close

अब सेलपेका ग्राहकले समेत फोनपेको क्यूआरमार्फत भुक्तानी गर्न सक्ने

टेकपाना टेकपाना

मंसिर २८, २०७७ १९:४३

अब सेलपेका ग्राहकले समेत फोनपेको क्यूआरमार्फत भुक्तानी गर्न सक्ने

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे र सेलपेबीच क्यूआर भुक्तानी सम्झौता भएको छ । सम्झौता अनुसार सेलपेका ग्राहकले मोबाइल एप्लिकेसनबाट क्यूआरमार्फत सहजै भुक्तानी गर्न सक्ने भएका हुन् ।

सम्झौतापत्रमा फोन पेको तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र सेलपेको तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् । यससँगै सेलपेका ग्राहकले फोनपेका एक लाख ६० हजार भन्दा धेरै मर्चेन्टमा क्यूआर मार्फत रकम भुक्तानी गर्न सक्नेछन् ।

पछिल्ला दिनमा फोन पे नेटवर्कमा बैंक तथा वित्तीय संस्थाका साथै विभिन्न भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरू आवद्ध हुने क्रम बढ्दो छ । साथै मर्चेन्टहरुको संख्या पनि तीव्र रूपमा बढिरहेको छ ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली अपरेटर हो । फोन पेको नेटवर्कमा ५२ वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् ।

एक लाख ६० हजारभन्दा बढी मर्चेन्ट रहेका छन् । कम्पनीले ११ लाख मोबाइल बैंकिङ तथा ३२ लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाइल बैंकिङ एपका ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

फोन पे विश्वविख्यात डेटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्री डेटा सुरक्षा मापदण्ड’ पीसीआई डीएसएस भि थ्री टु वान प्रमाणीकरण प्राप्त संस्था हो ।

सेल पे एप्लिकेसनको माध्यमबाट आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने माध्यम हो । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेल पेमार्फत विभिन्न किसिमका भुक्तानी गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४