close

‘स्टार्टअपमा पर्याप्त सम्भावना छ, लगानी बढाऔं, प्रक्रिया सहज तुल्याऔं’

टेकपाना टेकपाना

पुस ८, २०७७ १८:९

‘स्टार्टअपमा पर्याप्त सम्भावना छ, लगानी बढाऔं, प्रक्रिया सहज तुल्याऔं’

काठमाडौं । नेपालमा डिजिटल उद्यमशीलता प्रवर्द्धनका लागि आवश्यक पूँजी, ज्ञान र सञ्जालको पहुँचमा सरोकारवालाहरुले जोड दिएका छन् । एसियाली विकास बैंक (एडीबी) र नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार संयुक्त रुपमा आयोजना गरेको भर्चुअल कार्यक्रममा सहभागिले यसका लागि उपयुक्त वातावरण बनाउनुपर्ने बताएका हुन् ।

अहिले मोबाइल सेवामा रहेको उच्च पहुँच, घट्दो डेटा शुल्क र युवाहरुको पर्याप्त संख्याले नेपालमा डिजिटल सेवा विस्तारको लागि महत्वपूर्ण आधार तयार पारेको छ । प्रविधिमा आधारित साना तथा मझौला उद्योगहरुको व्यापक वृद्धिको प्रारम्भिक अनुभवले पनि नेपालमा यसको भविष्य विस्तार हुने सम्भावना उच्च देखाएको हो ।

आवश्यकतामा आधारित व्यवसायिक मोडलमा रहेको रिक्तता यस किसिमका उद्यमशिलताले पूर्ति गर्ने उनीहरुको भनाइ थियो । कार्यक्रममा यस किसिमका केही व्यवसायहरु असफल हुन सक्ने भएपनि भविष्यमा उनीहरुले आफ्नो अनुभवको आधारमा अन्य भौगोलिक अवस्थामा स्थानीय बजारमा नेतृत्वकर्ताको रुपमा उदाउन सक्ने वक्ताहरुको भनाई थियो ।

क्षेत्रीय र विश्वव्यापी रुपमा समेत यस किसिमका उद्यमशीलताले आफ्नो पहिचान बनाउन सक्ने सम्भावना रहेकोमा समेत सहभागिहरुले चर्चा गरेका थिए । राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयालले उद्यमशीलता विकासमा देखिएका समस्याको पहिचान गरेर त्यसको समाधानमा सरकार गम्भीर भएर लाग्ने बताए ।

उनले उद्यमशीलता विकासका लागि आर्थिक र नीतिगत सहयोग मात्र नभएर त्यसलाई प्रवर्द्धन गर्न सरकारले हौसला समेत प्रदान गर्ने बताए । यस्तै आयोगले १५ औं पञ्च वर्षीय योजनामार्फत उद्यमशील नागरिकको परिकल्पना गरेको र त्यसका लागि सहजीकरण गरिदिने समेत उनले जानकारी दिए ।

नेपालका लागि एडीबीका देशीय निर्देशक मुख्तोर खामुद खानोभले नेपालमा प्रविधिमा आधारित स्टार्टअपको क्षेत्रमा अवसर भएपनि आर्थिक र कानुनी चुनौतिलाई समाधान गरेर अनुकुल वातावरण बनाउन आवश्यक रहेको बताए ।

त्यस्तै नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले उद्यमशीलता विकासका लागि अहिले नै नियमन भन्दा पनि लगानीकर्ता र सञ्चालकलाई नै सम्झौतामा खुला छोडिएको बताए ।

उद्यमशीलताका लागि आवश्यक पूँजी जुटाउन साना तथा मझौला व्यवसायीलाई पनि बजारमा प्रवेश गराउने विषयमा छलफल समेत भइरहेको उनले जानकारी दिए । नेपालमा उद्यमशीलताका लागि विदेशी पूँजी ल्याउने विषयमा केही छलफल भएपनि उद्योग विभाग र राष्ट्र बैंकको प्रक्रिया पुरा गर्नुपर्ने चुनौति रहेको उनको भनाई थियो ।

कार्यक्रमको छलफल सत्रमा विलेम ग्रिमिकले नेपालमा उद्यमशीलता वृद्धिका लागि आवश्यक पूँजी लगानी गर्ने प्रवृत्ति धेरै नभएको गुनासो गरे । तर संकटको समयमा प्रविधिमा आधारित व्यवसायहरु नयाँ तरिकाबाट प्रवेश गरेकोले उद्यमशीलता विस्तार हुन सक्ने अवसर रहेको उनले बताए ।

यस्तै वित्तीय पहुँचको अभाव नै नेपालको उद्यशमीलताका लागि सबैभन्दा ठूलो अवरोध रहेको यूजी बजारकी प्रमुख कार्यकारी अधिकृत निकिता आचार्यले बताइन् । सफल पार्टनर्सका प्रबन्ध निर्देशक आसुतोष तिवारीले उद्यमशीलताको लागि समग्र इकोसिष्टम निर्माणमै काम गर्नुपर्ने अवस्था रहेको धारणा व्यक्त गरे ।

विप्रेषणको रकमलाई उद्यमशीलतामा प्रयोग गर्ने गरी नीगित व्यवस्था भए त्यसले धेरै सहयोग पुग्ने उनको भनाई थियो । विजनेस अक्सिजनकी लगानी प्रबन्धक ऋतु प्रधान मल्लले पूँजी जुटाउने सन्दर्भमा प्रक्रियागत कठिनाईले निकै समस्या पारेको बताइन् ।

कार्यक्रमा डिजिटल उद्यमशीलताको विस्तारका लागि कानुनी तथा नियमन प्रावधानहरुको आवश्यकतामा पनि सहभागीहरुले जोड दिएका थिए । डिजिटल उद्यमशीलताको लागि विशेषत निजी क्षेत्रको नेतृत्वमा साना तथा मझौला उद्योगहरुको प्रवर्द्धनमा सहयोगी हुने किसिमका कानुनी व्यवस्थाहरुको माग उनीहरुले गरेका छन् ।

परम्परागत रुपमा सञ्चालित साना तथा मझौला व्यवसायलाई प्रविधिमा आधारित बनाउने र नयाँ स्टार्टअपमा लगानी भित्र्याउन सक्ने आधारमा कार्यक्रम केन्द्रीत रहेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०