close

फोनमा आवाज कस्तो सुनियो ? रेटिङ सहित नियामकमा रिपोर्ट गर्नुस्

टेकपाना टेकपाना

कात्तिक १८, २०७६ १३:५१

फोनमा आवाज कस्तो सुनियो ? रेटिङ सहित नियामकमा रिपोर्ट गर्नुस्

अब मोबाइल तथा टेलिफोन सेवाग्राहीले तुरन्तै आफुले गरेको कलको गुणस्तरको विषयमा रिपोर्ट गर्न सक्ने भएका छन् । ग्राहकले आफुले गरेको कलमा कुनै समस्या आए वा गज्बको अनुभव गरे वा मध्यम किसिमको महसुस गरे सबै अवस्थामा नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई तत्काल सिधै जानकारी दिन सक्ने छन् ।

त्यसका लागि प्राधिकरणले छुट्टै एप्लीकेशन निमार्णको काम सुरु गरेको जनाएको छ । अहिले हुँदै आएको ड्राइभटेष्ट सर्भे गुणस्तरको अनुभव नै भएको प्राधिकरणका उप–निर्देशक बिनोदचन्द्र श्रेष्ठको भनाई छ । उनले भने, ‘अब कलको क्वालीटी कस्तो छ, ग्राहक कति सन्तुष्ट छन् भन्ने कुराकाे जानकारी ग्राहकबाटै लिने तयारी भइरहेको छ ।’

त्यसैका लागि एउटा मोबाइल एप्लिकेशन निमार्ण भइरहेकाे छ । सेवाग्राहीले आफ्नो मोबाइलमा उक्त एप्लिकेशन डाउनलोड गरेर एक्सेस दिएको खण्डमा उक्त एपले गुणस्तरको विषयमा आवश्यक सुचना संकलन गर्ने श्रेष्ठ बताउँछन् ।

श्रेष्ठका अनुसार जुन जानकारी प्राधिकरणसँग रहेका उपकरणबाट संकलन गर्न सकिन्छ, त्यो एपले नै स्वतः संकलन गर्नेछ । यद्यपी त्यसको जानकारी भने जवाफको रुपमा ग्राहकले दिनुपर्ने हुन्छ । त्यस्तोमा कलको अन्त्यमा हाल फेसबुकको म्यासेन्जर, भाइबर लगायतका एपमा गुणस्तरको विषयमा सोधिने जस्तै स्टार रेटिङको विकल्प सहित प्रश्न सोधिने छ ।

उक्त प्रश्नमा विभिन्न जवाफको विकल्प दिइएको हुनेछ । सेवाग्रीले आफुलाई लागेको प्रतिक्रिया छनोट गरी जानकारी दिन सक्नेछन् । सेवाग्राहीले कलको गुणस्तर कस्तो लाग्यो, त्यसको अधारमा स्टार रेटिङ गर्न सक्ने श्रेष्ठ बताउँछन् । त्यसका अधारमा सेवा प्रदायकको गुणस्तरको मासिक प्रतिवेदन सार्वजनिक गरिनेछ ।

‘यो क्राउड सोर्सिङकाे एउटा प्रकार हो,’ श्रेष्ठ भन्छन्, ‘सेवाको गुणस्तर मापन गर्न प्रयोग गरिने विभिन्न माध्यम मध्य यो एउटा हो । त्यसमा ड्राइभ टेष्ट, ओएसएस लगायत विकल्पहरू पनि हुन्छन् ।

प्राधिकरणले हाल विभिन्न स्थानमा गएर ड्राइभ टेष्ट गर्दै आएको छ । ओएसएस प्रणााली भने सेवा प्रदायकको नेटवर्क म्यानेजमेन्ट सिस्टमबाट तथ्याङ्क दिने प्रक्रिया हो । यसको सिस्टम नमार्णको काम सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।

यद्यपी, लाइभ भने आइसकेको छैन । यसले सेवा प्रदायकले उपलब्ध गराएको डेटाको आधारमा ग्राफ तयार पार्छ । कुन अपरेटरको कुन सेक्टरमा कस्तो गुणस्तर छ भन्ने विषयमा सिस्टम आफैले ग्राफ निमार्ण गर्छ । त्यसमा सेवा प्रदायककको प्यारामिटर देखिन्छ । कल सेटअप टाईम कुन कुन सेवा प्रदायकले पुरा गरेका छन् वा छैनन् भन्ने कुरा पनि थाहाँ पाउन सकिन्छ । यसरी प्रयोगकर्ताबाट स‌कलित तथ्याङ्कको मासिक प्रतिवेदन समेत सार्वजनिक गरिने श्रेष्ठले जानकारी दिए ।

प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई समेत समेट्ने गरी ‘स्पिड टेष्टर’ जस्तै प्रणालीको विकास समेत गरिरहेकाे छ । त्यसमार्फत प्रयोगकर्ताले चलाइरहेको इन्टरनेटको अपलोड स्पिड, डाउनलोड स्पिड, लेटेन्सी लगायतका विषयमा जानकारी लिन सक्नेछन् । त्यसैबाट प्राधिकरणले मासिक तथ्याङ्क संकलन गरी त्यसको समेत प्रतिवेदन सार्वजनिक गर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०