close

देशभर मोबाइल र इन्टरनेटको गुणस्तर परीक्षण गर्दै प्राधिकरण, पहिलो चरणमा छानिए ६ कम्पनी

टेकपाना टेकपाना

माघ १३, २०७७ १५:४१

देशभर मोबाइल र इन्टरनेटको गुणस्तर परीक्षण गर्दै प्राधिकरण, पहिलो चरणमा छानिए ६ कम्पनी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले देशभर एकैपटक दूरसञ्चार सेवाको गुणस्तर परीक्षण गर्ने भएको छ । दूरसञ्चार क्षेत्रको नियमनकारी निकायको रुपमा रहेको प्राधिकरणले भ्वाइस, डेटा तथा इन्टरनेट सेवाको गुणस्तर मापन गर्न लागेको हो ।

यसका लागि प्राधिकरणले यसअघि कात्तिकमा बाेलपत्र आह्वान गरेको थियो । प्राप्त बोलपत्र मध्येबाट मूल्याङ्कन गरी पहिलो चरणमा ६ वटा कम्पनी छनोट भएका छन् ।

यसअन्तर्गत महाकाली मेची टेक्नोलोजी एण्ड सप्लायर्स, प्रोफेसनल बिजनेशन नेटवर्क, स्मार्ट म्यानेजमेन्ट एण्ड रिसर्चको जेभीका रुपमा जय वागेस्वरी कन्ट्रक्सन एण्ड सप्लायर्स, ई-कोइल प्रालिको जेभीका रुपमा जलजला बिल्डर्स एण्ड इन्फ्रास्ट्रक्चर प्रालि रहेका छन् ।

त्यस्तै इन्क्लुसिभ एभरेस्ट माइक्रोटेक र इन टेल्को सोलुसन प्रालि पनि छनाेट भएका छन् । पहिलो चरणमा छनोट भएका यी कम्पनीसँग अब आर्थिक र प्राविधिक प्रस्ताव माग गरिनेछ ।

उनीहरुबाट आएको प्रस्तावको मूल्याङ्कन गरी त्यसबाट उत्कृष्ट कम्पनी छनोट गरिने प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्रले बताए ।

उनका अनुसार अन्तिम चरणमा छनोट हुने कम्पनीले प्राधिकरणले तोकेको मोबाइल, टेलिफोन, डेटा तथा इन्टरनेट सेवाको न्यूनतम गुणस्तरका आधारमा देशभर सेवाको अनुगमन गर्नेछ ।

त्यस्तै कम्पनीले बुझाएको प्रतिवेदनका आधारमा गुणस्तर कायम नगर्ने सेवा प्रदायकलाई प्राधिकरणले आवश्यक कारबाही गर्नेछ ।

यसबाट उपभोक्ताले भ्वाइस, डेटा तथा इन्टरनेट सेवा निश्चित स्थान र समयमा कस्तो गुणस्तरको पाइरहेका छन् र त्यस्ता सेवा नियामकको मापदण्ड अनुरुप भए/नभएको भनेर परीक्षण हुनेछ । यसका लागि प्राधिकरणले ६० लाख बजेट विनियोजन गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४