close

टेलिकमले शिक्षक तथा विद्यार्थीलाई यसरी दिँदैछ ५ जीबी डेटा र भ्वाइससहितको निःशुल्क सिम

टेकपाना टेकपाना

मंसिर २१, २०७७ १६:२५

टेलिकमले शिक्षक तथा विद्यार्थीलाई यसरी दिँदैछ ५ जीबी डेटा र भ्वाइससहितको निःशुल्क सिम

काठमाडौं । नेपाल टेलिकमले देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गरिरहेको छ । कोरोना महामारीको समयमा पनि अनलाइन माध्यमबाट विद्यालयको पठनपाठन जारी राख्नका लागि कम्पनीले निःशुल्क सिम उपलब्ध गराउन थालेको हो ।

उक्त सिममार्फत ग्रुपमा आबद्ध सबै विद्यार्थी तथा शिक्षकहरुले एकआपसमा अनलिमिटेड (असीमित) कुराकानी गर्न, शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्य सामग्री रहेको वेबसाइट चलाउन पाँच जीबी डेटा र एकैपटक धेरै सन्देश अर्थात् बल्क एसएमएससमेत पठाउन सक्छन् ।

यो सुविधा प्रयोग गरेवापत मासिक रुपमा लाग्ने ९९ रुपैयाँ ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ अनुसार स्थानीय निकायमार्फत सरकारले व्यहोर्ने छ । यो योजना अनुसार कक्षा १ देखि १२ सम्मका सरकारी तथा सामुदायिक विद्यालयका हरेक विद्यार्थी र शिक्षकले एक थान निःशुल्क पाठशाला सीयूजी सिमकार्ड लिन सक्नेछन् ।

प्रसस्त सहुलियत प्रदान गरिएको यो आकर्षक योजनामा आबद्ध हुन नेपाल टेलिकमको जीएसएम वा सीडीएमए प्रिपेड मोबाइल नम्बर आवश्यक पर्दछ । विद्यार्थी र शिक्षकले चाहेमा उनीहरुले पहिलेदेखि नै प्रयोग गरिरेको प्रिपेड सिमकार्डलाई समेत पाठशाला सीयूजीमा आबद्ध गर्न समेत सक्नेछन् ।

नेपाल टेलिकमको प्रिपेड सिमकार्ड नहुने विद्यार्थी वा शिक्षकहरुले निःशुल्क रुपमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्ड लिन सक्ने टेलिकमले जनाएको छ । विद्यार्थीको लागि सिमकार्ड लिंदा विद्यार्थीको नाममा वा अभिभावकको नाममा लिन सकिन्छ ।

निःशुल्क सिम प्राप्त गर्नका लागि शिक्षक तथा विद्यार्थीले कम्पनीको प्रिपेड मोबाइलको आवेदन फाराम रीतपूर्वक भरेर सम्बन्धित सार्वजनिक विद्यालयमा बुझाउनु पर्नेछ । यसरी आवेदन फारामको साथमा विद्यार्थीको परिचयपत्रको प्रतिलिपी, विद्यार्थीको नागरिकताको प्रतिलिपी वा नागरिकता नबनेको भएमा अभिभावकको नागरिकताको प्रतिलिपी संलग्न गर्नु पर्नेछ ।

साथै आवेदन फाराममा एक प्रति फोटो समेत टाँस्नुपर्ने । विद्यार्थीले सिमकार्ड आफ्नै वा अभिभावकको नाममा समेत लिन सक्नेछन् ।

विद्यालयले पाठशाला सीयूजीमा आबद्ध हुने सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकहरुको सीयूजीमा आबद्ध गर्नुपर्ने मोबाइल नम्बर र नाम सहितको विवरण तोकिएको ढाँचामा तयार पारी सम्बन्धित स्थानीय तहको सिफारिसको साथमा नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।

त्यसको साथमा सो वापत लाग्ने शुल्क समेत भुक्तानी गर्नुपर्दछ । त्यस पश्चात् सो ग्रुपमा अबवद्ध सबै मोबाइल नम्बरहरुमा एसएमएसमार्फत जानकारी प्राप्त हुन्छ ।

प्रत्येक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई कम्पनीको क्लोज्ड युजर ग्रुप (सीयूजी) मा आबद्ध गरी मासिक जम्मा ९९ मा उक्त ग्रुपभित्र असीमित कुराकानी गर्न सकिने भ्वाइस सेवा प्राप्त हुनेछ । त्यसका साथै शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइट चलाउन ५ जीबी डेटा सेवा र बल्क एसएमएस सुविधा समेत उपलब्ध हुनेछ ।

शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइटमा कक्षा १ देखि १० सम्मको पाठ्यक्रम र पाठ्यसामग्रीहरु उपलब्ध छन् । पाठशाला सीयूजी अफरको अवधि समाप्त भएपश्चात पनि यो अफरमा आबद्ध मोबाइल नम्बरहरु प्रयोगकर्ता शिक्षक, विद्यार्थी र अभिभावकले अन्य प्रयोगकर्ताको मोबाइल नम्बर सरह नै निरन्तर रुपमा प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ ।

कम्पनीका देशभरका सेवा केन्द्रहरुबाट सार्वजनिक विद्यालयको माग अनुसार निःशुल्क पाठशाला सीयूजी सिम लिन सकिनेछ । यो सेवाबाट लाभ उठाउन सम्पूर्ण सार्वजनिक विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकलाई टेलिकमले अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०