close

घरमा वाईफाईको समस्या आफैंले समाधान गर्न यसो गर्नुहोस्

टेकपाना टेकपाना

मंसिर १६, २०७७ २१:७

घरमा वाईफाईको समस्या आफैंले समाधान गर्न यसो गर्नुहोस्

काठमाडौं । इन्टरनेट सेवा प्रयोग गर्ने धेरै मानिसहरु वाईफाईको समस्याबाट परिचित छन् । उनीहरुले भनेजस्तो स्पिड नपाएको, इन्टरेटको लाइन स्थिर नभएको लगायत धेरै गुनासा पोख्ने गर्छन् । तर कतिपय अवस्थामा सेवा प्रदायककै कारण इन्टरनेट सेवामा समस्या नआउन सक्छ ।

ग्राहक आफैंले पनि वाईफाईको समस्या समाधानका लागि केही कदम चाल्न सक्छन् । धेरैजसो इन्टरनेट सेवा प्रदायकले बेसिक मोडेम राउटर नै दिने गर्दछन् । जसका कारण घरमा कुनाकानीमा नेटवर्क टिप्दैन ।

आज हामी तपाईंलाई वाईफाईमा आउने सामान्य समस्या कसरी समाधान गर्ने भन्ने विषयमा केही टिप्स दिँदै छौं ।

१. राउटरलाई सही स्थानमा राख्नुहोस्

वाईफाई राउटर राख्ने सबैभन्दा सही स्थान भनेको घरको बीच भाग नै हो । जसका कारण तपाईंको घरका सबै कुनामा वाईफाई सिग्नल पुग्न सक्छ ।

साथै तपाईं वाईफाई राउटरलाई आफ्नो आँखाको उचाईं वा त्यसभन्दा माथि राख्ने कोसिस गर्नुहोस् । यसबाट तपाईंको वाईफाई सिग्नल राम्रो हुनेछ । घरको कुनामा सटाएर राउटर राख्दा यसको सिग्नल लस हुन सक्ने सम्भावनालाई ध्यानमा राख्ने गर्नुहोस् ।

२. राम्रो रेञ्जको लागि रिपिटर्स राख्नुहोस्

कतिपय समय इन्टरनेट सेवा प्रदायक कम्पनीले जुन राउटर दिएको हुन्छ, त्यसले घरका सबै भागमा वाईफाईको नेटवर्क पुर्‍याउन सक्दैन । यसका लागि तपाईंले रिपिटरको प्रयोग गर्न सक्नुहुन्छ । यो डिभाइसले तपाईंको वाईफाईको कभरेज बढाउनेछ ।

रिपिटरबाट कनेक्ट हुने सबैभन्दा सजिलो तरिका भनेको डब्लुपीएस नै हो । यसका लागि तपाईंले आफ्नो राउटरको डब्लुपिएसलाई इनेबल गर्नुपर्ने हुन्छ । यति गरेपछि रिपिटरको समये डब्लुपीसी बटन अन राख्नुपर्ने हुन्छ ।

३. गेस्ट नेटवर्क

आफ्नो राउटरमा गेस्ट नेटवर्क इनेबल गरेर त्यसमा अलग्गै पासवर्ड राखिहाल्नुहोस् । यसबाट घरमा आउने पाहुनालाई तपाईंले आफ्नो मुख्य पासवर्ड दिनुपर्ने बाध्यता टुट्नेछ ।

जब तपाईंका साथी तथा आफन्त तपाईंको घरबाट विदा हुन्छन्, त्यसपछि तपाईंले गेस्ट नेटवर्क बन्द गरेर राख्न सक्नुहुन्छ र होम वाईफाई पुनः सुचारु राख्न सक्नुहुन्छ ।

४. नियमित रुपमा रिबुट गर्नुहोस्

त्यसो त राउटर सधैंभर काम गर्नका लागि बनाइएका हुन्छन् । तर कहिले काहिँ तपाईंले यसलाई रिबुट गर्दा राम्रो हुन्छ । यहाँनिर ध्यानमा राख्नुपर्ने कुरा के छ भने रिबुट गर्नुहोस् ।

तर रिसेट भने नगर्नुहोस् । अझ यसभन्दा राम्रो तरिका तपाईंको राउटरलाई केही बेर अफ गरेर फेरी अन गर्नुहोस् । कतिपय समय कनेक्टिभिटीमा समस्या आउँदा समेत यो तरिकाले समाधान दिने गर्दछ । बन्द गरेर अन गर्दा इन्टरनेट राम्रोसँग चल्न थाल्छ ।

५. सकेसम्म ल्यान प्रयोग गर्नुहोस्

अहिलेको समयमा वाईफाईको प्रयोग निकै बढेको छ । सहर बजार क्षेत्रमा त आपसमा थुप्रै घर जोडिने भएकाले वाईफाईको सिग्नल समेत आपसमा जुधिरहेको हुन्छ ।

यस्तो अवस्थामा वाईफाईको सिग्नल लस भइरहेको हुन्छ । यस्तो अवस्थामा यदि तपाईं ल्यापटपमा इन्टरनेट चलाउँदै हुनुहुन्छ भने ल्यान नेटवर्क प्रयोग गर्न सक्नुहुन्छ । यसबाट तपाईंले वाईफाईंमा भन्दा राम्रो इन्टरनेट स्पिड पाउन सक्नुहुन्छ ।

कसरी बढाउने वाईफाईको स्पिड ?

सबैभन्दा पहिले वाईफाई स्पीड बढाउन राउटरलाई यथास्थानभन्दा अन्यत्र सारेर स्पिड परीक्षण गर्नुहोस् । राउटरलाई कोठाको कुनामा वा कुनै सामानभित्र राख्नुहुन्न । सकेसम्म राउटरलाई घरभित्रको केन्द्र भागमा राख्नुहोस् । 

केबल गेटवे अर्थात् राउटरलाई सधैं कोएक्सिकल केबल आउटलेट अर्थात् प्लग छिराउने बोर्डको नजिक राख्नुहोस् । याद राख्नुहोस् सबै भित्ता उत्तिकै वाईफाईमैत्री हुँदैनन् । तारमाथि प्लस्टर गरिएका भित्ताले धेरै जसो वयरलेस कनेक्सनलाई अवरोध पुर्‍याउँछ ।

दोस्रो भनेको डेस्कटप कम्प्युटर तथा स्मार्ट टीभी जस्ता डिभाइसहरुलाई तारयुक्त इथरनेट कनेक्सनले  जोड्नुहोस् । यस्ताे इथरनेट केवल सस्तोमै पाउन सकिन्छ । र यसले नेटवर्कलाई स्थिर राख्छ । यसकारण नेटवर्क स्पीड बढाउन इथरनेट कनेक्सन राम्रो उपाय हो । इथरनेट वायरमा नेटवर्क पूर्ण स्पीडमा चल्छ ।

तर वाईफाई स्पीड बढाउनका लागि नेटवर्कको पहुँचलाई बढाउन तपाईंले वाईफाई एक्सटेन्डर खरिद गर्नेबारे सोच्दै हुनुहुन्छ भने यो सोचलाई आजैबाट त्यागिदिनुहोस् । किनभने यसले सोचेजस्तो राम्रो परिणाम दिन सक्दैन । 

नयाँ राउटरहरुले डिभाइसलाई प्रयोगकर्ताले प्रयोग गर्ने दुई फ्रिक्वेन्सी ब्याण्ड २.४ र ५ गिगाहर्जमध्ये एउटामा राखिदिन्छ । अघिल्लो फ्रिक्वेन्सी ब्याण्डले राम्रो रेञ्ज प्रदान गर्छ भने दोस्रोले फास्ट स्पीड दिन्छ । 

तर पुरानो राउटरमा फ्रिक्वेन्सी चयन गर्ने कुरा तपाईंको हातमा हुन्छ । तपाईंको डिभाइसमा स्ट्रिमिङ मिडिया चलाइरहनु भएको छ भने त्यसमा ५ गिगार्जको फ्रिक्वेन्सी प्रयोग गर्नुहोस् । 

यदि यो सबै विधि अपनाउँदा पनि तपाईंको वाईफाईले राम्रो काम गर्न सकेन भने नयाँ राउटर खरिद गर्ने सोच बनाउँदा उपयुक्त हुन्छ ।

‘मेश’ नेटवर्ककाे प्रयाेग

यदि तपाईंको कम्प्युटर वा अन्य डिभाइस वाईफाई नेटवर्कसँग कनेक्ट हुँदैन भने मेस वाईफाई सिस्टम उपयुक्त समाधान हुन सक्छ ।

मेस नेटवर्कले परम्परागत वाईफाईका धेरै समस्यालाई समाधान गर्दछ । परम्परागत वायरलेस नेटवर्कमा तपाईंको घरभरी रहेका डिभाइस र मोडेमबीच वायरलेस सिग्नल ब्रोडकास्ट गर्ने राउटर मात्र एक्लो लिङ्क हो ।

राउटरलाई जतिसुकै रिसेट गरे पनि, जतासुकै राम्रो लोकेसनमा सारे पनि काम गर्न सक्दैन भने मेस नेटवर्कको बन्दोबस्त गर्नुहोस् । विशेषगरी ठूलो घर, डेड जोन, संरचनात्मक अवरोध, अप्ठ्यारो आकारको घर भएको अवस्थामा तपाईंले मेस वाईफाई नेटवर्कको विकल्प अपनाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०