close

निष्कृय गुगल अकाउन्टका फाइल स्वतः डिलिट हुनसक्ने

टेकपाना टेकपाना

कात्तिक २८, २०७७ १९:४२

निष्कृय गुगल अकाउन्टका फाइल स्वतः डिलिट हुनसक्ने

काठमाडौं । गुगलले बुधबार गुगल अकाउन्टमा नयाँ स्टोरेज सम्बन्धी नीति परिवर्तनको घोषणा गरेको छ । यो नयाँ परिवर्तन गुगलको फोटोज, ड्राइभ तथा विशेषगरी डक्स, सिट्स, स्लाइड, ड्रयिङ, फर्म्स र जामबोर्ड फाइलहरुमा देख्न सकिने गूगलले आफ्नो सपोर्ट पेजमा जारी गरेको सन्देशमा उल्लेख छ । 

गुगलले विशेषगरी निस्क्रिय अकाउन्ट तथा जिमेल ड्राइभमा स्टोरेज लिमिट पार गरिसकेका प्रयोगकर्ताका लागि यो नयाँ नीति ल्याएको हो । नयाँ नीतिअन्तर्गत गुगलले लामो समयदेखि निस्क्रिय अकाउन्टले कब्जा गरेको ड्राइभका सबै फाइललाई डिलिट गरिदिने बताएको छ ।

गूगलले माथि उल्लेखित सेवाहरुमा दुई वर्षदेखि निस्क्रिय अकाउन्टका सबै फाइलहरु डिलिट गरिदिने बताएको हो । गुगलले यो नीतिलाई २०२१ जून १ देखि कार्यान्वयन गर्ने बताएको छ ।

दुई वर्षदेखि निस्क्रिय तपाईंको अकाउन्टको ड्राइभमा वा फोटोजमा सुरक्षित महत्वपूर्ण फाइलहरुलाई पनि गुगलले डिलिट गरिदिन सक्छ । यद्यपि उसले आफ्ना प्रयोगकर्ताहरुलाई एउटा उपायको अवसर भने प्रदान गरेको छ ।

कम्पनीले प्रयोगकर्तालाई आफ्नो जिमेल गुगल फोटोज र गुगल ड्राइभमा भिजिट गरिरहन आह्वान गरेको छ । थर्डपार्टी इमेल क्लाइन्टहरुले आफ्नो गुगल अकाउन्टमा मेलहरु आदानप्रदान गर्ने तथा पढ्ने गर्नाले पनि त्यसलाई सक्रिय रहेको मानिने गुगलले बताएको छ ।

तर गुगलले फाइलहरुलाई डिलिट गर्नुअघि प्रयोगकर्तालाई ईमेल तथा नोटिफिकेसन पनि पठाउने बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०