close

वाईफाई सुरक्षित राख्न अपनाउनुहोस् यी ५ टिप्स

टेकपाना टेकपाना

मंसिर १९, २०७७ १८:४३

वाईफाई सुरक्षित राख्न अपनाउनुहोस् यी ५ टिप्स

काठमाडौं । केही दिनअघि नोभेम्बर ३० तारिखमा हामीले विश्व कम्प्युटर सुरक्षा दिवस मनायौं । सो अवसरमा अनलाइन सुरक्षालाई लिएर विश्वभर जनचेतना अभिवृद्धि गर्दै साइबर सुरक्षाका उत्कृष्ट अभ्यासको विश्वभर प्रचार-प्रसार गरिए । 

इन्टरनेट र कम्प्युटर हाम्रो जीवनको एक अभिन्न पाटो बनिसकेको हुँदा वास्तवमा हामीले दिनहुँ कम्प्युटर सुरक्षाबारे सचेत हुनुपर्ने बेला भएकाे छ । 

वाईफाई नेटवर्क घर, कार्यलय जहाँसुकै ह्याकर तथा खराब पात्रहरुको निशानामा हुन्छ । यसैले जहिले पनि सुरक्षा अत्यावश्यक हुन्छ ।

हाेम (घरेलु) नेटवर्कमा ह्याकरहरुलाई चासो हुँदैन भन्ने भ्रम धेरैजनालाई हुन्छ । यसैले हामीमध्ये धेरैले हाेम नेटवर्क सुरक्षित राख्ने कुरामा सधै लापारवाही गरिरहेका हुन्छौं । 

तर याद राख्नुहोस् । तपाईंको सानोभन्दा सानो कुरा पनि एकदमै संवेदनशिल हुन्छ र त्यो ह्याकरको हातमा परेको अवस्थामा तपाईंलाई अपुरणीय नोक्सानी हुन सक्छ । अझ महामारीको यो समय धेरैले घरबाट काम गरिरहेका छन् ।

कार्यालयका संवेदनशिल तथ्याङ्क सबै कुरा तपाईंकै घरेलु नेटवर्कभित्र बसेको हुन्छ । यस्तो बेला तपाईंको नेटवर्क नै असुरक्षित भइदियो भने सम्पूर्ण जानकारी तथा तथ्याङ्क ह्याकरहरुकाे हातमा पुग्न सक्छ ।

यसैले आफ्नो घरेलु वाईफाई नेटवर्कको बारेमा सधै ध्यान दिनुहोस् । वाईफाईलाई सुरक्षित राख्न आज हामी तपाईंलाई केही टिप्सहरु दिँदै छौं । 

१. अपडेट गर्नुहोस् 

सुरक्षाका लागि एउटा अचुक मन्त्र भनेको ‘चाँडै र निरन्तर सेक्युरिटी प्याच’ राख्नु नै हो । आफ्नो नेटवर्कको सबै एक्सेस प्वाइन्ट, मोडेम र राउटरहरुमा प्याच राख्नुहोस् । साथै नेटवर्कमा कनेक्ट भएका सबै डिभाइसहरुमा पनि प्याच दिनुहोस् । 

आफ्नो फर्मवेयर कहिले अपडेट भएको हो त्यो पनि चेक गर्नुहोस् । अपडेट छैन भने त्यसलाई ढिला नगरी प्याच उपलब्ध गराउनुहोस् । 

डिभाइसमा अटोमेटिक अपडेट इन्स्टल हुने गरी सेटिङ मिलाउनुहोस् । यदि डिभाइस निर्माणकर्ता कम्पनीले प्याच उपलब्ध गराउन छोडेको हो भने अर्कै डिभाइस प्रयोग गर्न थाल्नुहोस् । 

२. इन्क्रिप्सन सेटिङलाई चेक गर्नुहोस् 

हामी तपाईंलाई कम्तिमा पनि WPA2-PSK (AES) इन्क्रिप्सन प्रयोग गर्न सल्लाह दिन्छौं, जसलाई  WPA2-CCMP भनिन्छ । पीएसकेको अर्थ ‘प्रि-शेयर्ड की’ हो । यो एक किसिमको पासवर्ड हो जसलाई तपाईंले पहिलो स्थानमै नेटवर्कसँग कनेक्ट गर्नुपर्दछ । 

WPA2 लाई पहिलोपटक वाईफाई अलायन्सले २००४ मा अनुमोदन गरेको थियो । यदि तपाईंले प्रयोग गरेको राउटरले  WPA2 लाई सपोर्ट गरेन भने नयाँ मोडलमा अपग्रेड हुनुहोस् । 

डब्ल्युईपी अर्थात् वायर्ड इक्युभ्यालेन्ट प्राइभेसी कहिल्यै पनि प्रयोग नगर्नुहोस्  । किनभने यसले प्रयोग गर्ने इन्क्रिप्सन सिस्टम केही वर्षअघि पुरै क्र्याक भएको थियो । यसले झूठो सुरक्षा मात्र दिन्छ । 

३. राम्रो र बलियो पासवर्ड लिनुहोस् 

आफ्नो वाईफाई नेटवर्क सुरक्षाका लागि बलियो र राम्रो पासवर्ड छनौट गर्नुहोस् । सजिलो पासवर्ड सबैलाई मुखाग्र हुन सक्छ । यस्ता पासवर्ड साथीभाइलाई दिँदा वा उनीहरुको डिभाइसमा राखिदिँदा उनीहरुले सजिलै याद गरेर त्यसको दुरुपयोग गर्न सक्छन् ।

यसैले बाहिरी मान्छेहरुले सजिलै थाहा पाउन नसक्ने किसिमका पासवर्ड चयन गर्नुहोस् । घरमा आउने जोकोहीको डिभाइसमा पासवर्ड राखिदिने बानी पनि त्याग्नुहोस् । 

यदि कुनै अतिथिको मोबाइलमा वा डिभाइसमा पासवर्ड राख्नु भएको छ भने उसले प्रयोग गरिसकेपछि त्यसलाई तत्काल परिवर्तन गरिदिनुहोस् । 

४. वाईफाईमा को छन् चेक गर्नुहोस्  

सुरक्षाका लागि आफ्नो वाईफाई नेटवर्कमा कुनकुन डिभाइसको एक्सेस छ भनेर हेर्ने गर्नुपर्दछ । धेरै राउटरहरुको म्यानेजमेन्ट पेज जुन तपाईंको वेब ब्राउजरबाट खोल्न सकिन्छ, त्यहाँ नेटवर्कमा कनेक्ट भएका डिभाइसहरु हेर्न मिल्छ । 

यदि कुनै अनाधिकृत डिभाइस तपाईंको नेटवर्कभित्र छ भने त्यसलाई डिस्कनेक्ट गरिदिनुहोस् । अझ वाईफाई पासवर्ड बदल्नु यस्तो बेला उपयुक्त उपाय हो । 

५. रिभ्यू योर आइटी डिभाइस

आईओटी अर्थात् इन्टरनेट अफ थिङ्क्स भनेका ती उकपरण हुन्, जुन कम्प्युटर वा मोबाइल होइनन् तर इन्टरनेटको मद्दतले सञ्चालन हुन्छन् ।

उदाहरणका लागि वेबक्याम, स्मार्ट स्पिकर, डुअर बेल, स्वचालित कार आदि । यी आईओटी डिभाइसहरु वाईफाई नेटवर्कमा जोडिएर स्वतन्त्र रुपमा सञ्चालन हुन्छन् । 

तपाईंको आईओटी डिभाइसलाई सुरक्षित राख्न केही टिप्सहरु तल राखिएका छन् । 

  • तपाईंले प्रयोग गरिरहेका आईओटी डिभाइसलाई मात्र अनलाइन राख्नुहोस् अन्यथा त्यसको पावरअफ गरेर राख्नुहोस् । 
  • डिभाइस अपडेट भइरहेको कुरा सुनिश्चित गर्नुहोस् ।
  • डिभाइसलाई सही तरिकाले कन्फिगर गर्नुहोस् । 
  • डिफल्ट पासवर्ड जस्ता रिस्की सेटिङलाई परिवर्तन गर्नुहोस् ।
  • कति डेटा शेयर गरिरहनु भएको छ, चेक गर्नुहोस् ।
  • सकेसम्म आईओटी डिभाइसलाई ‘गेस्ट’ नेटवर्कमा राख्नुहोस् ।
  • उपलब्ध भएसम्म ‘क्लाइन्ट आइसोलेसनलाई’ टर्न अन गर्नुहोस् ।
  • तपाईंलाई समस्या पर्दा कसलाई टर्न गर्ने भन्ने कुरा पनि थाहा पाइराख्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०