close

भुटानमा विश्वकै सस्तो इन्टरनेट हुँदा नेपालमा भयो २ वर्षयताकै महंगो

टेकपाना टेकपाना

पुस २२, २०७७ १७:२

भुटानमा विश्वकै सस्तो इन्टरनेट हुँदा नेपालमा भयो २ वर्षयताकै महंगो

काठमाडौं । छिमेकी देश भुटानमा इन्टरनेटको मूल्य विश्वकै सस्तो हुँदा नेपालमा भने  महंगिएको छ । केवल डट यूकेको तथ्याङ्क अनुसार भुटान विश्वको चौथो सस्तो मुलुकमा पुग्दा नेपालमा भने इन्टरनेटको मूल्य दुई वर्ष अघिकोभन्दा बढी महंगो भएको हो ।

भुटानमा इन्टरनेटको मासिक प्याकेजको ‍औषत मूल्य ८.७१ डलर रहेको छ । भुटान दुई वर्षको अवधिमा विश्वव्यापी रुपमा फिक्स्ड लाइन ब्रोडब्याण्ड प्राइस लिगमा छैटौंबाट दुई स्थानमाथि उक्लिँदै चौथो नम्बरमा पुगेको हो । 

त्यसो त विश्वव्यापी रुपमा नै इन्टरनेटको मूल्य घट्दो क्रममा छ र स्पीड नियमित रुपमा बढ्दै गएको छ । तर नेपालमा भने इन्टरनेटको स्पीडमा ग्राहकको गुनासो कायमै रहँदा त्यसमाथि मूल्य समेत बढ्न पुगेको छ । 

तथ्याङ्क अनुसार नेपालमा फिक्स्ड लाइन इन्टरनेटको मासिक औषत मूल्य सन् २०१८ को अन्त्यमा १२.०५ अमेरिकी डलर रहेकोमा सन् २०२० को अन्त्यमा बढेर १३.१५ डलर (१५ सय ४७ रुपैयाँ) पुगेको छ ।

यस अवधिमा अन्य देशका इन्टरनेट सस्तिँदा नेपालको भने उल्टै १.१० अमेरिकी डलर महंगो हुन पुगेको तथ्याङ्कमा उल्लेख छ ।   

इन्टरनेट मूल्य बढेसँगै नेपाल २११ मुलुक सहभागी विश्वव्यापी ब्रोडब्याण्ड प्राइसिङ लिगमा समेत पछाडि धकेलिएको छ । सन् २०१८ मा विश्वकै १४ औं सस्तोमा पर्ने नेपालको फिक्स इन्टरनेट हाल आएर १८ औं स्थानमा पुगेको हो । 

इन्टरनेटको मूल्यमा एसिया क्षेत्रको अवस्था विश्वमा मध्यम किसिमको रहेको छ । यस क्षेत्रमा नेपाल सहित भुटान, श्रीलंका, इरान, मंगोलिया, भियतनाम, चीन र भार विश्वकै सस्तो इन्टरनेट भएका २० मुलुकभित्र पर्दछन् । 

सस्तो इन्टरनेटको कुरा गर्दा त्यो फास्ट नै हुन्छ भन्ने चाहिँ होइन । इरान, नेपाल र कार्गिस्तान सस्तो इन्टरनेट दिने मुलुकमा परेपनि इन्टरनेट स्पीड भने तुलनात्मक रुपमा स्लो रहेको केवल यूकेले जनाएको छ । केवल यूके लगायतको सर्वेक्षणमा नेपालको इन्टरनेट स्पीड विश्वमा १५० औं स्थानमा छ । 

बुल्गेरिया र हङ्गेरी यस्ता अपवाद देश हुन्, जहाँ इन्टरनेट फास्टमात्रै होइन सस्तो पनि छ । व्यापक रुपमा विस्तार गरिएको एफटीटीएच नेटवर्कले नै ती देशहरुलाई त्यो स्तरमा पुर्‍याएको हो । एसियाकै लाओस, हङकङ, टिमोरलेस्ट, माल्दिभ्स र ब्रुनाइ दरुसलम जस्ता देश विश्वकै महंगो इन्टनेट भएका देशमा पर्दछन् ।

नजिकैको छिमेकी भारतमा समेत फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट नेपालभन्दा महंगो छ । विश्वमा २० औं स्थानमा रहेको भारतमा इन्टरनेट प्याकेजको औसत मूल्य १३.५८ डलर (करिब १६ सय रुपैयाँ) रहेको छ । 

कहाँ छ विश्वकै सस्तो इन्टरनेट ?

विश्वकै सस्तो इन्टरनेट हुन टप फाइभ मुलुकमा युक्रेन, सिरिया, रसियन फेडेरेसन, भुटान र श्रीलंका रहेका छन् । जहाँको इन्टरनेट प्याकेजको औसत मूल्य क्रमशः ६.४१ डलर, ६.६९ डलर, ७.५० डलर, ८.७१ डलर र ९.५८ डलर रहेको छ ।

यी मुलुकमा छ विश्वकै महंगो इन्टरनेट

उपभोक्ताले प्रयोग गर्ने इन्टरनेट विश्वमै महंगो हुने टप फाइभ मुलुकहरुमा पाँचदेखि एकसम्म क्रमशः एरिटेरिया, मौरिटानिया, कोमोरस, मकाउ र घाना रहेका छन् । राजनीतिक वातावरण, युद्ध, कमजोर आर्थतन्त्र र पूर्वाधार निर्माणमा धेरै लागत पर्ने आदि कारणले गर्दा ती देशमा इन्टरनेट महंगो हुन पुगेको हो । 

एरिटेरियामा एक महिनाको औषत इन्टरनेट प्याकेज २,६६६.२४ अमेरिकी डलरसम्म तिर्नुपर्ने हुन्छ । जहाँको सबैभन्दा सस्तो प्याकेज नै मासिक प्रति एमबीपीएस २५१.१३ डलर तिर्नुपर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१