरी तयार पारिने कभरेज म्यापिङको एक्युरेसी ८० प्रतिशतसम्म हुने गर्दछ । केही समय अघिको रेडियो कभरेज म्यापिङमा रेडियो नेपालको पहुँच नेपालको करिब ८० प्रतिशत भूभागमा रहेको देखिएको थियो । 

रेडियोमा यसरी बुझ्नुहोस् २२ डीबी र ७६ डीबी

डीबीलाई न्यूनतमबाट अधिकतम गुणस्तरको रुपमा बुझ्न सकिन्छ । त्यो क्षेत्रमा अरु कुनै फ्रिक्वेन्सीको पहुँच छैन अथवा कुनै रेडियो सञ्चालनमा छैन भने त्यहाँ म्यापिङ गरिएको न्युनतम २२ डीबीमा रेडियो सुन्न सकिन्छ ।

अर्थात त्यस क्षेत्रमा साधारण रेडियोले फ्रिक्वेन्सी टिप्न सक्छ र सुन्न सकिन्छ । म्यापिङ गरिएको रेडियोको प्रसारण सामग्रीभन्दा राम्रो क्षमता तथा गुणस्तरको अर्को रेडियो छ र त्यो सञ्चालनमा छ भने यदि म्यापमा २२ डीबीको रङ्ग पोतिएको भागमा उक्त रेडियो सुन्न सकिँदैन ।

त्यसबाट माथि ७६ डीबीसम्म पुगेको रङ्गको रेञ्जले रेडियो प्रसारण भने क्रमशः उत्कृष्टता झल्काउँछ ।  नेपालमा रेडियो म्यापिङको पहिलो नमूना परियोजना अन्तर्गत सन् २००८ मा डीबीआई इक्वेल एक्सेस काठमाडौंले केही रेडियोलाई लक्षित गर्दै बीएएस (ब्रोडकास्ट अडियन्स सर्भे) रेडियो सर्भे सार्वजनिक गरेको थियो । 

दोस्रो चरणमा सन् २०११ मा  देशभरका ३१६ रेडियो (सरकारी, सामुदायिक र निजी सबै गरी) लाई समावेश गर्दै कभरेज म्यापिङ जारी गरिएको थियो । उक्त परियोजना इक्वेल एक्सेस इन्टरनेसनलको पहल तथा यूएसएड र केमोनिक्सको सहयोगमा डीबीआई इक्वेल एक्सेस नेपालले सम्पन्न गरिएको थियो । 

उक्त परियोजनाको प्राविधिक नेतृत्व नेपाली रेडियोका विज्ञ तथा एनालग रेडियोलाई डिजिटलमा रुपान्तरण गर्न महत्वपूर्ण योगदान पुर्‍याएका पवनप्रकाश उप्रेतीले गरेका थिए । उक्त टिममा सन्तोषकुमार देवकोटा र अनिल घिमिरे समेत संगल्न रहेका थिए । 

उप्रेतीकै पहल र नेतृत्वमा रेडियो प्रविधि अध्ययनदेखि प्रविधि हस्तान्तरणसम्मको काम भएको थियो । जुन अहिलेको समयमा पनि देशका करिब सबै रेडियोको कभरेज नक्सानका लागि प्रयोग हुँदै आएको छ । 

रेडियो म्यापिङको प्रयोग 

रेडियो म्यापिङको प्रयोग मुख्यतः मिडिया मार्केटिङका लागि हुने गरेको छ । विज्ञापन एजेन्सीलाई कभरेज गुणस्तर देखाएर विज्ञापन माग्ने प्रचलन नै चलेको छ ।

एजेन्सीले पनि रेडियोको गुणस्तर तथा कभरेजको जानकारी खोजिरहेका हुन्छन् । निश्चित स्थानमा रहेको गुणस्तर बुझ्नका लागि समेत रेडियो म्यापिङ हुने गरेको छ । 

रेडियो सेटअपकाे कार्य गर्दै सन्तोषकुमार देवकोटा

डाइपोललाई कता फर्काउँदा त्यसको कभरेजको गुणस्तर कुन स्थानमा कस्तो रहन्छ भनेर थाहा पाउन समेत सबैजसो एफएम रेडियोले यसको प्रयोग गरिरहेका हुन्छन् । 

रेडियो म्यापिङ रेडियोको श्रोता सहभागिता (अडियन्स रिच) सर्भे गर्नमा समेत उपयोगी हुँदै आएको छ । हालको समयमा लामो समयदेखि रेडियो प्रविधिको क्षेत्रमा संलग्न सन्तोष कुमार देवकोटाले नै नेपालमा रेडियोको कभरेज म्यापिङको कार्य गर्दै आएका छन् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०