close

अब फेसबुक र इन्स्टाग्रामको फोटो-भिडियो कसैले डाउनलोड गरे थाहा पाउन सकिने

टेकपाना टेकपाना

मंसिर ३, २०७७ २१:३२

अब फेसबुक र इन्स्टाग्रामको फोटो-भिडियो कसैले डाउनलोड गरे थाहा पाउन सकिने

काठमाडौं । फेसबुकले राइट्स म्यानेजर टुल विस्तार गरेको छ । यो फिचर फेसबुकका साथै इन्स्टाग्राममा समेत उपलब्ध हुनेछ ।

यसको सहयोगमा प्रयोगकर्ताले फेसबुक तथा इन्स्टाग्राममा रहेका कन्टेन्टलाई थप व्यवस्थित बनाउन सक्नेछन् । साथै फोटो तथा भिडियो प्रयोगलाई नियन्त्रण गर्न समेत सकिनेछ ।

फेसबुकका अनुसार यो एउटा शक्तिशाली तथा महत्वपूर्ण टूल हुनेछ । राइट्स म्यानेजर टूलको सहयोगमा प्रयोगकर्ता तथा कन्टेन्ट पब्लिशरले आफ्ना सामग्रीहरुलाई नियन्त्रण गर्न सक्नेछन् ।

जसमा उनीहरुको कन्टेन्ट फेसबुक तथा इन्स्टाग्रामबाट कसले, कहाँ डाउनलोड गर्न पाउने वा नपाउने कुरा तय गर्न सकिनेछ । साधारण शब्दमा भन्नुपर्दा यदि फेसबुक तथा इन्स्टाग्राममा रहेको तपाईंको पोस्ट कसैले कपी गर्छ भने त्यो कुरा तपाईंलाई थाहा हुनेछ ।

यस्तोमा तपाईंले कसले आफ्नो पोस्ट कपी वा डाउनलोड गर्न पाउने भन्ने कुरा निर्धारण गर्न सक्नुहुनेछ । साथै यदि कुनै प्रकाशन गृह वा व्यवसायिक समूहले तपाईंको सामग्री कपी गर्छ भने दाबी गर्ने अधिकार समेत हुनेछ ।

कसरी काम गर्छ यसले ?

प्रयोगकर्ताले आफ्ना सामग्री नियन्त्रणमा राख्नका लागि राइट्स टूलको लाइब्रेरीमा पठाउनुपर्नेछ । जुन फेसबुक तथा इन्स्टाग्राममा रहेका तपाईंका सामग्रीसँग दाँज्नेछ ।

यदि तपाईंको पोस्टसँग मिल्ने कुनै फोटो तथा भिडियो फेसबुक वा इन्स्टाग्राममा फेला पर्छ भने तपाईं त्यसलाई पहिचान गर्न सक्नुहुनेछ ।

यो टुल स्थानीय स्तरदेखि विश्व स्तरसम्म प्रयोग गर्न सकिनेछ । यदि तपाईंको प्रोफाइल वा पेजबाट कुनै सामग्री चोरी भएको छ भने तपाईंले त्यस विरुद्ध एक्सन लिन सक्नुहुनेछ ।

अथवा क्रेडिट दिनका लागि आग्रह गर्न सक्नुहुन्छ । यसका साथै कन्टेन्ट ब्लक गर्ने अधिकार समेत तपाईंसँग हुनेछ । कन्टेन्ट क्रियटर आफ्नो तस्वीर वा भिडियो संरक्षण गर्न चाहन्छ भने एउटा निवेदन सबमिट गर्नुपर्ने हुन्छ ।

फेसबुकका प्रडक्ट म्यानेजर जेनिस प्रिमसले नयाँ टूलको सहयोगमा सामग्रीको गलत प्रयोग मात्र रोकिने छैन, साथ साथै आम्दानी समेत बढाउन सघाउनेछ । यसले विज्ञापन प्राप्त गर्न समेत सहज हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०