close

आईसीटी अवार्डमा पब्लिक भोटिङ सुरु

टेकपाना टेकपाना

कात्तिक २१, २०७७ २१:५७

आईसीटी अवार्डमा पब्लिक भोटिङ सुरु

काठमाडौं । आईसीटी अवार्ड २०२० को लागि पब्लिक भोटिङ सुरु भएको छ । आईसीटी अवार्ड अन्तर्गतका विभिन्न ४ विधाहरुमा छनौट भएका उत्कृष्ट ५ को लागि पब्लिक भोटिङ सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

नोभेम्बर ३० तारिखसम्म सञ्चालन हुने पब्लिक भोटिङमा ईसेवा, एसएमएस र ईमेल मार्फत विश्वभरीबाट भोट गर्न सकिनेछ । गत कार्तिक ६ गते भर्चुअल कार्यक्रम मार्फत जुरी र जुरी सल्लाहकारको उपस्थितिमा आयोजकले विभिन्न ४ विधाका उत्कृष्ट ५ को घोषणा गरेको थियो ।

१४ जनाको जुरी समितिले तेस्रो चरणको छनौट प्रक्रियाबाट स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आईसीटी अवार्ड र राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड २०२० विधाहरूमा उत्कृष्ट ५ को छनौट गरिएको हो ।

उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप आईसीटी अवार्ड २०२० अन्तर्गत स्टार्टअप कम्पनीहरूमा बिजहब आईटी सर्भिसेस प्रा.लि, क्रिप्टोजेन नेपाल प्रा.लि, जेनियस सिस्टम प्रा.लि, जिवी हेल्थ प्रा.लि र नेपमेड्स प्रा.लि. रहेका छन ।

यसैगरी प्रडक्ट आईसीटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ पर्न सफल प्रडक्टहरूमा सिपिएसडिएस, फ्युज क्लास रूम, जेनियस आईपी टिभी, जिवी र न्यानो नानी रहेका छन् ।

यसैगरी इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आईसीटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल इन्नोभेसनहरूमा कोभिड–१९ निमोनिया डिटेक्सन युजिङ डिप लर्निङ एण्ड न्युरल नेटवर्क, गो कोरोना नर्स रोबोट, पाइला इमर्जेन्सी रेसुसिटेटर, सिस्टर राबोट र थर्मोग्राफिक क्यामेरा फर मेजरिङ फिवर रहेका छन ।

राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ प्रोजेक्टहरूमा थ्रिडी प्रिन्टिङ विथ रिसाइकल्ड प्लास्टिक, बाला फ्रम वेस्ट टु हेल्थ, सन्चैछौ, स्मार्ट ब्लाइन्ड मेनस्टिक र स्मार्टघर रहेका छन् ।

यस वर्ष विभिन्न ११ विधामा आईसीटी अवार्डका लागि अनलाइन नोमिनेशन खुला गरिएको थियो । ३५० बढिको अनलाइन आवेदन प्राप्त भएको आइसिटी अवार्ड २०२० को छनौट प्रकृया विगत २ महिनादेखि जारी छ ।

अन्य विभिन्न ७ विधामा दोश्रो चरणको छनौट प्रकृया सञ्चालन भइरहेको प्रमुख जुरी संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए ।

आईसीटी अवार्ड २०२० को ग्राण्ड फिनाले मसिंर २१ गते आयोजना हुनेछ । उक्त कार्यक्रम विभिन्न टेलिभिजन र अनलाइनहरुमा प्रत्यक्ष प्रशारण समेत आयोजकले जनाएको छ ।

लिभिङ विथ आईसीटीले आयोजना गरेको कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरण, नाष्ट, जिनस सोलुसन, फोन पे, एनआईटिसी, राष्ट्रिय वाणिज्य बैंक, ईसेवा, डिशहोम, इमिनेन्स वेज, टेक्नोरियो, आइडियाजार लगायतको सहकार्य र सहयोग रहेको छ ।

विभिन्न ४ विधाको लागि उत्कृष्ट ५ मा छानिएका प्रतिस्पर्धीलाई भोट गर्न ईसेवा, ईमेल वा एसएमएसको प्रयोग गर्नुपर्ने हुन्छ । ईसेवाबाट भोट गर्नको लागि मोबाइलमा ईसेवा एप्लिकेशन डाउनलोड गरी आईसीटी अवार्डमा गएपछि विभिन्न ४ विधाहरु खुल्नेछन ।

आफूले भोट गर्न चाहेको विधामा गएर उत्कृष्ट ५ मध्ये कसलाई भोट गर्ने छनौट गरी भोट बुझाउन सकिनेछ । भोटिङ मसिंर १५ गतेसम्म सञ्चालन हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०