close

उद्यमी बन्न चाहनेका लागि तीन प्रतिशत ब्याजदरमा १५ लाखसम्म ऋण पाउने अवसर

टेकपाना टेकपाना

माघ १८, २०७७ १७:४९

उद्यमी बन्न चाहनेका लागि तीन प्रतिशत ब्याजदरमा १५ लाखसम्म ऋण पाउने अवसर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले उद्यमी बन्न चाहनेका लागि बढीमा तीन प्रतिशत ब्याजदरमा १५ लाखसम्म ऋण दिने भएको छ । देशमै स्वरोजगारी सिर्जना गर्न विभिन्न निकायसँग सहकार्य गरी बैंकले सहुलियतपूर्ण कर्जाको सुविधा दिन लागेको हो ।

यसका लाग नवीनतम सोचमा आधारित युवाले आफ्नो अवधारणा पेश गर्नुपर्ने हुन्छ । सरकारले याे नयाँ अवसरको सदुपयोग गर्न युवा उद्यमीलाई आग्रह गरेको छ ।

आइतबार आयोजित युवा उद्यमशीलता प्रवर्द्धन कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले युवाले नयाँ अवसरको सदुपयोग गर्नुपर्ने बताए । युवा उद्यमशीलता विकासका लागि सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम अघि सारेको भनाइ उनकाे थियाे ।

बागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक, विशाल फाउण्डेशन र युनिग्लोव कलेजले संयुक्त रूपमा आयोजना गरेको साे कार्यक्रममा मन्त्री गुरुङले कोभिड १९ ले शिथिल भएको अर्थतन्त्र उकास्न र वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै देशमै रोजगारीका अवसर सृजना गर्न युवा उद्यमीलाई सहुलियतपूर्ण कर्जा कार्यक्रम अघि सारेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी निर्वतमान अध्यक्ष भवानी राणाले स्टार्टअप व्यवसाय गर्न चाहनेका लागि अहिले अवसर नै अवसर रहेको बताउँदै युवाहरुमा सोच, संकल्प, निरन्तरता र व्यवसायिक रणनीति हुनुपर्ने बताइन् ।

त्यस्तै बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष एवं वरिष्ठ उद्यमी पवन गोल्यानले ‘कम्फट जोन’मा बसेर समस्या देखाउनुभन्दा नयाँ अवसरहरुको उपयोग गर्न आग्रह गरे ।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सहुलियतपुर्ण कर्जा एकदमै सस्तो र सरल किसिमले पाउने भएकाले सदुपयोग गरी व्यवसाय गर्न आग्रह गरेका छन् ।

विशाल फाउण्डेशनका कार्यकारी निर्देशक एवं आइडिया कल कार्यक्रमका संयोजक विशाल गैरेले माघ मसान्तभित्र आफनो इनोभेटिभ आइडिया पठाउने युवाहरुलाई नि:शुल्क तालिम र सहुलियत कर्जा प्रदान गर्ने बताए ।

उनका अनुसार माघ महिनाभर उद्यमी बन्न चाहने युवाले नवप्रवर्तन प्रवर्द्धन प्रस्ताव (स्टार्टअप आइडिया कल) को www.startupideacall.org वेबसाइट मार्फत प्रस्ताव बुझाउन सक्नेछन् ।

त्यहाँ आएको प्रस्ताव संकलन गरी त्यमध्येबाट उत्कृष्ट आइडिया पठाउने युवालाई उद्यमशीलता सम्बन्धी नि:शुल्क तालिम र राष्ट्रिय वाणिज्य बैंक मार्फत बढीमा तीन प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैंयासम्म सहुलियतपूर्ण कर्जा दिइनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१