close

सेलपेबाट अब एक लाख ६० हजारभन्दा बढी मर्चेन्टमा भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

मंसिर २९, २०७७ १४:११

सेलपेबाट अब एक लाख ६० हजारभन्दा बढी मर्चेन्टमा भुक्तानी गर्न सकिने

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे र सेलपेबीच क्यूआर भुक्तानी सम्झौता भएको छ । योसँगै सेलपेका ग्राहकले फोनपेका एक लाख ६० हजार भन्दा धेरै मर्चेन्टमा क्यूआर मार्फत रकम भुक्तानी गर्न सक्नेछन् ।

सम्झौतापत्रमा फोन पेको तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र सेलपेको तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार सेलपेका ग्राहकले मोबाइल एप्लिकेसन प्रयोग गरी क्यूआरमार्फत एक लाख ६० हजार भन्दा धेरै मर्चेन्टको रकम भुक्तानी गर्न सक्नेछन् ।

कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्नको लागि ग्राहकहरुको सुरक्षा र आवश्यकतालाई ध्यानमा राखी डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यो सहकार्य गरिएको सेलपेले जनाएको छ ।

कम्पनीका अनुसार यस सहकार्यले सेलपे तथा फोनपेको एक अर्काका सेवाबीच अन्तरआवद्धता भई ग्राहकहरुले फाइदा उठाउन सक्नेछन् ।

सेलपेका ग्राहकहरुले अब १ लाख ६० हजार मर्चेण्टबाट कुनै पनि सामान वा सेवा खरिद गर्दा सेलपे एपबाट उक्त मर्चेण्टमा रहेको फोनपे क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने छ ।

बास्तविक समयमा भुक्तानी, बिना वालेट कारोबार गर्न सकिने, सरल एवं सुरक्षित, लोयल्टी पोइन्टजस्ता फिचर रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सेलपेबाट दुरसञ्चार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, स्वदेशभित्र गरिने रेमिट्यान्स पठाउन–पाउन, बीमा रकम भुक्तानी लगायतका सेवा उपलब्ध छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४