close

सिग्नलको समस्या समाधान, अब प्राविधिक समस्या नदेखिने कम्पनीको दाबी

टेकपाना टेकपाना

माघ ६, २०७७ १३:४२

सिग्नलको समस्या समाधान, अब  प्राविधिक समस्या नदेखिने कम्पनीको दाबी

काठमाडाैं । म्यासेजिङ एप सिग्नलमा देखिएको प्राविधिक समस्या समाधान भएको कम्पनीले जनाएको छ । केही दिनयता तीव्र रुपमा प्रयोगकर्ता थपिएपछि सिग्नलमा प्राविधिक समस्या देखिएको थियो ।

ह्वाट्सएपमा गोपनीयताको विषय देखाउँदै प्रयोगकर्ताले सिग्नल एप प्रयोग गर्ने क्रम बढेपछि यो एपमा प्राविधिक समस्या देखिएको हो । शुक्रवारयता सिग्नलको मोबाइल र डेस्कटप एप दुवैमा म्यासेज नजाने र नआउने समस्या देखिएको थियो ।

गत साता फेसबुक स्वामित्वमा रहेको लोकप्रिय म्यासेजिङ एप ह्वाट्सएपले आफ्नो गोपनीयता नीति परिवर्तन गरेपछि प्रयोगकर्ता सिग्नलतर्फ आकर्षित भइरहेका छन् । कम्पनीले धेरै प्रयोगकर्ता हुँदा आएको प्राविधिक समस्या समाधान भएको भन्दै कुनै समस्या देखिए रिपोर्ट गर्न आग्रह गरेको छ ।

ह्वाट्सएपले परिवर्तन गरेको गोपनीयता नीतिका कारण सिग्नलसँगै अर्को म्यासेजिङ एप टेलिग्राम पनि लाभान्वित भएको छ । यी दुवै एपको सक्रिय प्रयोगकर्ता एक सातायता ह्वात्तै बढेका छन् ।

ह्वाट्सएपले आफ्नो सेवा प्रयोग गर्ने भए आफ्नो मातृ कम्पनी फेसबुकसँग तथ्यांक सेयर गर्नुपर्ने गरी आफ्नो गोपनीयता नीति परिवर्तन गरेको थियो ।

तर, यो नीतिको तीव्र विरोध हुनुको साथै प्रयोगकर्ताले प्लेटफर्म छाड्न थालेपछि ह्वाट्सएपले यो नीति कार्यान्वयन गर्ने मिति पर धकेलेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३