close

शनिवार आईसीटी अवार्ड २०२० को ग्रान्ड फिनाले, १२ विधामा अवार्ड वितरण हुँदै

टेकपाना टेकपाना

पुस ९, २०७७ १२:१७

शनिवार आईसीटी अवार्ड २०२० को ग्रान्ड फिनाले, १२ विधामा अवार्ड वितरण हुँदै

काठमाडाैं । सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्डको पाँचाैं संस्करणकाे ग्राण्ड फिनाले शनिवार होटल सोल्टी क्राउन प्लाजामा आयोजना हुँदै छ । बिहीबार राजधानीमा एक पत्रकार सम्मेलनमा गर्दै आयोजक लिभिङ विथ आईसीटीले अवार्डकाे तयारी पुरा भएकाे जानकारी दिएकाे छ ।

ह्वावेकाे शीर्ष प्रायाेजन रहेकाे आईसीटी अवार्ड २०२० को ग्राण्ड फिनालेको हिमालय टेलिभिजन, डिशहोमका च्यानल, अनलाइन, हाम्रो पात्रो एप, फेसबुक र युट्युबबाट समेत प्रत्यक्ष प्रसारण हुनेछ ।

सोल्टी क्राउन प्लाजामा आयोजना हुने फिनालेमा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर अवार्डका प्रतिस्पर्धी र सीमित अतिथिको बीचमा कार्यक्रम सम्पन्न गरिनेछ ।

कोरोना महामारीकों कारण यस वर्षको आईसीटी अवार्ड नियमित समयभन्दा ढिलो भए तापनि अवार्ड अझ परिष्कृत रूपमा सम्पन्न हुने आयोजकको विश्वास छ ।

अवार्डमा गत वर्षभन्दा ३ गुणा बढी नोमिनेशन प्राप्त भएको र छनौट प्रक्रियाका लागि नै ४ महिनाको समय व्यतित गरिएको बताइएकाे छ । यसअन्तर्गत २५ भन्दा बढी जुरी मिटिडहरू सम्पन्न भएका छन् । अधिकांश जुरी छनौट प्रक्रिया र मिटिङहरू सूचना प्रविधिको अधिकतम प्रयोग गरी भर्चुअल रूपमा सम्पन्न भएका छन् ।

अवार्डमा विभिन्न ११ विधाहरू रहेको भए तापनि एक विधा थप गरेर जुरी मेन्सन आईसीटी अवार्ड २०२० पनि प्रदान गरिनेछ ।

यस वर्ष ३५० बढीको अनलाइन नोमिनेशन प्राप्त भएको थियो भने जुरी सल्लाहकारवाट पनि नोमिनेशन गरिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०