close

फोनमा यसरी आइपुग्छ स्पाइवेयर, जोगिने कसरी ?

टेकपाना टेकपाना

कात्तिक २३, २०७७ २२:३

फोनमा यसरी आइपुग्छ स्पाइवेयर, जोगिने कसरी ?

काठमाडौं । अहिलेको समयमा जसरी मानिसहरुको अनलाइन गतिविधि बढिरहेको छ, ह्याकिङको खतरा पनि त्यही स्तरमा तीव्र गतिमा बढिरहेको छ । प्रयोगकर्ताको डिभाइसमा कति बेला स्पाइवेयर वा माल्वेयर इन्स्टल भइदिन्छ, पत्तै हुँदैन ।

यहाँनिर जान्नै पर्ने कुरा के छ भने स्पाईवेयर पनि माल्वेयरकै एउटा प्रकार हो । जसले प्रयोगकर्ताको डिभाइसमा रहेका महत्वपूर्ण सूचना ह्याकरसम्म पुर्‍याउने गर्दछ ।

यो यस्तो चिज हो, जसले तपाईंको मोबाइलमै बसेर तपाईंको जासुसी गरिरहन्छ । यति मात्र होइन, स्पाइवेयरले तपाईंको डिभाइसमा किलगर समेत इन्स्टल गराउन सक्छ ।

जसले तपाईंको विशेष साइट तथा एपको युजरनेम र पासवर्ड समेत चोरी गर्न सक्छ । यसले किस्ट्रोकको माध्यमबाट लगईन डिटेल चोर्ने काम पनि गर्दछ ।

तपाईंको फोनमा स्पाईवेयर छ कि छैन भन्ने कुरा थाहा पाउन त्यति सजिलो छैन । सामान्यतया स्पाईवेयरलाई एडवेयर, ट्र्याकिङ कुकिज, सिस्टम मनिटर र ट्रोजनमा वर्गीकरण गर्न सकिन्छ ।

डिभाइसमा कसरी आइपुग्छ ?

सामान्यतया कुनै पनि डिभाइसमा स्पाइवेयर वा मालवेयर अथवा जासुसी गर्ने सफ्टवेयर तथा एप कुनै एउटा लिङ्कको माध्यमबाट इन्स्टल हुने गर्दछ । कयौं पटक यस्ता एप कुनै थर्ड पार्टी एपको माध्यमबाट डिभाइसमा घुसिरहेका हुन्छन् ।

जब कुनै एप फोनमा इन्स्टल गर्नुहुन्छ, त्यतिखेर त्यसले तपाईंलाई डिभाइसमा अनुमतिका लागि अग्री बटनमा क्लिक गर्न लगाउँछ । अग्री बटनमा क्लिक नगर्दासम्म त्यस्तो एप इन्स्टल नै हुँदैन ।

प्रयोगकर्ताले जानी नजानी यस्ता एपलाई क्यामेरा, माइक्रोफोन, म्यासेज आदि जस्ता चिजमा एक्सेस दिइरहेका हुन्छन् । त्यसपछि यस्ता थर्डपार्टी एपको माध्यमबाट तपाईंको फोनमा स्पाईवेयर पुग्ने गर्दछ ।

स्पाईवेयर सफ्टवेयर गेमिङ तथा पोर्न साइटको माध्यमबाट पनि तपाईंको फोनसम्म पुगिरहेको हुनसक्छ । एक पटक तपाईंको डिभाइसमा स्पाईवेयर इन्स्टल भयो भने त्यसले तपाईं आफ्नो फोन तथा कम्प्युटरमा के के गर्नुहुन्छ, सबै जानकारी थर्ड पार्टी अर्थात ह्याकरसम्म पुर्‍याइ रहेको हुन्छ ।

यसले फोनको लोकेसनदेखि कयौं प्रकारका संवेदनशील जानकारी समेत ट्र्याक गरेर अर्को व्यक्तिसम्म पुर्‍याइरहेको हुन्छ । तर प्रयोगकर्तालाई आफ्नो जानकारी अर्को कुनै तेस्रो पक्षले हात पारिरहेको छ भन्ने कुराको छनकसम्म हुँदैन ।

यदि तपाईंको फोनले धेरै मात्रामा इन्टरनेट डेटा खपत गरिरहेको छ वा स्विच अफ हुन सामान्य भन्दा बढी समय लागिरहेको छ भने सम्झिनुहोस्, तपाईंको मोबाइलमा पनि स्पाईवेयर पसिसकेको हुनसक्छ ।

यस्ता स्पाईवेयर कुनै व्यक्तिले इन्स्टल गरिदिएको पनि हुनसक्छ । अथवा कुनै अपरिचित वेबसाइटबाट इन्स्टल गरेको एपसँगै इन्स्टल भएको पनि हुनसक्छ ।

यदि तपाईंको फोन बारम्बार क्र्याश भइरहेको छ वा एप पटक पटक ह्याङ वा क्र्याश हुने गर्दछ भने सावधान हुनुहोस् । यस बाहेक यदि तपाईंको फोनमा कुनै यस्तो फोल्डर देखिँदैछ, जसको बारेमा तपाईंलाई कुनै जानकारी नै छैन भने पनि तपाईंका लागि खतराको घन्टी हुन सक्छ ।

आफ्नो फोनमा कुनै संदिग्ध एप छ, जुन तपाईंले इन्स्टल गरेको होइन भने सुरुमा फोनको इन्टरनेट कनेक्सन बन्द गर्नुहोस् र उक्त एपको एप डेटा डिलिट गरी त्यसलाई अनइन्स्टल गरिदिनुहोस् ।

स्पाईवेयरबाट जोगिन चाहनुहुन्छ भने सकेसम्म सक्कली र आधिकारिक एप तथा सफ्टवेयर मात्र प्रयोग गर्नुहोस् । यसको अर्थ गुगल प्ले स्टोर, एप्पल एप स्टोर जस्ता आधिकारिक एप स्टोरबाट मात्र एप डाउनलोड गर्नुहोस् ।

सुपर एन्टी स्पाईवेयर, स्पाइवेयर ब्लास्ट जस्ता सफ्टवेयर तथा एप समेत स्पाइवेयर डिटेक्ट गर्नका लागि उपयोगी हुन सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०