close

घट्यो इन्टरनेट र मोबाइल बैंकिङ कारोबार, क्यूआरमा पनि देखिएन रौनक

टेकपाना टेकपाना

पुस ६, २०७७ १७:२४

घट्यो इन्टरनेट र मोबाइल बैंकिङ कारोबार, क्यूआरमा पनि देखिएन रौनक

काठमाडौं । कोभिड–१९ का कारण लागु गरिएको लकडाउनको अन्त्यसँगै इन्टरनेट र मोबाइल बैंकिङमार्फत हुने कारोबार घटेको छ । नेपाल राष्ट्र बैंकले भर्खरैमात्र सार्वजनिक गरेको कात्तिक महिनाको तथ्याङ्कअनुसार मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको प्रयोग तथा कारोबार घटेको हो ।

राष्ट्र बैंकले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार २०७७ असोजमा ७८ लाख ५० हजार १५४ पटक मोबाइल बैंकिङ प्रयोग भएको थियो । तर कात्तिकमा भने कारोबार संख्या दुई लाख ६ हजार ८ सय ५८ ले घटेको छ ।

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार कात्तिकमा ७६ लाख ४३ हजार २ सय ९६ पटक मात्रै मोबाइल बैंकिङ प्रयोग भएको छ । यस्तै कारोबार रकम पनि ठूलो मात्राले घटेको छ ।

त्यस्तै असोज महिनामा मोबाइल बैंकिङमार्फत कूल २८ अर्ब ८० करोड ४ लाख रुपैयाँको कारोबार भएकोमा पछिल्लो महिनामा त्यो पनि ३ अर्ब १५ करोड रुपैयाँले घटेको छ । कात्तिकमा मोबाइल बैंकिङमार्फत २५ अर्ब ६५ करोड ४ लाख रुपैयाँको मात्र कारोबार भएको छ ।

त्यस्तै इन्टरनेट बैंकिङमार्फत हुने कारोबार तथा प्रयोग पनि पछिल्लो महिनामा घटेको छ । असोजमा २ लाख ७५ हजार ९३३ पटक इन्टरनेटबाट बैंकिङ कारोबार भएको थियो ।

तर, कात्तिकमा सो संख्या घटेर २ लाख २१ हजार ४०५ मा सीमित भएको छ । त्यस्तै कारोबार रकम समेत यस अवधिमा ओह्रालो लागेको छ । असोजमा इन्टरनेट बैंकिङमार्फत ६ अर्ब ३१ करोड ४० लाख रुपैयाँको कारोबार भएकोमा कात्तिकमा भने ५ अर्ब ४३ करोड ६० लाख रुपैयाँको मात्रै कारोबार भएको हो ।

अर्कोतर्फ क्यूआरमार्फत हुने कारोबारमा पनि कमी आएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार कात्तिकमा क्यूआरमार्फत कुल २ लाख ४१ हजार ८१८ पटक कारोबार भएको छ । जुन अघिल्लो महिनाको तुलानमा कम हो ।

असोजमा क्यूआरमार्फत २ लाख ६५ हजार १२५ पटक कारोबार भएको थियो । कारोबार संख्यासँगै कारोबार रकममा पनि कमी आएको छ ।

असोज महिनामा क्यूआरमार्फत ९६ करोड ९० लाख रुपैयाँको कारोबार भएकोमा कात्तिकमा घटेर ९३ करोड ९० लाख रुपैयाँको मात्र कारोबार भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०