close

सस्तो फाइभजी फोन सार्वजनिक गर्दै रियलमी

टेकपाना टेकपाना

कात्तिक २८, २०७७ १७:४४

सस्तो फाइभजी फोन सार्वजनिक गर्दै रियलमी

काठमाडौं । विश्व स्मार्टफोनको बजारमा पछिल्लो समय फाइभजी फोन सार्वजनिक गर्ने प्रतिस्पर्धा नै चलिरहेको छ भन्दा फरक नपर्ला । एकपछि अर्को गर्दै कम्पनीहरु फाइभजी फोन सार्वजनिक गरिरहेका छन् ।

सामसङ, एप्पल, ओप्पो, ह्वावे, भिभो लगाएतका कतिपय ब्राण्डले फाइभजी फोन सार्वजनिक गरिसकेका छन् । ती कम्पनीहरु अझै पनि नयाँ नयाँ मोडलमा फोनहरु सार्वजनिक गर्ने तयारीमा छन् ।

यसैबीच अब रियलमीले अर्को फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । यसअघि पनि फाइभजी स्मार्टफोन सार्वजनिक गरेको कम्पनीले अब भने सस्तो मूल्यमा नयाँ स्मार्टफोन ल्याउने भएको हो ।

उक्त फोन यही नोभेम्बर १९ तारिखमा सार्वजनिक हुने उल्लेख छ । यस विषयमा रियलमी यूकेले ट्वीटमार्फत जानकारी दिएको हो । जानकारी अनुसार रियलमी सेभेन, रियलमी सेभेन प्रो र रियलमी सेभेन आई गरी तीन वटा फरक मोडलमा फाइभजी स्मार्टफोन सार्वजनिक हुनेछ ।

यी फोनको मूल्य ३५ हजार रुपैयाँभन्दा कम हुनसक्ने अनुमान गरिएको छ । सस्तो मूल्यमा ल्याउने तयारी भएकाले यो फोनलाई कम्पनीले विश्वका धेरै मुलुकमा उपलब्ध गराउन सक्ने अनुमान गर्न सकिन्छ ।

उक्त फोनमा हुने फिचरहरुको विषयमा धेरै जानकारी भने उपलब्ध भएको छैन । तर, हालसम्म प्राप्त जानकारी अनुसार रियलमी सेभेन फाइभजी फोन ६ जीबी र्‍याम र ८ जीबी र्‍याम गरी दुई भेरियन्ट उपलब्ध हुनेछ ।

यो फोन १२८ जीबी स्टोरेज अप्सनमा उपलब्ध हुनेछ । अक्टा कोर मिडियाटेक डाइमेन्सिटी ७२० प्रोसेसर हुने अनुमान गरिएको यो फोनमा ५,००० एमएएचको ब्याट्री हुनेछ ।

फोनमा ४८ मेगापिक्सेलको क्वाड सेटअप क्यामरा हुनेछ । जसमा आठ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स र समान दुई मेगापिक्सेलको डेप्थ सेन्सर र म्याक्रो लेन्स रहनेछन् । साथै यसमा १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०