close

सोमबारदेखि नेपाली बजारमा आउँदै वनप्लस नोर्ड फाइभजी, यस्तो छ फिचर र मूल्य

टेकपाना टेकपाना

मंसिर २४, २०७७ १६:२५

सोमबारदेखि नेपाली बजारमा आउँदै वनप्लस नोर्ड फाइभजी, यस्तो छ फिचर र मूल्य

काठमाडौं । लोकप्रिय प्रिमियम स्मार्टफोन निर्माता कम्पनी वनप्लसले आफ्नो नयाँ स्मार्टफोन वनप्लस नोर्ड फाइभजी फोन नेपाली बजारमा ल्याउने भएको छ । नेपालका लागि कम्पनीको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिजले यो फोन नेपाली बजारमा सार्वजनिक गर्ने भएको हो ।

यो फोनमा ९० हर्ज रिफ्रेश रेट सहितको ६.४४ इन्चको फ्ल्युड एमोलेड एचडीआर टेन प्लस डिस्प्ले प्रयोग गरिएको छ । कर्निङ गोरिल्ला ग्लास फाइभ प्रोटेक्सन सहितको यो फोनमा फाइभजी सम्मको नेटवर्क कनेक्टिभिटी रहेको छ ।

क्वालकम स्नापड्रागन ७६५ जी (७ एनएम) प्रोसेसर रहेको वनप्लस नोर्ड फाइभजीमा एड्रिनो ६२० जीपीयू राखिएको छ । यो फोन १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरिन्टमा नेपाली बजारमा आउने छ ।

दुई वटा सेल्फी क्यामेराका साथ आउने यो फोनमा ३२ मेगापिक्सेलको मेन क्यामेरा तथा ८ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स दिइएको छ । पछाडि भागमा ४८ मेगापिक्सेलको मेन क्यामेरा सहितको क्वाड क्यामेरा सेटअप रहेको छ ।

जसमा ८ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स, पाँच मेगापिक्सेलको डेप्थ सेन्सर र दुई मेगापिक्सेलको म्याक्रो क्यामेरा रहेको छ । यो फोनबाट ३० फ्रेम प्रति सेकेन्डमा फोरेक सम्मको भिडियो रेकर्ड गर्न सकिन्छ ।

सेक्युरिटीका लागि यो फोनमा फेस अनलक र डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर राखिएको छ । ४११५ एमएएच क्षमताको ब्याट्री रहेको वन प्लस नोर्ड फाइभजी ३० वाट फास्ट चार्जिङ सहित उपलब्ध हुनेछ ।

जुन ३० मिनेटमा ७० प्रतिशतसम्म चार्ज हुने कम्पनीको दाबी छ । यसको मूल्य नेपाली बजारमा ६३ हजार ९९९ रुपैयाँ राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०