close

ईकमर्श कम्पनीलाई ५ प्रतिशत ब्याजदरमा ५ करोडसम्मको व्यवसायिक निरन्तरता कर्जा

टेकपाना टेकपाना

मंसिर ५, २०७७ १५:९

ईकमर्श कम्पनीलाई ५ प्रतिशत ब्याजदरमा ५ करोडसम्मको व्यवसायिक निरन्तरता कर्जा

काठमाडौं । कोभिड १९ का कारण प्रभावित इन्टरनेट र दूरसञ्चार सेवा प्रदायकका अतिरिक्त ईकमर्श कम्पनीहरुले पाँच करोडसम्मको व्यवसायिक निरन्तरता कर्जा पाउन सक्ने भएका छन् ।

कोरोना प्रभावित व्यवसायीलाई ५० अर्ब रूपैयाँ बराबरकाे सहुलियत कर्जा दिन ‘व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ बनेसँगै अब यस किसिमको कर्जाको लागि बाटो खुलेको हो । 

कार्यविधि अन्तर्गत दूरसञ्चार, इन्टरनेट र स्टार्टअप क्षेत्र न्यून प्रभावित क्षेत्रमा परेका छन् । न्यून प्रभावित क्षेत्रमा परेका यस्ता संस्थाहरुकाे कर्जा अवधि दुई वर्षको हुनेछ । पहिलो वर्षमा ५ प्रतिशत र दोस्रो वर्षमा ६ प्रतिशत ब्याजदर लाग्ने अर्थ मन्त्रालयले जनाएको छ । 

यसै कार्यविधि अनुसार मध्यम प्रभावित क्षेत्रमा परेका प्रविधिक शिक्षालय, छपाइ, प्रकाशन तथा सञ्चारगृहले भने सोही व्याजदर र समयावधिमा सात करोड सम्मको कर्जा पाउन सक्नेछन् । 

सरकारले चालू आर्थिक वर्षको बटेजमा व्यावसयाको पुनरुत्थानका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न ५० अर्बको कोष स्थापना गर्ने घोषणा गरेको थियो । उक्त कोष कर्मचारी तथा श्रमिकको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि व्यवस्था गरिएको हो । 

उक्त कर्जा प्राप्त गर्ने कम्पनीमा कम्तीमा पाँचजनाको समूह हुनुपर्दछ । साथै दर्ताको प्रमाणपत्र प्राप्त गरी, नियमित नवीकरण भएको हुनुपर्नेछ ।

तर सरकारी निकाय, बैंक वित्तीय संस्था, वा कुनै पनि दातृ निकायबाट सहुलियतपूर्ण व्याजदरमा कर्ता तथा सहायता उपभोग गरिरहेका व्यवसायीहरुले उक्त कर्जा पाउन सक्ने छैनन् । 

यसैगरी कर्जा लिने व्यवसायीहरुले आफ्ना कर्मचारीलाई कर्जा अवधिभर रोजगारीबाट हटाउने तथा तलब भुक्तानी नगर्न नपाउने कार्यविधिमा उल्लेख छ । 

व्यवसायीहरुले निवेदन दिएको १५ दिनभित्र निवेदनको मूल्यांकन गरी बैंकले कर्जा प्रवाह गर्ने जनाइएकाे छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०