close

कोभिडको समयमा बढ्यो डिजिटल रेमिट्यान्स

टेकपाना टेकपाना

मंसिर १३, २०७७ १६:४५

कोभिडको समयमा बढ्यो डिजिटल रेमिट्यान्स

काठमाडौं । विश्व वैंकले कोभिड १९ का कारण विश्व बजारमा रेमिट्यान्स घट्ने अनुमान गरेको थियो तर, उसको अनुमान विपरित रेमिट्यान्स कारोबार बढेको र रेमिट्यान्सका प्रयोगकर्ताहरुको संख्या पनि बढेको सरोकारवालाहरु बताएका छन् ।

ब्रान्डवर्थ प्रालिको आयोजनामा आयोजित फोनपे डिजिटल इकोनोमी कन्क्लेभ २०२० अन्तर्गत ‘डिजिटल रेमिट्यान्स, दि कस्ट अफमुभिङ मनी’ सत्रमा कोभिडले रेमिट्यान्सको दायरा बढाउन अझ मद्दत गरेको कुरा सरोकारवालाले व्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै आईएमई ग्रुपका कार्यकारी अधिकृत सुमन पोखरेलले कोभिडको समयमा सबैजना आत्तिएको भएपनि विस्तारै बानी पर्दै गएको बताए ।

‘हामीलाई पनि लागेको थियो धेरै नेपाली फर्किनेछन् र अब रेमिट्यान्स घट्नेछ । धेरै नेपालीहरु फर्किनु पनि भयो तर फर्किनेहरुले पनि सामान नल्याएर पैसा पठाउनुभयो । त्यो पनि वैधानिक रुपमा । यसले गर्दा पनि महामारीको समयमा पनि रेमिट्यान्सको कारोबार बढ्न गएको हो,’ उनले भने ।

उनका अनुसार पहिले धेरै अवैधानिक रुपमा पैसा विदेशबाट नेपाल पठाउने गरिन्थ्यो, तर अहिले वैधानिक रुपमा आउन थालेको छ । नेपालमा मात्र होइन, दक्षिण एसियामै रेमिट्यान्सको व्यावसाय बढेको उनले बताए ।

‘पछिल्लो समयमा रेमिट्यान्स क्षेत्रलाई कसरी नियमन गर्ने र व्यवस्थित बनाउने भन्ने विषयमा राष्ट्र बैंकले पनि धेरै चासो देखाइरहेको छ । जुन हाम्रो लागि एकदम राम्रो सुरुवात हो,’ उनले भने । यद्यपि बढ्दो डिजिटल कारोबारसँगै बढिरहेको चुनौतीहरुलाई पनि सम्बोधन गर्दै जानुपर्नेमा उनले जोड दिए ।

‘डिजिटल कारोबारको लागि इन्टरनेट सेवालाई पनि अझ बढि सहज गर्नुपर्नै छ, धेरै मान्छेहरु अझै पनि फोरजी नेटवर्क चलाउन पाएका छैनन,’ उनले भने ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पनि पछिल्लो समयमा प्रविधिको विकासले डिजिटल रेमिट्यान्सको राम्रो वृद्धि भइरहेको बताए । तर यसको विषयमा धेरैलाई अझै पनि जानकारी नभएको उनको भनाइ छ ।

‘हाम्रा धेरैजसो ग्राहकहरु भनेको प्रवासी कामदारहरु छन् । हामीले उहाँहरुलाई बुझाउन जरुरी छ कि किन हामीलाई डिजिटल रेमिट्यान्सको आवश्यकता छ र यसको प्रयोगको फाइदाहरु के के हुन्छन्,’ उनले भने, ‘हाम्रो जस्तो देशमा अझै पनि मार्केटले डिजिटल रेमिट्यान्सलाई एडप्ट गर्न समय लाग्छ ।’

हरेक देशहरुमा रहेका लोकल एजेन्टहरुको कारणले पनि पैसा पठाउनेहरुको लागि वैधानिक बाटो महँगो पर्न गएको चौधरीले बताए ।

‘हामीले हरेक ठाउँमा आफ्नो मान्छे राखेर ग्राहकहरुलाई डिजिटल कारोबार सम्बन्धी जानकारी दिन सक्नुपर्छ । यद्यपि यो एकदमै चुनौतीपूर्ण छ ।’

उद्यमीहरुको हकमा भने नयाँ आउनेहरुको लागि पनि बजारमा अहिले धेरै राम्रा् अवसर रहेको उनी बताउँछन् ।

नयाँ उद्यमीहरुले बजारमा आफूलाई सस्टेन गर्नको लागि भने नयाँ व्यवसायिक योजनाहरु लिएर आउनुपर्ने बताउँछन् म्याट टेक्नोलोजी इन्क नेपालका सहसंस्थापक बालकृष्ण जोशी ।

‘पछिल्लो समयमा विकास हुदैँ गइरहेको प्रविधिले गर्दा पनि यो व्यवसायलाई धेरै सहयोग गरेको छ । कोरोना महामारीले गर्दा रेमिट्यान्स व्यवसायलाई झन धेरै वृद्धि हुने मौका दियो,’ उनले भने, ‘यसले यस क्षेत्रमा थुप्रै अवसरहरु पनि बनाएको छ । अहिले त रेमिट्यान्समा लागत पनि घटिरहेको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०