close

डिजिटल प्रणाली ग्रामीण क्षेत्रसम्म विस्तार गर्न जरुरी छः गभर्नर अधिकारी

टेकपाना टेकपाना

मंसिर २६, २०७७ ११:४४

डिजिटल प्रणाली ग्रामीण क्षेत्रसम्म विस्तार गर्न जरुरी छः गभर्नर अधिकारी

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले संयुक्त राष्ट्रसंघीय पूँजी विकास कोष र सिङ्गापुर मनिटरी अथोरिटीले आयोजना गरेको ‘सिङ्गापुर फिन्टेक महोत्सव’ लाई सम्बोधन गरेका छन् ।

बिहीबार कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले नेपालमा डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकास र प्रवर्द्धनका लागि नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहेको बताए ।

‘कृषि र खाद्य प्रणालीमा डिजिटल बैंकिडले पुर्‍याउन सक्ने सहयोग’ विषयमा मन्तव्य राख्दै गभर्नर अधिकारीले वित्तीय क्षेत्रको नेतृत्वदायी निकाय हुनुका नाताले नेपालमा डिजिटल अर्थतन्त्रको विकासका लागि राष्ट्र बैंकको अत्यन्तै ठूलो भूमिका रहेको तथ्य आफूहरुले महसुस गरेको उल्लेख गरे ।

‘त्यसैले नेपालमा ‘डिजिटल पर्यावरण’को विकासको लागि हामी प्रतिबद्ध छौ,’ उनले भने । नेपाल सरकारले डिजिटल अर्थतन्त्रको प्रवर्द्धनका निम्ति ‘डिजिटल नेपाल प्रारूप’को महत्वाकांक्षी योजना अगाडि सारेको उल्लेख गर्दै गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र, शासकीय व्यवस्था र सामाजिक क्रियाकलापको रूपान्तरणमा यो अभियानले सार्थक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

‘यो प्रारूपलाई नेपालको ‘डिजिटल आधारशीला’को रूपमा लिइएको छ । यसको कार्यान्वयनबाट नेपालको कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र सहरी पूर्वाधार विकाससँगै मुलुकको समग्र आर्थिक तथा सामाजिक विकासले एउटा फड्को मार्ने मेरो विश्वास छ,’ उनले अगाडि भने ।

पछिल्लो समयमा नेपालमा विद्युतीय बैंकिङ र भुक्तानी प्रणालीको विकासलाई नेपाल सरकार र राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै गभर्नर अधिकारीले यसको कार्यान्वयनका लागि कानूनी, नीतिगत एवम् संस्थागत व्यवस्थालाई सबल तुल्याइएको बताए ।

यसैको परिणाम स्वरूप भुक्तानी प्रणालीको विकास तथा सञ्चालन, इजाजत प्रक्रिया, सम्बद्ध संस्थाको सुपरिवेक्षणको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको गभर्नर अधिकारीको भनाई थियो । डिजिटल बैंकिङको विस्तारसँगै यसको नियमन र सुपरिवेक्षणको क्षेत्रमा चुनौती थपिएको उल्लेख गर्दै उनले त्यसप्रति नियामक निकायहरू सजक रहनुपर्ने उल्लेख गरे ।

पछिल्लो समयमा विश्वव्यापी रूपमा देखापरेको कोभिड-१९ महामारीले डिजिटल बैंकिङको सान्दर्भिकतालाई थप सबल बनाएको भन्दै उनले कृषि तथा खाद्य प्रणालीलाई समेत डिजिटल प्रविधिसँग आबद्ध गराउनुपर्ने बताए ।

उनले भने, ‘डिजिटल प्रविधिको प्रयोगबाट कृषिजन्य उत्पादन, उत्पादकत्व अभिवृद्धि, लगानी, मूल्य निर्धारण, बजार व्यवस्थापन र भुक्तानी कार्यलाई सहजीकरण गर्न सकिन्छ । यसबाट अन्तत: दिगो कृषि र खाद्य प्रणालीमा दूरगामी प्रभाव पार्ने छ ।’

हाल सहरी क्षेत्रमा केन्द्रीत रहेको डिजिटल प्रणालीलाई ग्रामीण क्षेत्रसम्म विस्तार गरी स्थानीय कृषकलाई ई-कमर्ससँग जोड्नुपर्ने उनको सुझाव थियो । साथै, डिजिटल प्रविधिको प्रयोगबाटै ग्रामीण कृषकहरूलाई वित्तीय स्रोतको व्यवस्था, बीमा, कृषिसम्बन्धी सूचना तथा जानकारी विद्युतीय भुक्तानी र लगानीका अवसर उपलब्ध गराउनुपर्ने आवश्यकता गभर्नर अधिकारीले औंल्याए ।

नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब २८ प्रतिशत हिस्सा र झण्डै दुई तिहाई जनसंख्याको जीविकोपार्जनको स्रोत कृषि नै रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले कृषकहरूलाई थप व्यवसायिक बनाउन यसै वर्ष मौद्रीक नीतिमार्फत कृषि ऋणपत्र र किसान क्रेडिट कार्डसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको जानकारी दिए ।

मंसिर २२ देखि भर्चुअल रुपमा सुरु महोत्सव शुक्रबारसम्म चल्नेछ । उक्त महोत्सवमा फरकफरक विषयका सम्मेलनहरू आयोजना भइरहेका छन् ।

यसै क्रममा बिहीबारसम्म क्रमशः आर्थिक, पूर्वाधार, प्रभाव र लगानी सम्बन्धी सम्मेलन आयोजना गरिएको छ भने महोत्सवको अन्तिम दिन शुक्रबार ‘ट्यालेन्ट’ विषयक सम्मेलन आयोजना हुनेछ ।महोत्सवमा ६०० भन्दा बढी शत्र (सेसन)हरू सञ्चालन हुने र १,४०० वक्ताहरूले आफ्नो धारणा प्रस्तुत गर्ने कार्यक्रम छ ।

जसमा ६० हजारभन्दा बढीको सहभागिता रहने र १३० भन्दा बढी मुलुकका सात हजारभन्दा बढी अन्तर्राष्ट्रिय कम्पनीले प्रतिनिधित्व गर्ने अनुमान आयोजकले गरेको छ । ‘सिङ्गापुर फिन्टेक महोत्सव’ लाई डिजिटल बैंकिङ प्रविधिको प्रवर्द्धन र विकासको दृष्टिकोणले विश्वकै सबैभन्दा ठूलो महोत्सवका रूपमा लिने गरिएको छ ।

डिजिटल बैंकिङको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा भएका नवप्रवर्तन, नवीनतम अभ्यास, नीतिगत व्यवस्थाबारे सरोकारवाला निकायका प्रतिनिधिहरूबीच ज्ञान, सीपको आदानप्रदानका लागि यो महोत्सवलाई साझा मञ्चको रुपमा लिइन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४