close

अब कुलेश्वरमा फलफूल किन्दा क्यूआरबाटै भुक्तानी गर्न मिल्ने

टेकपाना टेकपाना

माघ १६, २०७७ १३:२४

अब कुलेश्वरमा फलफूल किन्दा क्यूआरबाटै भुक्तानी गर्न मिल्ने

काठमाडौं । काठमाडौंको कुलेश्वरमा रहेको फलफूल बजारमा अब क्यूआर स्क्यान गरेरै तरकारी तथा फलफुल किन्न सकिने भएको छ । शुक्रबार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नविल बैंकले राखेको उक्त क्यूआर सेवाको सुरुवात गरेका हुन् ।

यससँगै अब फलफूल बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप वा मोबाइल वालेट मार्फत क्यूआर स्क्यान गरेकै भरमा सजिलै फलफूल तथा तरकारीको रकम भुक्तान गर्न सक्नेछन् । उक्त कार्यक्रममा राष्ट्र बैंकका गभर्नर अधिकारीले विभिन्न फलफूल पसलको अवलोकन र निरीक्षण समेत गरेका थिए ।

त्यसक्रममा उनले केही फलफूल पसलमा फलफूल खरिद गरी मोबाइल बैंकिङको क्यूआर कोडमार्फत भुक्तानी समेत गरेका थिए । नगद र डेबिट तथा क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ ।

छिटो र कारोबारमा थप शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरु यो नवीन सेवातर्फ आकर्षित भइरहेका छन् ।

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो ।

अहिले बैंकको साथमा देशभर ७ सय ५० भन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठान रहेका छन् जुन हरेक दिन बढिरहेका छन् । ‘क्यूआर कोड भुक्तानी सेवा एक नवीन भुक्तानी प्रणाली हो,’ कार्यक्रममा गभर्नर अधिकारीले भने, ‘विशेष गरी कोभिडको महामारीको कारणले यसको आवश्क्ता बढाएको हो ।’

यसैगरी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पछिल्लो केही वर्षदेखि हामीले नेपालमा भुक्तानी प्रणालीमा नया“पन देख्न थालेको र जसको परिणाम उपभोक्ता विस्तारै–विस्तारै नगदबाट डिजिटल भुक्तानतर्फ परिवर्तन भइरहेको पाइएको बताएका छन् ।

उनले भने, ‘अझै पनि कारोबारको ठूलो हिस्सा नगदमा नै हुन्छ । आजको डिजिटल युगमा नविनतम टेक्नोलोजीको विकास गर्नु आवश्यक छ जसले डिजिटल भुक्तानीमा सहयोग गर्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४