close

आकर्षक फिचरसहित ह्वावे नोभा सिरिजका २ नयाँ स्मार्टफोन सार्वजनिक

टेकपाना टेकपाना

पुस ८, २०७७ २१:५३

आकर्षक फिचरसहित ह्वावे नोभा सिरिजका २ नयाँ स्मार्टफोन सार्वजनिक

काठमाडौं । ह्वावे नोभा ८ र नोभा ८ प्रो सार्वजनिक चीनको लोकप्रिय स्मार्टफोन निर्माता कम्पनी ह्वावलेले बुधबार दुई वटा फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले आकर्षक दुई स्मार्टफोन ह्वावे नोभा एट र ह्वावे नोभा एट प्रो सार्वजनिक गरेको हो ।

दुवै मोबाइलमा शक्तिशाली किरिन ९८५ एसओसी प्रोसेसर, ६६ वाट फास्ट चार्जिङ, ६४ मेगापिक्सेल क्वाड क्यामेरा सेटअप र १२० हर्ज रिफ्रेशरेट भएको डिस्प्ले जस्ता आकर्षक फिचर छन् । ह्वावेले आफ्नो ह्वावे नोभा एटलाई करिब ६० हजार सुरुवाती मूल्यका साथ सार्वजनिक गरेको छ ।

सँगसँगै नोभा एट प्रोको मूल्य भने ७२ हजार रुपैयाँदेखि सुरु हुन्छ । ह्वावे नोभा एटको ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य चीनमा तीन हजार २९९ युआन (५९ हजार ३८२ रुपैयाँ) राखिएको छ ।

सँगसँगै यसको ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेजका लागि ३,६९९ युआन (६६ हजार ५८२ रुपैयाँ) छ । ह्वावे नोभा एट प्रोको ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ३,९९९ युआन (७१ हजार ९८२ रुपैयाँ) रहेको छ भने ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ४३९९ युआन (७९ हजार १८२ रुपैयाँ) छ ।

ह्वावेले यी दुवै स्मार्टफोन हाललाई चीनमा सार्वजनिक गरेको हो । आउँदो जनवरीदेखि यी स्मार्टफोन अन्य देशमा समेत सार्वजनिक हुने बताइएको छ ।

ह्वावेका यी दुवै मोबाइलमा विभिन्न आकर्षक फिचर छन् । नोभा एटमा ६.५७ इन्चको ओएलईडी डिस्प्ले राखिएको छ ।

जसको स्क्रिन रेजोलुसन १०८० बाई २३४० पिक्सेल रहेको छ । यो फोनको डिस्प्ले रिफ्रेश रेट ९० हर्ज छ ।

साथै नोभा एट प्रोमा ६.७२ इन्चको ओएलईडी डिस्प्ले दिइएको छ । जसको स्क्रिन रेजोलुसन १२३६ बाई २६७६ पिक्सेल छ । नोभा एट प्रोको डिस्प्ले रिफ्रेश रेट भने १२० हर्ज रहेको छ ।

यी दुवै फोनमा कर्भ्ड एज भएको डिस्प्ले राखिएको छ । ह्वावे नोभा एट तथा नोभा एट प्रोमा २.५८ गिगाहर्ज किरिन ९८५ प्रोसेसर राखिएको छ ।

जसले राम्रो स्पिड तथा पर्फमेन्सका दिलाउँछ । एन्ड्रोइड टेनमा आधारित ह्वावेका यी दुई स्मार्टफोनमा ६४ मेगापिक्सेलको प्राइमरी सेन्सर सहितको क्वाड क्यामेरा सेटअप (चार वटा क्यामेरा भएको) रहेको छ ।

जसमा सेकेन्डरी क्यामेरा ८ मेगापिक्सेलको रहेको छ । जुन अल्ट्रा वाइड लेन्स हो । साथै यसमा दुई दुई मेगापिक्सेलका म्याक्रो लेन्स र डेप्थ सेन्सर समेत राखिएका छन् ।

नोभा एटमा ३२ मेगापिक्सेलको सिंगल सेल्फी क्यामेरा दिइएको छ भने नोभा एट प्रोमा डुअल सेल्फी क्यामेरा राखिएको छ । जसमा प्राइमरी सेन्सर ३२ मेगापिक्सेल तथा सेकेन्डरी सेन्सर १६ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स छ ।

नोभा एटमा ३८०० एमएएच क्षमताको तथा नोभा एट प्रोमा ४००० एमएएच क्षमताको ब्याट्री दिइएको छ । दुवै फोनमा ६६ वाट फास्ट चार्जिङको सपोर्ट समेत छ । यी दुवै स्मार्टफोन ब्ल्याक, ग्रिन, पर्पल र ग्रेडियन्ट ह्वाइट कलर अप्सनमा सार्वजनिक भएका छन् ।

एजेन्सी ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०