close

वैदेशिक रोजगार कल्याणकारी कोषको रकम अब खल्तीबाटै भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

मंसिर १९, २०७७ १२:५६

वैदेशिक रोजगार कल्याणकारी कोषको रकम अब खल्तीबाटै भुक्तानी गर्न सकिने

काठमाडौं । वैदेशिक रोजगारमा जाने व्यक्तिहरूले वैदेशिक रोजगार कल्याणकारी कोषमा भुक्तानी अब ‘खल्ती डिजिटल वालेट’ बाटै अनलाइन तिर्न सक्ने भएका छन् । यो सुविधा व्यक्तिगत तथा म्यानपावरमार्फत जाने सबैले प्रयोग गर्न सकिने उल्लेख गरिएको छ ।

त्यसका लागि खल्ती डिजिटल वालेट वा खल्तीको वेब पेजमै यो सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एप तथा वेब पेजमा रहेको ‘सरकारी सेवा’ भन्ने अप्सनमा गएर त्यहाँ रहेको ‘वैदेशिक रोजगार कल्याणकारी कोष’ ट्यावमा क्लिक गरी शुल्क भुक्तानी गर्न सकिनेछ ।

वैदेशिक रोजगारीमा तीन वर्षभन्दा थोरै समयका लागि जाने व्यक्तिले १५ सय र तीन वर्षदेखि १० वर्षसम्मका लागि व्यक्तिले २५ सय रूपैयाँ कल्याणकारी कोषमा बुझाउनुपर्ने सरकारी प्रावधान रहेको छ ।

वैदेशिक रोजगारीमा व्यक्तिगत रूपमा जानेहरूले आफैं र म्यानपावरमार्फत जानेहरूले कम्पनीबाट एकमुष्ट रूपमा खल्ती एपमार्फत उक्त शुल्क भुक्तानी गर्न सकिनेछ ।

कल्याणकारी कोषमा यसरी जम्मा भएको रकम वैदेशिक रोजगारमा गएर अलपत्र परेका, पीडित, आर्थिक अवस्था नाजुक भएका नेपालीको उद्दार गर्न तथा उनीहरूको हितमा प्रयोग गरिँदै आएको छ ।

‘खल्ती’ एप एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र आईओएसका लागि एप स्टोर मार्फत डाउनलोड गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०