close

आजदेखि अनलाइनबाटै यसरी लिनुहाेस् श्रम स्वीकृति

टेकपाना टेकपाना

पुस १७, २०७७ १४:२३

आजदेखि अनलाइनबाटै यसरी लिनुहाेस् श्रम स्वीकृति

काठमाडाैं । आजदेखि अनलाइनबाट श्रम स्वीकृति लिन पाइने भएकाे छ । लामो तयारीपछि सरकारले अनलाइनबाटै पुनः श्रम स्वीकृति दिने भएको हाे ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपालीले विदेशबाट समेत यस्तो सेवा लिन सक्नेछन् ।

उनले म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइनबाटै श्रम स्वीकृतिका लागि आवेदन दिपर्ने जानकारी दिए ।

योसँगै विदामा नेपाल आएका र विदेशमै रहेको नेपालीले कार्यालयसम्म धाइरहनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

यो सुविधा प्राप्त गर्न श्रमिकहरुले वैदेशिक रोजगार विभागले तोकेका अनलाइन भुक्तानी सेवाहरु खल्ती, ईसेवामार्फत तिर्नुपर्नेछ । साथै श्रमिकहरुले बिमा तथा वैदेशिक रोजगार कल्याणकारी कोषको रकम समेत तिनै भुक्तानी सेवाबाट तिर्न सक्नेछन् ।

शुल्क भुक्तानी गरेपछि श्रमिकको ईमेलमा श्रम स्वीकृति नवीकरण भएको सन्देश आउनेछ । भिसा अवधि थपेर विदेशमा बस्न चाहनेहरु यो अनलाइन सेवा मार्फत लाभान्वित हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागको अनलाइन प्रणालीबाट आँखाको स्क्यान तथा औँठाछाप स्क्यान गरेर श्रम स्वीकृति लिएकाले अनलाइनबाट पुनः श्रम स्वीकृति लिन सक्ने बताइएकाे छ

यसका लागि विभागको वेबसाइटको अनलाइन श्रम स्वीकृतिमा क्लिक गरी फारम भर्न सकिनेछ । फारम भरिसकेपछि चाहेकाे शाखा छनाैट गर्नुपर्छ ।

श्रम स्वीकृतिका लागि आवेदन गर्दाको ‘युजरनेम’ र ‘पासर्वड’ सुरक्षित राख्न पनि विभागले अनुरोध गरेको छ । श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको इमेलमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुनेछ । आवेदक आफैंले आवश्यकतानुसार प्रिन्ट गरेर राख्न सक्ने विभागले जनाएको छ ।

विभागले यसअघि नै म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम अनलाइन भुक्तानी गर्ने व्यवस्था मिलाइसकेको छ ।

बीमा र कल्याणकारी कोषको रकम अनलाइनबाट भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने विभागले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०