close

फाइभजी परीक्षणका लागि टेलिकम र एनसेललाई फ्रिक्वेन्स दिने तयारी

टेकपाना टेकपाना

मंसिर १४, २०७७ १४:२६

फाइभजी परीक्षणका लागि टेलिकम र एनसेललाई फ्रिक्वेन्स दिने तयारी

काठमाडौं । फाइभजी सेवाको परीक्षणका लागि दूरसञ्चार कम्पनीहरुलाई फ्रिक्वेन्सी उपलब्ध गराइने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकम र एनसेललाई फाइभजी परीक्षणका लागि फ्रिक्वेन्सी दिन आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।

प्राधिकरणका अनुसार यसअघि नै फ्रिक्वेन्सी नीति निर्धारण समितिमा फाइभजी परीक्षणका लागि निःशुल्क रुपमा सेवा प्रदायकलाई फ्रिक्वेन्सी उपलब्ध गराउन पाउने गरी फ्रिक्वेन्सी नीति निर्धारण समितिमा प्रस्ताव पठाइसकेको छ ।

यसरी निःशुल्क रुपमा प्राप्त फ्रिक्वेन्सीमा फाइभजी सेवा परीक्षण गर्दा सेवाप्रदायकले समेत ग्राहकबाट शुल्क लिन नपाउने प्राधिकरणको प्रस्ताव छ ।

जसमा फ्रिक्वेन्सी नीतिले यसअघि नै दूरसञ्चार सेवाका लागि निर्धारण गरेका ब्याण्डको फ्रिक्वेन्सी परीक्षणका लागि दिन सकिने उल्लेख छ । दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड तथा मूल्य) सम्बन्धी नीति, २०६९ ले ८०० मेगाहर्ज, ९०० मेगाहर्ज, १८०० मेगाहर्ज, २१०० मेगाहर्ज, २३०० मेगाहर्ज, २६०० मेगाहर्ज र १९०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी निर्धारण गरेको छ ।

यद्यपि सञ्चार तथा सूचना प्रविधि मन्त्री अध्यक्ष रहने नीति निर्धारण समितिले भने हालसमम्म यस विषयमा कुनै निर्णय भने गरिसकेको छैन । समितिबाट आवश्यक स्वीकृति आएको खण्डमा तत्कालै सेवा प्रदायकलाई फाइभजी सेवा परीक्षणका लागि फ्रिक्वेन्सी उपलब्ध गराउने प्राधिकरणको तयारी छ ।

नेपाल टेलिकमले चालू फोरजी विस्तार परियोजना अन्तर्गत मुख्य सहरहरुमा फाइभजी प्रविधि परीक्षण गर्ने गरी यसअघि नै ठेकेदार कम्पनीसँग सम्झौता गरिसकेको छ । टेलिकमका अनुसार फ्रिक्वेन्सी प्राप्त भएको खण्डमा योजनाअनुसार फाइभजी परीक्षणको कार्य अगाडि बढाइनेछ ।

त्यसो त हालै मात्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फाइभजी प्रविधिका लागि उपयुक्त फ्रिक्वेन्सी पहिचान तथा सिफारिस गर्न भन्दै विशेष प्राविधिक समिति समेत गठन गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०