close

म्यासेञ्जरमा आयो भ्यानिस मोड, अब आफैं डिलिट हुनेछन् पठाएका म्यासेज

टेकपाना टेकपाना

कात्तिक २९, २०७७ १५:१३

म्यासेञ्जरमा आयो भ्यानिस मोड, अब आफैं डिलिट हुनेछन् पठाएका म्यासेज

काठमाडौं । हालै मात्र फेसबुकले ह्वाट्सएपका लागि डिसअपियरिङ म्यासेज फिचर ल्याउने घोषणा गरेको थियो । त्यसै अनुसारको फिचर कम्पनीले म्यासेञ्जरका लागि समेत जारी गरेको छ ।

म्यासेञ्जरका अलावा इन्स्टग्राममा समेत भेनिस मोड दिइनेछ । म्यासेञ्जरमा भेनिस मोड हाल निश्चित स्थानहरुमा अपडेटको माध्यमबाट उपलब्ध गराइएको छ ।

तर चाँडै सबै प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउनेछन् । फेसबुकले आफ्नो अफिसियल ब्लगमार्फत म्यासेञ्जर भेनिस मोड जारी गर्दै कम्पनी निकै उत्साहित रहेको बताएको छ ।

‘यसको सहयोगमा तपाईं यस्ता म्यासेज पठाउन सक्नुहुनेछ, जो स्वतः गायब हुनेछन् । जसैगरी तपाईं जसै म्यासेज हेर्नुहुनेछ, लगत्तै च्याटबाट ती म्यासेज स्वतः गायब हुनेछन्,’ कम्पनीले भनेको छ ।

म्यासेञ्जरको भेनिस मोड प्रयोगकर्ताका लागि प्रयोग गर्न समेत निकै सहज छ । अपडेट पश्चात तपाईं आफ्नो म्यासेञ्जर च्याट थ्रेडलाई स्वाइप अप गरेर (औंलाले माथितर्फ धकेलेर) भेनिस मोडमा प्रवेश गर्न सक्नुहुनेछ ।

दोस्रो पटक स्वाइप अप गरेपछि पुनः म्यासेञ्जर नर्मल मोडमा फर्किनेछ । फेसबुक म्यासेञ्जरको भेनिस मोडमा टेक्स्ट मात्र नभएर जीआईएफ, स्टिकर तथा फोटो समेत स्वतः डिलिट हुनेछन् ।

यसै किसिमको फिचर ह्वाट्सएपका लागि समेत ल्याइएको छ । जसमा म्यासेज सात दिनमा स्वतः डिलिट हुनेछन् । फेसबुकको म्यासेञ्जरमा भेनिस मोड तब मात्र प्रयोग गर्न सकिनेछ, जब दुवै व्यक्ति म्यासेञ्जरमार्फत एक अर्कोसँग कनेक्टेड हुन्छन् ।

तपाईंले यसबाट कुनै निश्चित व्यक्तिसँग भेनिस मोड प्रयोग गर्ने कि नगर्ने भन्ने कुरा समेत तय गर्न सक्नुहुनेछ । यदि भेनिस मोडमा कसैले स्क्रिनशट लिन्छ भने तपाईंलाई समेत त्यसको नोटिफिकेसन प्राप्त हुनेछ ।

कम्पनीको भेनिस मोड सुरुवाती चरणमा म्यासेञ्जरमा आउनेछ भने त्यसपश्चात इन्स्टाग्राममा समेत उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०