close

एनसीएचएललाई नेसनल पेमेन्ट स्वीच सञ्चालनको अनुमति, अब कार्डको भुक्तानी सस्तिने

टेकपाना टेकपाना

मंसिर १४, २०७७ १९:१

एनसीएचएललाई नेसनल पेमेन्ट स्वीच सञ्चालनको अनुमति, अब कार्डको भुक्तानी सस्तिने

काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले नेसनल पेमेन्ट स्वीच सञ्चालनको अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकले केही दिन अघि मात्र पेमेन्ट गेट-वेको रुपमा पेमेन्ट स्वीच स्थापना र सञ्चालनको स्वीकृति दिएको हो ।

त्यसो त एनसीएचएलको आईपीएस र कनेक्ट आईपीएस सिस्टमले नेसनल पेमेन्ट गेटवेकै रुपमा काम गर्दै आएको छ । अहिलेसम्म कार्ड र नगदरहित भुक्तानी प्रणालीको रुपमा काम गरिरहेको एनसीएचएलले नेसनल पेमेन्ट स्वीचको रुपमा आफ्नो दायरा बढाउने भएको हो ।

सरकारका सबै किसिमका भुक्तानी एनसीएचएलको एनपीआईले समेट्दै गएपछि अब नेसनल पेमेन्ट गेटवेको आवश्यकता समेत कम हुँदै गएको छ । कार्ड सेवाप्रदायकले छुट्टाछुट्टै रुपमा सेवा प्रवाह गरिरहेको अहिलेको समयमा त्यसको इन्टरअपरेबिलिटी (अन्तर सञ्चालन) का लागि नेसनल स्वीचले काम गर्नेछ ।

त्यसका साथै नेपालमा जारी हुने भिषा, मास्टरकार्ड, युनियन पे जस्ता कार्डहरु समेत अन्तर्राष्ट्रिय नेटवर्कमै छन् । जसले गर्दा कार्डमार्फत नेपाली प्रयोगकर्ताको सूचना देश बाहिर मात्र गइरहेको छैन, डलरमा भुक्तानी गर्नुपर्ने हुँदा शुल्क समेत महंगो पर्ने गरेको छ ।

तर अब भने कार्डको नेटवर्क राउटिङ र सेटलमेन्ट नेपालभित्रै गर्न सकिने एनसीएचएलका सीईओ नीलेशमानसिँह प्रधानले बताए । स्वीच स्थापना भइसकेपछि भिषा, मास्टर कार्ड र युनियन पे जस्तै नेपालको आफ्नो छुट्टै कार्ड समेत जारी गरिनेछ ।

‘नेपाल राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाको समन्वयमा एनसीएचएल अन्तर्गत नेसनल पेमेन्ट स्वीचको स्थापना गर्न लागिएको हो,’ सीईओ प्रधानले भने, ‘यसबाट कार्डसँगै डिजिटल वालेटहरुबीचको अन्तरसञ्चालनको संयन्त्र समेत तयार पार्ने योजना छ ।’

हाल वालेटको अन्तरसञ्चालन प्रणाली नहुँदा एउटा वालेटबाट अर्को वालेटमा सोझै रकम ट्रान्सफर गर्न सकिँदैन । नेसनल पेमेन्ट स्वीच बहुवर्षिय योजनाको रुपमा कर्यान्वयनमा लैजाने गरी प्रोजेक्ट प्लानको काम अगाडि बढाइएको प्रधानले जानकारी दिए ।

नपालमा ई–पेमेन्ट सिस्टमको रुपमा कनेक्ट आईपीएसले बैंक खाताबाट रियल टाइम भुक्तानीका लागि आवश्यक पूर्वाधार र संयन्त्रको रुपमा काम गरिरहेको छ ।

यो पूर्वाधार खासगरी सानो तथा मध्यमस्तरको भुक्तानीलाई लक्षित गरी तयार पारिएको हो ।

अन्तर्राष्ट्रिय स्तरमा यसलाई भारतको आईएमपीएस, श्रीलंकाको जस्ट पे, स्वीडेनको स्वीस एप , बेलायतको एफपीपी, अस्ट्रेलियाको एनपीपी जस्ता प्लेटफर्महरुसँग यसलाई दाँजेर बुझ्न पनि सकिन्छ । कनेक्ट आईपीएस एनपीआई (नेसनल पेमेन्ट इन्टरफेस) मार्फत अन्य बैंकिङ एप तथा सिस्टमसँग जोडिएको छ ।

एनसीएचएल नेपाल राष्ट्र बैंक र विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको लगानी रहेको पूर्वाधार कम्पनी हो । जसले अन्तर बैंक कारोबारमा सहजीकरण गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०