close

‘क्यानको अध्यक्षमा यसकारण मेरो उम्मेदवारी’

गोपाल साउद गोपाल साउद

कात्तिक २३, २०७६ १२:५८

‘क्यानको अध्यक्षमा यसकारण मेरो उम्मेदवारी’

नेपालको सूचना प्रविधि क्षेत्रको सबैभन्दा ठूलो निजी संगठीत संस्थाकाे रुपमा रहेकाे कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) फेडेरेशन अर्थात क्यान महासंघको २६ औँ वार्षिक साधारणसभा नजिकिँदै छ । आगामी ७ हुने साधारणसभाबाट मंसिरमा क्यानकाे भावी नेतृत्वको छिनोफानो समेत हुनेछ । त्यसका लागि वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको रुपमा रहेका नवराज कुँवर र उपाध्यक्ष सुनैना घिमिरे पाण्डेय नेतृत्वका दुई प्यानल आपसमा भिड्दैछन् ।  खुम्चिँदै गएको क्यानको भुमिका, संस्थाभीत्रको राजनीतिक खिचातानी, नेपालको सूचना प्रविधि क्षेत्रको विकास, नजिकिँदै गरेको साधारणसभाको तयारी र चुनावी एजेन्डाको विषयमा अध्यक्षका प्रत्यासी कुँवरसँग टेकपाना डटकमका लागि गोपाल साउदले गरेको कुराकानी ।

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको आगामी निर्वाचनमा अध्यक्षको प्रत्यासीको रुपमा तपाईंले आफुलाई अगाडि सार्नुभएको छ । खासमा तपाईको उम्मेदवारीे किन ?

क्यान महासंघ सन् १९९२ मा स्थापना भयो, त्यसको ठिक तीन बर्षपछि म क्यान महासंघमा आबद्ध भएँ । क्यानको २७ वर्षको इतिहासमा निरन्तर मैले २४ बर्षसम्म क्यान महासंघको सदस्यका रुपमा विभिन्न पदमा रहेर सक्रिय काम भुमिका निर्वाह गरेँ । हिजो क्यान संघको रुपम छँदा र अहिले महासंघ हुँदा  म विभिन्न पदमा रहेँ र अहिले वरिष्ठ उपाध्यक्षको रुपमा काम गरेको अवस्था हो ।

वरिष्ठताको हिसाबले र कर्मगत हिसाबले मेरो उम्मेदवारी भनेको अध्यक्ष बाहेक अरु कुनै पदमा छैन । यो बर्ष हुन गइरहेको २६ औँ वार्षिक साधारणसभामार्फत १३ औं कार्यसमिति को चयन हुँदैछ । त्यसमा मैले आफूलाई क्यान महासंघको राष्ट्रिय अध्यक्षको रुपमा अगाडि सारेको छु । 

चुनावका लागि तपाईंका एजेन्डा के छन् ? क्यानका सदस्य तथा मतदाताले तपाईंलाई नै किन भोट हाल्ने ?

स्वभाविक रुपमा क्यान महासंघमा १४/१५ वर्षसम्म कार्यसमितिमा बसिसकेपछि हिजोकोे संघ र आजको महासंघमा हिजो के थियो र आजको छ भन्ने सन्दर्भमा क्यान महासंघमा सबैभन्दा पुरानो व्यक्ति भएकाले मैले राम्रोसँग बुझेको छु । अर्को अर्थमा क्यानलाई देशव्यापी रुपमा फैलाउन मैले धेरै पहल गरें र अहिले मेचीदेखि महाकालीसम्म महासंघ गुन्जिरहेको अवस्था छ ।

सूचना र प्रविधिको क्षेत्रमा देशकै सबैभन्दा ठूलो सञ्जाल भनेको क्यान महासंघ नै हो । र यसलाई ठूलो संस्था बनाउने सन्दर्भमा यो १४ बर्षको इतिहासमा मेरो योगदान धेरै रह्यो, जुन् हाम्रा सदस्य ज्यूहरूलाई विदितै छ । संघदेखि महासंघसम्म आइरहँदा मैले क्यानलाई दिएको योगदान र क्यानको उचाई बनाउन गरेको प्रयत्न र भोलि यसलाई अझै उचाई लैजाने सन्दर्भमा मेरो लामो अनुभवकाे आधारमा मलाई सबैले अगाडि लैजानु हुन्छ र मत दिएर जिताउनु हुन्छ भनेर मैले आशा गरेको छु ।

मानौ, तपाईं क्यानको अध्यक्षमा निर्वाचित हुनुभयो । क्यान भित्रको अहिलेको किचलो र राजनीतिक खिचातानीलाई हल गर्नृ सक्नुहुन्छ त ? 

वास्तवमा के छ भने कुनै पनि परिवर्तन आउँदा थोरै ‘भ्याकुम’ हुन्छ नै । हामी जतिबेला संघ थियौं, त्यो संघबाट महासंघ हुने बेलामा हामीले आफूलाई र संस्थालाई धेरै रुपान्तरण गर्नुपर्यो । त्यो रुपान्तरण गर्ने सन्दर्भमा पक्कै पनि क्यान संघको रुपमा जहाँ थियो महासंघमा बनेपछि त्यतिकै हाइटमा पुग्न नसकेको यथार्थ हो । यसैले पनि हामीले हाम्रो संगठनलाई परिष्कृत गर्दै लैजानुपर्ने अवस्थामा छ ।

सांगठनिक रुपमा अहिले क्यान महासंघ मजबुत बनिसकेको छ । अब हामीले अगाडि सार्नुपर्ने मुख्यतः तीनओटा एजेण्डालाई अगाडि सारेको छु । पहिलो कुरो त संस्थालाई प्रशासनिक रुपमा शुदृढिकरण गर्नमा हामीले यसलाई एजेण्डाको रुपमा ल्याएका छौं । स्मार्ट क्यान बनाउने भनेर हामीले सोचेका छौं ।

एउटा आन्तरिक शुदृढिकरण छ भने अर्को चाहिं देशमा सूचना प्रविधिको विकास विना कुनै पनि क्षेत्रको विकास हुन नसकेको अवस्था छ । त्यसकारण हामीले सरकारका राम्रा कामलाई प्रशंसा गर्दै उसले सूचना प्रविधिकाे क्षेत्रमा ल्याएका विषयलाई व्यावसायिक हिसाबले आउनुपर्छ भन्ने हिसाबले लबिङ गर्छौं । सरकारले बनाउने सूचना प्रविधिका एजेण्डाहरू सुल्झाउने काम गर्छौं र सरकारसँग मिलेर गर्ने काम पनि छदैंछ । अर्को पाटो के छ भने क्यानले अन्तर्राष्ट्रिय रुपमा पनि छवि राम्रो छ ।

हामीले दुई तीन वटा अन्तर्राष्ट्रिय च्याप्टर पनि बनायौं र मेरो कार्यकालमा चाहि कम्तिमा पनि सात वटा अन्तर्राष्ट्रिय च्याप्टर बनाएर विश्वमा विकास भएको प्रविधिलाई नेपालमा भित्र्याउने  एउटा माध्यमको रुपमा अगाडि लाने मैले सोचेको छु । त्यस्तै गरी क्यानलाई प्रशासनिक रुपले अगाडि लैजान घरजग्गा वा भवनको विषयमा कुरा गरिरहेका छौं ।

संस्थाको कोषमा हामीले केही रकम जम्मा गरेका छौं । मेरो कालमा केन्द्रीय भवन मात्र नभएर सात वटै प्रदेशमा क्यानका शाखाहरु छन्, ती शाखाहरुका लागि सकेसम्म विल्डिङ नै बनाउने अथवा एउटा भौतिक पूर्वाधारको रुपमा अगाडि ल्याउने हिसाबमा मैले सोचेको छु ।

तेस्रो कुरा संघ छँदा विभिन्न दातृ निकायहरू तथा राजदूतावासहरूसँग मिलेर धेरै कार्यक्रमहरु गर्थ्यौं। त्यसमा चाहिं अहिले हामीले केही कमी महसुस गरेका छौं । दूतावासहरूसँग मिलेर पनि नेपाललाई प्रविधिको सन्दर्भमा के कस्ता कार्यक्रम अगाडि लैजान सकिन्छ ? त्यस्तै एनआरएनसँग मिलेर विदेशी लगानीबाट सूचना प्रविधिको क्षेत्रमा कसरी विकास गर्न सकिन्छ भनेर मैले एजेण्डाको रुपमा अगाडि सारेको छु ।

विपिओ , केपिओजस्ता कार्यक्रमहरूलाई पनि कसरी अगाडि लैजान सक्छौं भन्ने सन्दर्भमा पनि हामीले सोचेको छौं । क्यानलाई बलियो रुपमा स्थापित गराइराख्न हामीले सधैभरी सञ्चालन गर्दै आएको क्यान इन्फोटेक छ ,जुन इन्फोटेक विगतमा भन्दा केही आकर्षण कम भएको छ । त्यसकारण हामीले यसपटक त्यसलाई परिष्कृत गरेर नयाँ ढंगबाट काठमाडौंभन्दा बाहिर सातवटै प्रदेशबाट प्रर्दशनी गरी सक्यौं र पनि त्यसलाई परिष्कृत गर्दै लैजाने कोसिसमा छौं ।

त्यस्तै अहिले नेपाल सरकारले भिजिट २०२० लाई आधार मानेर र मेरो कार्यकालमा आइटी र टिआई (इन्फर्मेसन टेक्नोलोजी र टुरिजम इन्डष्ट्रि )लाई मिलाएर  उद्योगको रुपमा नेपालमा एउटा सेमिनार गर्ने लक्ष्य मैले राखेको छु । हुन त दुई बर्षको कार्यकाल हो, दुई बर्षको कार्यकालमा धेरै कुराहरू गर्न नसकिए पनि क्यानलाई अगाडि बढाउने सन्दर्भमा भौतिक पूर्वाधारदेखि लिएर अन्य पूर्वाधारको लागि पनि हामी अगाडि जानेछौं ।

अहिले संस्थागततर्फ  पाँच हजार सदस्य छौं । हिजो संघ र महासंघ हुदाँ पाँच हजार सदस्यहरूको अधिकार र कर्तव्यका कुरामा हामीले परिमार्जन गर्नुपर्नेछ । त्यो सबै, चाहे त्यो जिल्ला शाखा भन्नुस् या व्यक्तिगत भन्नुस् ति सबैलाई बराबरी रुपमा अधिकारहरू स्थापित गर्ने तरिकाले हामीसँग भएको विधान र कानुनलाई पनि परिमार्जन गर्ने लक्ष्य राखेको छु ।

नेपालमै सूचना प्रविधिको क्षेत्रमा अध्ययन गरेका विद्यार्थीहरु देशभित्रै अवसर नपाएर विदेशीने क्रम तीव्र बन्दै गएको छ । यस्तो अवस्थामा देशभित्रै जनशक्ति टिकाउनुपर्ने चुनौतिलाई कसरी लिनुभएको छ ? 

मूख्य कुरा कुनै पनि विकासका निम्ति पहिलो आधार भनेकै पूर्वाधार हो । पूर्वाधार बिना कुनै पनि कुराको विकास हुन सक्दैन । नेपालमा जतिखेर कम्प्युटर एसोसिएसन नेपाल गठन भएर सूचना प्रविधिको काम गर्न थाल्यौँ, त्यति बेला यहाँ सूचना प्रविधि मन्त्रालय पनि गठन भएको थिएन ।

पछिल्लो समय सबै कुराहरू परिवर्तन हुँदै आएको अवस्थामा अब पनि सूचना प्रविधिलाई एउटा टूलको रुपमा प्रयोग गर्न सकिएन भने आफूले राखेको लक्ष्यलाई पुरा गर्न सकिन्न भन्ने हिसाबले अहिलेको सरकारले आफ्नो नीति तथा कार्यक्रम भित्रै सूचना प्रविधिलाई राखेको अवस्था छ । 

त्यसैले सरकारले बनाउने नीति, नियम र कानून जबसम्म प्रविधिमैत्री हुन सक्दैन तबसम्म कलेज भन्नुस् या विदेशी कम्पनी उनीहरूलाई आउन समस्या हुन्छ । त्यसैले सरकारलाई ठूला ठूला सूचना प्रविधिका कम्पनीहरुलाई नेपाल आउने वातावरण बनाउन सूचना प्रविधिमैत्री वातावरण र कानुन बनोस् भनेर हामीले आग्रह पनि गरेका छौँ । यो विषय सरकारलाई हामीले सुझाएका पनि छौँ ।

अहिले नेपालको सूचना प्रविधिको क्षेत्रमा उत्पादन भइरहेको जुन  जनशक्ति छ, त्यो जनशक्ति विदेशिनुपर्ने बाध्यता रहँदैन । नेपालमा ठूला आईटी कम्पनी स्थापना हुन सके भने ती युवाहरूलाई नेपालमै रोजगारी दिन सकिन्छ । त्यसैले हामी सरकारका राम्रा कामको प्रशंसा गर्छौं र जुन यो क्षेत्रलाई पछाडि पार्ने किसिमका गतिविधिहरू सरकारको तर्फबाट हुन्छन्, त्यस विरुद्ध पनि हामी लडेर जानेछौं । 

सरकारसँग सहकार्य गर्ने सवालमा मैले ‘थ्री सी’ को मोडल सोचिरहेको छु । त्यसमा सरकारले गरेका राम्रा कामलाई समर्थन गर्ने, सरकारका नराम्रा कामको विरोध गर्ने र अर्को अर्थमा सरकारलाई अगाडि जान सहयोग गर्ने भन्ने हो । यसरी तीन किसिमले सरकारसँग जोडिएर जान खोजिरहेका छौं ।

देश संघीयतामा गइसकेको अवस्थामा विकास भनेको स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले गर्ने हो । त्यसैले हामीले पनि संस्थालाई संघीय संरचनामा अगाडि लगिसकेका छौँ । हामीसँग केन्द्र छ, प्रदेश छ र स्थानीय रुपमा जिल्ला शाखाहरू छन् । तीन ओटै सरकासँग मिलेर राम्रा कुराहरूलाई हामी जनस्तरसम्म पुर्‍याउँदै लैजाने छौँ र अगाडि जान पनि सुझाव दिनेछौं । 

विदेशमै पनि कतिपय नेपालीहरूले सूचना प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमै उल्लेखनीय उपलब्धी हासिल गरेका छन् । तर नेपालको सन्दर्भमा भने यो क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको अभावले अपेक्षित रुपमा विकास हुन सकिएको छैन । विदेशमा रहेका नेपाली दक्ष आईटी इन्जिनियरलाई नेपाल फर्काउन तपाईंका कुनै योजना छन् ? 

मूख्यतः नेपाल सरकारले एउटा नारा ल्याएर आएको छ– समृद्ध नेपाल, सुखी नेपाली । वास्तवमा जबसम्म हरेक क्षेत्रको विकास समानान्तर रुपमा हुँदैन, तबसम्म त्यो नारा पुरा हुन सक्दैन । त्यसैले हामीले सरकारलाई के भनेका छौं भने चाहे त्यो पर्यटनको विकासको कुरा गरौं, चाहे शिक्षाका कुरा गरौं वा उद्योगका, हरेक क्षेत्रमा सूचना प्रविधिलाई टुल्सको रुपमा प्रयोग गर्न सकियो भने त्यो क्षेत्रको विकास हुन्छ । अनि मात्र सरकारले ल्याएको नारा पुरा हुन सक्छ ।

अब सरकारले हरेक क्षेत्रमा सूचना प्रविधिलाई समेटेर लैजानुपर्ने आवश्यकता छ । हुन त हामीले देखिरहेका पनि छौं, केन्द्र सरकारले मात्र होइन, प्रदेश र स्थानीय सरकारले पनि सूचना प्रविधिलाई प्राथमिकता दिइरहेका छन् । नेपालको सन्दर्भमा हेर्ने हो भने पनि अबको समयमा सबैभन्दा धेरै रोजगारी सूचना प्रविधिको क्षेत्रमै सिर्जना गर्न सकिन्छ । त्यसैले पनि सरकारले विदेशमा प्रविधिको क्षेत्रमा काम गरिरहेकाहरूलाई पनि स्वदेश फर्काउने वातावरण बनाउनुपर्ने हुन्छ ।

यदि त्यसो हुन सक्यो भने, जनशक्ति नेपालमा पनि रहने र सरकारले लिएको उद्देश्यका निम्ति विदेशी जनशक्तिमा भर समेत पर्नु नपर्ने अवस्था बन्छ । किनभने हामीले देखेका छौं, विश्वकै ठूला आईटी कम्पनीहरुमा नेपालीहरूले काम गरिरहेका छन् । उनीहरुलाई फर्काउन सरकारले उपयुक्त वातावरण बनाउन सक्नुपर्छ । लगानीको वातावरण बनाएर विदेशी कम्पनीलाई नेपालमा आउने अवस्था तयार गर्न सक्नुपर्छ । त्यसका लागि आवश्यक ऐन, नियम र कानूनहरु बनाउनुपर्ने हुन्छ । तब मात्र त्यो जनशक्ति नेपाल भित्र्याउन सकिन्छ ।

साँच्चिकै भन्ने हो भने मुलुकमा समृद्धि ल्याउन सूचना प्रविधिलाई अपनाउनुपर्ने नै हुन्छ । हाम्रो देश भौगोलिक रुपमा हिमाल, पहाड र तराई मिलेर बनेको छ । जुनसुकै तहको सरकारले जनतालाई सार्वजनिक सेवा सजिलै र समान रुपमा पुर्‍याउने माध्यम नै सूचना प्रविधि हो । हामीले ग्रामीण स्तरसम्म जनचेतना विस्तार गर्ने काम गरिरहेका छौं भने अर्को तर्फ ती क्षेत्रका जनतालाई सरकारी सेवा सहज रुपमा कसरी दिन सकिन्छ भन्ने सन्दर्भमा सरकारलाई समेत सुझाईरहेका छौं । 

राजनीतिक चलखेल र खिचातानीका कारण आफ्नो भुमिकाबाट क्यान महासङ्घ विमुख बन्दै गएको आरोप पनि लाग्ने गरेको छ । अबको क्यान तपाईंको नेतृत्वमा आयो भने आन्तरिक किचलोलाई व्यवस्थापन गरेर लैजान सक्नुहुन्छ त ? 

हाम्रो क्यान महासंघको बनावट अथवा प्रकृति अलि भिन्न छ । त्यहाँ व्यक्तिगत सदस्यहरू छन्, सूचना प्रविधिका उद्योगहरू छन्, कलेजहरू छन्, सफ्टवेयर उद्योगहरू छन्, जिल्ला र प्रदेशहरु पनि छन् । यस्तो विभिन्न प्रकृतिका व्यक्ति र संस्था मिलेर क्यान महासंघ बनेको छ ।

अहिले मैले नेतृत्वको रुपमा अभ्यास गरिरहँदा ति हरेक क्षेत्रबाट आफ्नो टिममा समेट्ने कोशिस गरिरहेको छु । सूचना प्रविधिको क्षेत्रमा ठूलो योगदान गरेका व्यक्तिहरू, ठूला कम्पनीहरू, केन्द्रदेखि प्रदेश र जिल्ला स्तरबाट मैले टिम बनाउन खोजिरहेको छु । पक्कै पनि यो टिमले नेतृत्वको अवसर पायो भने क्यानलाई थप उचाईमा लैजान सक्छ । 

सदस्यहरुले जहिले पनि आफ्नो हकहित र विकासमा ध्यान दिइरहेका हुन्छन् । हिजो क्यान के थियो, आज महासंघ किन भयो र अबको भावी गन्तव्य के हो भन्ने सन्दर्भमा राम्रोसँग जानकार छु । संस्थाको २७ वर्षे इतिहासमा मैले १४ बर्ष विभिन्न समितिमा रहेर काम गरें । इच्छा, आकांक्षा सबैका हुनसक्छन् । त्यस हिसाबले उम्मेदवारी दिने कुरा पनि स्वभाविक नै हुन्छ ।

जुन दिन हाम्रो निर्वाचन सम्पन्न हुन्छ, उम्मेदवारी त्यही दिनसम्मका लागि रहन्छ र त्यसको भोलीपल्ट यदी मेरो टिमभन्दा बाहिरका कसैले जितेर आउनुभयो भने पनि उहाँहरूलाई मैले मेरा हरेक कदममा सँगसँगै लैजाने प्रयास गर्छु भन्ने प्रतिबद्धता जनाइसकेको छु । त्यही कारणले पनि होला क्यानको इतिहासमा सदस्यहरुको विश्वास जित्दै सबैभन्दा बढी क्यानको विभिन्न समितिमा रहेर लामो समय काम गर्न पाएँ । 

त्यस हिसाबले पनि मसँग धेरै अपेक्षाहरू राख्नुभएको पनि छ । क्यान काठमाडौंमा मात्रै सीमित थियो, अहिले मेरै नेतृत्वमा हामीले क्यानलाई ४८ जिल्लामा पुर्‍याउन सफल भएका छौं । र जिल्लाका साथीहरूले पनि धेरै अपेक्षा राख्नुभएको छ र उहाँहरुको चाहना मैले राम्रोसँग बुझेको छु । 

केन्द्रीय स्तरमा पनि सरकारसँग नीतिगत तहदेखि लिएर क्यानलाई र सदस्यहरूलाई अगाडि लैजाने सन्दर्भमा धेरैले मसँग गुनासो पनि गर्नुभएको छ र मलाई सुझाव पनि दिनुभएको छ । जुन उहाँहरूका गुनासा छन्, इच्छा र आकांक्षा छन्, त्यसलाई राम्रोसँग नेतृत्व गर्न सक्छु भन्ने मलाई लागेको छ । 

अन्तिममा क्यानका सदस्यहरु तथा मतदातालाई तपाईको आग्रह वा सन्देश केही छ कि ?

म क्यान महासंघका सम्पुर्ण आदरणीय सदस्य ज्यूहरूलाई अनुरोध गर्न चाहन्छु, हाम्रो संस्था देशकै सूचना प्रविधिको नेतृत्वदायी संस्था हो । हामी राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय संस्थाहरूसँग पनि जोडिएका छौं । र मैले क्यानलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन र राष्ट्रिय रुपमा यसको ठूलो भुमिकाको निम्ति नेतृत्व गर्ने एजेन्डा लिएर हिंडेको छु ।

क्यान भित्रका विषयलाई परिष्कृत गरेर साँच्चिकै यसको व्यवसायिकता प्रति गर्व गर्न सक्ने रुपमा अगाडि लैजानेछु । त्यसैले यहाँहरुले यो निर्वाचनमा म र मेरो टिमलाई अत्यन्तै धेरै मत दिएर जिताइदिनु हुनेछ भन्ने विश्वास लिएको छु र त्यसका निम्ति अनुरोध पनि गर्न चाहन्छु । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०