close

स्टार्टअप आइडियालाई निःशुल्क तालिम सहित १५ लाख दिइँदै, यसरी दिनुहाेस् आवेदन

टेकपाना टेकपाना

मंसिर २४, २०७७ १८:२६

स्टार्टअप आइडियालाई निःशुल्क तालिम सहित १५ लाख दिइँदै, यसरी दिनुहाेस् आवेदन

काठमाडौं । नवीनतम सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि नवप्रर्वतन प्रस्ताव आह्वान (Startup Idea Call) कार्यक्रम सुरु भएको छ । सरकार, वित्तीय संस्था र नीति क्षेत्रको सहकार्यमा यो कार्यक्रम अघि बढाइएको हो ।

बाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेसनको संयुक्त प्रयासमा यो कार्यक्रम सञ्चालनमा ल्याएका हुन् । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममार्फत पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले यसको सुरुवात गरेका छन् ।

पूर्व प्रधानमन्त्री नेपालले व्यवसाय सफल नहुने मुख्य कारण सम्पूर्ण पक्षहरुबीच तालमेल नहुनु भएको बताए । उत्पादन, श्रम, पूँजी, बजार र नीतिबीच तालमेल भए मात्र व्यवसाय सफल हुने उनको भनाई थियो ।

नेपालमै बसेर स्वरोजगार बन्छु भन्नेका लागि यो कार्यक्रम निकै उपयोगी हुने पूर्व प्रधानमन्त्री नेपालले बताए । आयोजकका अनुसार २०७७ माघ महिनाभर उद्यमी बन्न चाहने युवाहरुले नवीनतम प्रवर्तनात्मक प्रस्ताव आह्वान (स्टार्टअप आइडिया कल) को वेबसाइटमार्फत आफ्नो आइडिया प्रस्तुत गर्न सक्नेछन् ।

त्यहाँ आएका आइडियालाई संकलन गरी उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्बन्धी निःशुल्क तालिम प्रदान गरिनेछ । साथै राष्ट्रिय वाणिज्य बैंकमार्फत बढीमा तीन प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैँयासम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ ।

कार्यक्रममा बाग्मती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले बाग्मती प्रदेशभित्र व्यवसाय गर्ने दुई सय युवाहरुमा लगानी गरिने बताए । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो कर्जा एकदमै सस्तो र सरल किसिमले पाइने भएकाले सदुपयोग गरी व्यवसाय गर्न आग्रह गरेका छन् ।

आयोजकका अनुसार माघ महिनासम्म आएका आइडिया मध्येबाट उत्कृष्ट आइडिया छन‍ौट गरी फागुन र चैत महिनामा तालीम प्रदान गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ । नेपालमा उद्यमी बन्न चाहने युवाका लागि यो स्टार्टअप आइडिया कल निकै उपयोगी हुने विश्वास लिइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०