close

ट्वीटरका सीईओ भन्छन् – ट्रम्पको अकाउन्ट ब्लक गर्दा खुशी छैनौं

टेकपाना टेकपाना

माघ १, २०७७ २०:४६

ट्वीटरका सीईओ भन्छन् – ट्रम्पको अकाउन्ट ब्लक गर्दा खुशी छैनौं

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आधिकारिक ट्वीटर ह्याण्डललाई निलम्बन गर्ने कम्पनीको कदमबारे ट्वीटरका सीईओ ज्याक डोर्सेले पहिलोपटक सार्वजनिक रुपमा बोलेका छन् । 

श्रृंखलाबद्ध ट्वीटहरुमा ट्रम्पको हिंसा भड्काउ अभिव्यक्तिका कारण देशमा देखिएको चरम अवस्था र त्यसको सम्भावित नकारात्मक दीर्घकालीन परिणामलाई ध्यानमा राखेर ट्वीटरले सही निर्णय लिएको उनले बताए । साथै उनले सोसल मिडियाहरुलाई पोलिस गर्ने थप प्रयासहरुका बारेमा समेत वकालत गरेका छन् । 

ट्रम्पको ट्वीटर अकाउन्ट निलम्बन गरेकोमा कम्पनीलाई कुनै गर्व महसुस नभएको र स्पष्ट चेतावनीपछि मात्र आफूहरुले यस्तो कदम उठाएको उनले बताए ।  

‘ट्वीटरले सही निर्णय लिएको विश्वास मलाई छ । हामीले एकदमै अप्ठ्यारो र नियन्त्रणभन्दा बाहिरको स्थिति सामना गरिरहेका थियौं । सार्वजनिक सुरक्षामा केन्द्रित हुन हामी बाध्य थियौं । अनलाइन स्पिचका कारण अफलाइन घटना भएको थियो । यसैले हामीले हाम्रो नीति र शर्तलाई प्राथमिकतामा राखेर काम गरेका हौं,’ डोर्सेले भने । 

यद्यपि डोर्सेले ट्रम्पलाई ब्लक गर्नु आफूले चाहेको उपायभन्दा विपरित भएको पनि स्विकार गरेका छन् । सो कदमले स्वस्थकर सञ्चारको ट्वीटरको उद्देश्यलाई समेत असफल बनाएको उनी मान्छन् । 

‘यो कदमले सार्वजनिक सञ्चारलाई क्षयीकरण गरेको छ । हामीमाझ विभाजन ल्याएको छ । स्पष्टिकरण, गल्ति महसुस र सिकाईको सम्भावनालाई सीमित बनाएको छ,’ उनले भने ।  

उनले यो कम्पनीको अपरेसन र बाहिरको वातावरण दुबैलाई हेर्नुपर्ने समय रहेको बताए । 

गत हप्ता ट्वीटर निलम्बनपछि फैसबुक र अर्को कम्पनी इन्स्टाग्रामले पनि ट्रम्पमाथि प्रतिबन्ध लगाएको थियो । यति ठूलो सार्वजनिक व्यक्तित्व माथि सामाजिक सञ्जालले एकैपटक धावा बोलेको यो पहिलोपटक हो । 

ठूला सोसल मिडिया प्लेटफर्मको निलम्बनमा परेपछि ट्रम्प समर्थकहरु चरम दक्षिणपन्थी सोसल मिडिया प्लेटफर्म पार्लर र ग्याबतिर सरेका थिए । यी एपहरु वाक् तथा अभिव्यक्ति स्वतन्त्रताका लागि आफूलाई अब्बल प्लेटफर्म ठान्छन् । 

यसमाथि टिप्पणी गर्दै डोर्सेले सार्वजनिक सञ्चारमा ट्वीटरको क्षमतालाई मानिसहरुले पार्लर र ग्याब जस्ता साइटहरुसँग दाँजेको बताएका छन् । जुन उनको विचारमा चुनौतीपूर्ण छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१