close

फाइभजी परीक्षणको तयारीमा भारत, टेलिकम कम्पनीले मागे अनुमति

टेकपाना टेकपाना

मंसिर २२, २०७७ २१:२८

फाइभजी परीक्षणको तयारीमा भारत, टेलिकम कम्पनीले मागे अनुमति

काठमाडौं । विश्व दूरसञ्चार बजारमा फाइभजी अहिले सबैभन्दा चर्चाको विषय हो । द्रुत गतिको मोबाइल ब्रोडब्याण्ड इन्टरनेटको रुपमा उदाएको फाइभजीको प्रयोग हाल विश्वका धेरै देशमा भइरहेको छ ।

कतिपय देशमा यसको परीक्षणको काम चलिरहेको छ । नेपाल यसका लागि आवश्यक फ्रिक्वेन्सीको तयारीमै अल्झेको छ ।

तर, छिमेकी राष्ट्र चीनमा हाल फाइभजी २० प्रतिशत जनसंख्यामा पुगिसकेको पछिल्लो प्रतिवेदनले देखाएको छ । अर्को छिमेकी राष्ट्र भारत पनि फाइभजी परीक्षणका लागि अघि बढ्ने भएको छ ।

भारतमा दूरसञ्चार कम्पनीहरुको संघ (सीओएआई) ले दूरसञ्चार विभागलाई पत्र पठाएर फाइभजी परीक्षण सुरु गर्न माग गरेको छ । उसले उक्त पत्र एक वर्ष अघि नै पठाएको भएता पनि सरकारबाट कुनै प्रतिक्रिया नआएसँगै अहिले पुनः पत्र पठाइएको उल्लेख गरिएको छ ।

सीओएआईले सरकारलाई पठाएको पत्रमा फाइभजीको लागि स्वीकृति दिएको खण्डमा फाइभजी परीक्षणका लागि कम्पनीहरु तयार रहेको उल्लेख गरिएको छ । सीओएआईका अनुसार सरकारले सन् २०१९ मा फाइभजी सेवाको परीक्षणका लागि समिति गठन गरेर काम अघि बढाएको भएता पनि हालसम्म फाइभजीका लागि स्पेक्ट्रम छुट्याइएको छैन ।

त्यसैले उनीहरुले फ्रिक्वेन्सीमाथि नै प्रश्न उठाएका छन् । सीओएआईले दूरसञ्चार विभागलाई पठाएको पत्रमा फाइभजी परीक्षण चाँडै सुरु गर्नुपर्ने, त्यसरी परीक्षणको लागि दिइएको फ्रिक्वेन्सी कम्तिमा पनि एक वर्ष ट्रायल रुपमा दिनुपर्ने उल्लेख छ ।

परीक्षण जुनसुकै स्थानमा पनि गर्न सक्ने, सरकारले परीक्षणका लागि नोडल अफिसर नियुक्त गर्नुपर्ने र एकल विन्डो क्लियरेन्स कम्पनीहरूलाई दिइनुपर्ने जस्ता माग समेत उनीहरुले राखेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०