close

नेपालकै पहिलो अनलाइन टु अफलाइन ईकमर्स सुरु गर्दै साथीमार्ट

टेकपाना टेकपाना

माघ ९, २०७७ १२:३३

नेपालकै पहिलो अनलाइन टु अफलाइन ईकमर्स सुरु गर्दै साथीमार्ट

काठमाडौं । नेपालमा पहिलो पटक अनलाइन टु अफलाइन (ओ टु ओ) ईकमर्स सञ्चालनमा आउने भएको छ । नेपालका गाउँदेखि सहरसम्म अर्डर गरेकै दिन डेलिभरी दिने गरी साथीमार्टले ओटुओ अनलाइन शपिङ सेवा सुरु गर्ने भएको हो ।

‘अब जमाना स्मार्ट शपिङको’ नारा लिएको साथीमार्टले अनलाइन र अफलाइन (ओ टु ओ) दुवै शपिङमा प्राथमिकता दिएर काम गरिहेको बताइएको छ । साथीमार्टले नेपालका उत्पादनलाई विशेष प्राथमिकता दिने कम्पनीका संस्थापक तथा सीईओ सागर  पोख्रेलले बताए।

बेरोजगार तथा नेपालमै बसेर केही गर्ने सोच भएका युवाहरुलाई लक्षित गरी साथीमार्टले बिना लगानी व्यापार सुरु गर्न सकिने र ‘रेफर एण्ड अर्न’ (अन्य व्यक्तिलाई रिफर गर्दा आम्दानी गर्न सकिने) गर्ने गरी ‘साथीमार्ट एफिलिट स्टार्टअप प्लान’ मार्फत यसै वर्ष कम्तिमा ३० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य राखेको पोख्रेलले बताए ।

अनलाइन शपिङका लागि आउँदो फेब्रुअरीमा साथीमार्टको मोबाइल एप आउने र त्यससँगै सेवा सुरु हुने बताइएको छ । नेपाली युवाले सुरु गरेको स्टार्टअप कम्पनी साथीमार्टबाट उपभोक्ताले सस्तो र सुलभ तरिकाले शपिङ गर्न पाउनुका साथै लाइफ टाइम डिस्काउन्ट कार्ड, गिफ्ट भौचर, मासिक शपिङ योजना, लक्की ड्र कुपन, देशविदेश भ्रमणको अवसर समेत पाउनेछन् ।

विभिन्न स्थानमा आफ्ना फ्रेन्चाइज पार्टनरलाई प्रवर्द्धन गर्दै अगाडि बढेको साथीमार्टले साधारण मार्ट वा पसलकै लगानीमा अनलाइन, अफलाइन रिटेल आउटलेट, डिस्ट्रिब्युटर्स लगायत चार तरिकाबाट  मुनाफा हासिल गर्न सकिने जनाएको छ । साथीमार्टले हाललाई नि:शुल्क फ्रेन्चाइज प्रदान गर्दै आइरहेको पोख्रेलले बताए ।

फ्रेन्चाइज पार्टनर बन्नको लागि उपभोक्ताले साथीमार्टको अफिसियल वेबसाइट र साथीमार्टको आधिकारी फेसबुकमार्फत अनलाइन निवेदन दिन सक्नेछन् । पुराना एकल पसलको युग विश्वव्यापी रुपमा नै समाप्त हुँदै गइरहेको भन्दै नेपालमा पनि चेन सुपरमार्केट सुरु हुने दिशामा अगाडि बढेको छ ।

७० प्रतिशत इन्टरनेट प्रयोगकर्ता भइसकेको अवस्थामा डिजिटल मार्टको युग सुरु हुने विश्वास साथीमार्टले लिएको छ । यसै वर्ष भदौ २९ गते राजधानीको बौद्धमा पहिलो आउटलेट सुरु गरेको साथीमार्टले पाँच महिना पुरा नहुँदै देशभर ६१ वटा आउट्लेट सञ्चालनमा ल्याएको छ । 

काकडभिट्टादेखि धनगढीसम्मका प्रमुख सहरमा आउट्लेट सञ्चालनमा ल्याउन सफल भएको साथीमार्टले हालसम्म सुपरमार्केटको अभ्यास नभएका अर्घाखाँची, जिरी, गल्छी, दार्चुला जस्ता विभिन्न ठाउँहरुमा उपभोक्ताहरुलाई ’सुपरमार्केट कल्चर’ सिकाउन थालेको छ ।

साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सीईओ सागर पोख्रेलका अनुसार साथीमार्टमा कर्पोरेट अफिस र आउटलेटहरुमा गरी हालसम्म ३ सय ५० जनाभन्दा बढिले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

साथीमार्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका  ग्रोसरी, सरसफाइका सामान, बेभरेज, स्न्याक्स, दुग्धजन्य उत्पादन, फ्रोजन खाद्य, उपहार, ब्रेकफास्ट आइटम लगायत विभिन्न सामग्रीहरु उपलब्ध छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३