close

टेलिकम र एनसेलभन्दा तेब्बर ब्याण्डविथ बिक्री गर्छन् इन्टरनेट सेवा प्रदायक

गोपाल साउद गोपाल साउद

कात्तिक १५, २०७६ १७:४९

टेलिकम र एनसेलभन्दा तेब्बर ब्याण्डविथ बिक्री गर्छन् इन्टरनेट सेवा प्रदायक

तपाईं हामीले चलाइरहेकाे इन्टरनेट कसरी चलिरहेको छ, कहिल्यै ख्याल गर्नुभएको छ ? इन्टरनेटको विश्व सञ्जालबाट विभिन्न क्यारियर हुँदै दूरसञ्चार कम्पनी र नेटवर्क सेवाप्रदायकको लाइसेन्स लिएका इन्टरनेट सेवा प्रदायकले नेपाल भित्र्याउँछन् र मोबाइल तथा इन्टरनेट सेवा प्रदायक मार्फत तपाईं हाम्रो मोबाइल तथा कम्प्युटरसम्म आइपुग्छ ।

तपाईं हामीले प्रयोग गर्ने इन्टरनेट कति स्पिडको तथा कुन गतिको हुने भन्ने कुरा त्यसरी आएको ब्याण्डविथको क्षमतामा निर्भर गर्छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल नेपालमा करीब एक करोड ५६ लाखले ईभिडियो, थ्रीजी र फोरजीको रुपमा मोबाइलमा इन्टरनेट चलाइरहेका छन् भने ८२ लाख ८५ हजारले फिक्सलाईन कनेक्सनमार्फत ‍त्यसको प्रयोग गरिरहेका छन् ।

नेपालभर यतिधेरैले प्रयोग गर्ने इन्टरनेट कति होला त ? यसको सजिलो जवाफ दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकले आयात तथा बिक्री गर्ने अन्तरराष्ट्रिय ब्याण्डविथको मात्रा नै हो ।

नेपालमा इन्टरनेट ब्याण्डविथ बिक्री गर्ने मामिलामा ठूला दूरसञ्चार कम्पनीकाे तुलनामा इन्टरनेट सेवा प्रदायक कम्पनी निकै अगाडि देखिएका छन् । नेपाल टेलिकम र एनसेल जस्ता करोडौं ग्राहक भएका टेलिकम कम्पनीको तुलनामा इन्टरनेट सेवा प्रदायकहरूले आयात तथा बिक्री गर्ने अन्तरराष्ट्रिय ब्याण्डविथ करिब तीन गुणा बढी छ ।

प्राधिकरणका अनुसार हाल नेपालमा प्रयोग हुने सबैजसो इन्टरनेट सेवाका लागि प्रति सेकेन्ड कूल तीन सय ७८ दशमलव पाँच जीबी अन्तरराष्ट्रिय ब्याण्डविथ आइरहेकाे छ । जसमध्ये सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले हाल ६५ दशमलव ३ जीबीपीएस अन्तरराष्ट्रिय ब्याण्डविथ आयात तथा बिक्री गरिरहेकाे छ भने मोबाइल सेवा प्रदायक कम्पनी एनसेलकाे ३५ दशमलव २ जीबीपीएस रहेकाे छ ।

टेलिकमले मोबाइल इन्टरनेट सँगै एडीएसएल तथा एफटीटीएच इन्टरनेट समेत दिइरहेकाे छ । अन्य दूरसञ्चार कम्पनीले अन्तरराष्ट्रिय ब्याण्डविथ सिधै खरीद नगर्ने भएकाले टेलिकम र एनसेलले आयात तथा बिक्री गर्ने ब्याण्डविथ एक सय दशमलव पाँच जीबीपीएस हुन्छ । 

तर, दूरसञ्चार कम्पनीको तुलनामा निकै साना रहेका इन्टरनेट सेवा प्रदायकहरूले आयात तथा बिक्री गर्ने कुल ब्याण्डविथ भने २ सय ७८ जीबीपीएस छ । अझ रोचक विषय त के छ भने टेलिकम र एनसेल दुबैले आयात तथा बिक्री गर्ने कूल ब्याण्डविथको तुलनामा इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क एक्लैले आयात र बिक्री गर्ने गरेको तथ्य बाहिर आएको छ । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनीको रुपमा रहेको वर्ल्डलिङ्क एक्लैले एक सय ३४ जीबीपीएस ब्याण्डविथ आयात गरी बिक्री गरिरहेकाे छ ।

त्यसो त गुगल, युटुब, फेसबुक जस्ता धेरैमात्रामा प्रयोग हुने सेवाका लागि अन्तरराष्ट्रिय ब्याण्डविथ खपत कम गर्न विभिन्न सेवाप्रदायकहरुले स्थानीय स्तरमा क्यास सर्भर समेत राखिरहेका हुन्छन् ।

मोबाइल डाटा एकदमै महंगो भएकाले टेलिकम कम्पनीहरूको ब्याण्डविथ खपत कम देखिएको वश्लेषण दूरसञ्चार विज्ञ आनन्दराज खनालको छ । ‘इन्टरनेट सेवा प्रदायकहरूले अनलिमिटेड इन्टरनेट दिइरहेका छन्, त्यो सेयर समेत हुनेभएकाले कसैले न कसैले चलाइरहेकै हुन्छ । ग्रामीण क्षेत्रमा पनि सेवा विस्तार गर्दै गइरहेका छन् ,’ उनी भन्छन्, ‘तर, दूरसञ्चार कम्पनीहरूको पहँच राम्राे भए पनि प्रति एमबी डाटा नै निकै महंगो छ । त्यसैले मानिसहरूले कञ्जुस्याइपुर्वक मोबाइल इन्टरनेट प्रयोग गर्नुपरिरहेकाे छ ।’

अन्य देशमा निश्चित रकम तिरेपछि मोबाइल इन्टरनेट समेत अनलिमिटेड चलाउन सकिने गरी डाटा प्याकेज उपलब्ध हुनेगरेको भए पनि नेपालका मोबाइल सेवाप्रदायकले भने हालसम्म त्यस किसिमको अभ्यास गर्न समेत सकेका छैनन् ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्याल समेत मोबाइल इन्टरनेट निकै महंगो भएकै कारण नेपालमा दूरसञ्चार सेवाप्रदायकले तुलनात्मक रुपमा न्यून ब्याण्डविथ आयात र बिक्री गर्न सकेको बताउँछन् । ‘ब्रोडब्याण्ड नीति र आईसीटी नीतिका आधारमा मोबाइल इन्टरनेटको शूल्क घटाउनुपर्ने देखिएको छ,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३