close

कस्ता विद्यार्थीले पढ्न पाउँछन् बिएससी सीएसआईटी ?

टेकपाना टेकपाना

माघ ४, २०७७ १७:४३

कस्ता विद्यार्थीले पढ्न पाउँछन् बिएससी सीएसआईटी ?

काठमाडौं । कम्प्युटर विज्ञान र सूचना प्रविधिका विषय समावेश गरेर त्रिभुवन विश्वविद्यालयले तयार पारेको शैक्षिक कार्यक्रम हो, सीएसआईटी । स्नातक तहमा आईटी पढ्न चाहने विद्यार्थीका लागि यो शैक्षिक कार्यक्रम पनि एक राम्रो विकल्प हुन सक्छ ।

८ सेमेस्टर (४ वर्ष) अध्यापन गराइने बिएससी सिएसआइटी नेपालमा ५३ वटा कलेजहरुले पढाइरहेका छन् । यस कार्यक्रममा पनि कम्प्युटर इन्जिनियरिङमा जस्तै कम्प्युटर सिस्टम, एप्लिकेसन, प्रोग्रामिङजस्ता विषय पढाइ हुन्छ ।

कम्प्युटर विज्ञान र आईटीलाई समायोजन गरेर १२६ क्रेडिट आवरको याे काेर्ष डिजाइन गरिएको छ । यसमा हार्डवेयरको विषय थोरै र सफ्टवेयरको विषय धेरै समावेश छ । ७० क्रेडिट आवरभन्दा बढी कम्प्युटर विज्ञानको कोर्ष यसमा छ ।

१५ क्रेडिट आवर इलेक्टिभ्स, १२ क्रेडिट आवर न्याचुरल साइन्स, ६ क्रेडिट आवर म्यानेज्मेन्ट, ६ क्रेडिट आवर म्याथ, ३ क्रेडिट आवर टेक्निकल राइटिङ र ९ क्रेडिट आवर प्रोजेक्ट तथा इन्टर्नशिपका लागि छुट्याइएको छ ।

विद्यार्थीले विज्ञान संकाय लिएर उच्च मावि तह (कक्षा ११ र १२) पुरा गरेको वा त्रिभुवन विश्वविद्यालयले मान्यता दिने अन्य विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थाबाट प्ल्स टु सरहको अध्ययन पूरा गरेका विद्यार्थीले स्नातकमा याे कार्यक्रम पढ्न पाउँछन् ।

प्लस टु वा सोसरहको तहमा कम्तीमा दोस्रो श्रेणीमा उत्तीर्ण गरेको विद्यार्थी सीएसआईटी पढ्न याेग्य हुन्छन् । त्यसपछि त्रिविले लिएको इन्ट्रान्स परीक्षामा कम्तीमा ३५ प्रतिशत अंक ल्याई उत्तीर्ण हुनुपर्छ ।

प्लस टु तहमा बायोलोजी र म्याथम्येटिक्स दुवै समूहका विद्यार्थीहरु पनि यो कोर्ष अध्ययनका लागि योग्य हुन्छन् ।

याे विषय पढेपछि सिस्टम एनालिस्ट, सिस्टम एडमिनिस्ट्रेटर, सिस्टम म्यानेजर, प्रोजेक्ट म्यानेजर, सफ्टवेयर प्रोग्रामर, डेटाबेस डिजाइनर, डेटाबेस एडमिनिस्ट्रेटर, नेटवर्क एडमिनिस्ट्रेटर, ग्राफिक्स डिजाइनर, वेब डेभलपर, वेब डिजाइनर लगायत विभिन्न भूमिका रहेर काम गर्न सकिन्छ ।

त्यस्तै आईटी अफिसर, इन्फरमेसन सेक्युरिटी एनालिस्ट, इन्फरमेशन सिस्टम अडिटर, क्रिप्टोग्राफर, एप्लिकेसन डेभलपर, टेलिकम्युनिकेसन इन्जिनियर, सफ्टवेयर क्यालिटी अस्युरेन्स इन्जिनियर, टेक्निकल कन्टेन्ट राइटरलगायतको रुपमा पनि काम गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१