close

विश्वमा इन्टरनेट प्रयोग गर्नेको संख्या ४ अर्ब नाध्यो, महिलाहरू झन् पछि पर्दै

टेकपाना टेकपाना

कात्तिक २१, २०७६ १३:१३

विश्वमा इन्टरनेट प्रयोग गर्नेको संख्या ४ अर्ब नाध्यो, महिलाहरू झन् पछि पर्दै

विश्वभर इन्टरनेट प्रयोगकर्ताको संख्या चार अर्ब नाघेको छ । इन्टरेनेश्नल टेलिकम्युनिकेशन युनियन (आईटीयु) ले मंगलबार सार्वजनिक गरेको ‘मेजरिंग डिजिटल डेभलपमेन्टः फ्याक्ट्स एण्ड फिगर्स २०१९’ प्रतिवेदनका अनुसार विश्वमा इन्टरनेट प्रयोग गर्नेको संख्या ४ अर्ब १० करोड पुगेको हो ।

यो सँगै विश्वको कुल जनसंख्याको ५३.६ प्रतिशत जनसंख्या इन्टरनेटमा जोडिएका छन् । सन् २००५ मा जम्मा १६.८ प्रतिशतमा इन्टरनेट पहुँच थियो । पछिल्लो १४ वर्षको अवधिमा इन्टरनेट प्रयोग गर्नेको संख्यामा उल्लेख्य रुपमा बृद्धि भएको छ । प्रतिवेदनका अनुसार सन् २००५ देखि नै हरेर वर्ष अघिल्लो वर्षको तुलनमा १० प्रतिशतको हाराहारीमा इन्टरनेटमा पहुँच बढ्दै आएको छ । पछिल्लो एक वर्षमा भने इन्टरनेट पहुँच ५.३ प्रतिशतले मात्रै बढेको छ । सन् २०१८ मा विश्वका ४८.३ मानीस इन्टरनेटमा जोडिएका थिए ।

आईटीयुले सार्वजनकि गरेको तथ्यांकअनुसार अति कम विकसित मुलुकहरुमा ठुलोमात्रामा मानिसहरू इन्टरनेट भन्दा बाहिर छन । त्यस्ता मुलकहरुमा १० मध्ये २ जनामात्र इन्टरनेट प्रयोग गर्ने उल्लेख छ । सन् २०१९ को अन्त्यसम्ममा करिब ५७ प्रतिशत घरधुरी इन्टरनेटमा जोडिन अनुमान आईटीयुले गरेको छ ।

इन्टरनेटमा जोडिएका मध्ये ४८ प्रतिशत महिला र ५८ प्रतिशत पुरुष रहेका छन् । यसको अर्थ विश्वका आधा भन्दा बढि महिलाहरू अझै पनि इन्टरनेट दुनियाबाट बाहिर छन् । यसले विश्वमा डिजिटल प्रविधिमा लैंगिक भिन्नता रहेको देखिन्छ । प्रतिवेदन अनुसार अमेरिकामा बाहेक अन्य देशहरू तथा क्षेत्रहरूमा इन्टरनेट प्रयोग गर्ने पुरुषहरुको संख्या उच्च रहेको छ ।

लैंगिक भिन्नता पछिल्लो वर्षहरूमा अझ बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ । डिजिटल जेण्डर ग्याप कमनवेल्थ र यूरोपेली मुलुकहरूमा कम हुँदै गए पनि अफ्रिका, अरब मुलुक र एशिया प्यासिफिक क्षेत्रमा भने बढ्दै गएको जनाइएको छ । अमेरिकामा भने सन २०१३ पश्चात इन्टरनेट प्रयोगमा भएको लैंगिक भिन्नता सुन्य जस्तै अवस्थामा छ ।

आईटीयुका अनुसार ९७ प्रतिशत विश्व जनसंख्यालाई हाल मोबाइल सेलुलर सिग्नलले समेटेको छ । त्यस्तै ९३ प्रतिशत जनसंख्या थ्रीजी वा त्यो भन्दा माथिल्लो नेटवर्कको सम्पर्कमा रहेका छन् । त्यसमा ५३ प्रतिशतलेमात्रै इन्टरनेट प्रयोग गरिहेको उल्लेख छ ।

प्रतिवेदन अनुसार युरोप र एशिया प्यासिफिक क्षेत्र, अमेरिकी मुलुकहरू र अरब मुलुकमा ९० प्रतिशतभन्दा बढी जनसंख्या थ्रीजी वा त्यो भन्दा माथिल्लो मोबाइल ब्रोडब्याण्ड नेटवर्कको पहुँचमा रहेका छन् भने कमनवेल्थ स्वतन्त्र राज्यहरूमा ८८ प्रतिशत र अफ्रिकी मुलुकहरुमा ७९ प्रतिशत रहेको जनाइएको छ ।

आईटियूका अनुसार ८५ देशमा महिलाको तुलनमा ६१ प्रतिशत पुरुषहरूसँग मोबाइल फोनमा स्वामित्व रहेको छ । भने बाँकी २४ देशमा मोबाइल फोनको स्वामित्व पुरुषहरूको तुलनामा महिलामा बढी रहेको छ । त्यसमध्ये चिलिमा महिलाको स्वामित्वमा रहेको मोबाइल सबैभन्दा कम छ । त्यहाँ केबल १२ प्रतिशत महिलासँग मात्र मोबाइल फोनको स्वामित्व छ ।

लैंगिक असमानताको प्रमुखकारणको रुपमा इन्टरनेट प्रयोगमा डिजिटल सिपलाई लिइएको छ । डिजिटल सिप नहुँदा यस्तो अवस्था सिर्जना भएको आइटीयुले जनाएको छ । साथै इन्टरनेटको उपलब्धता र त्यसको मूल्य अर्को कारणको रुपमा राखिएको छ । विशेषगरि अति कम विकसित मुलुकहरूमा यस्तो अवरोध देखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०