close

मंगल ग्रहको अध्ययन गर्न रोबोट पठाउँदै नासा

टेकपाना टेकपाना

माघ २८, २०७७ १०:१०

मंगल ग्रहको अध्ययन गर्न रोबोट पठाउँदै नासा

काठमाडौं । नासाले अन्तरिक्षसँग सम्बन्धित काम गर्दछ र नयाँ नयाँ प्रविधि रकेटमार्फत अन्तरिक्षमा पठाउँदछ । नासाले इटलियन स्पेस एजेन्सी (एएसआई), क्यानेडियन स्पेस एजेन्सी (सीएसए) र जापानको एरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) सँग साझेदारी गरिरहेको छ ।

यो साझेदारी अन्तर्गत यी स्पेस एजेन्सी मिलेर मंगल ग्रहमा बरफ, पानी र गहिराई आदिको खोज गर्न रोबोट पठाउने भएका हुन् । हाल यी एजेन्सीहरुले एउटा रोबोट बनाउनका लागि आवश्यक अनुसन्धान गरिरहेका छन् ।

जसलाई मार्स आइस म्यापर नाम दिइनेछ । मंलग्रहमा ध्रुव र ठूला ठूला खाल्डाहरुमा धेरै बरफ रहेको कुरा यस अघि नै थाहा भइसकेको छ ।

कतिपय स्थानमा सतहभन्दा निकै गहिराईमा समेत बरफ रहेको अनुमान गरिन्छ । जुन भविष्यको मिसनका लागि निकै सहयोगी सावित हुनसक्छ ।

भविष्यमा अन्तरिक्ष यात्रीले ध्रुवहरुमा बरफ खोज्न भौतारिनुपर्ने छैन । यसबाट उनीहरुलाई कुन कुन स्थानमा जमिन खोतल्दा बरफ फेटिन सक्छ भन्ने कुराको जानकारी हुनसक्नेछ ।

यो मार्स आइस म्यापर रोबोटको मिसनमार्फत भविष्यमा मानिसको मिसनका लागि थुप्रै बाटोहरु खोल्न सक्ने अपेक्षा गरिएको छ । नासाका आर्किटेक्चर तथा मिसन एलिग्नमेन्टका सिनियर एडभाइजर जिम वाटजिनका अनुसार मार्स आइस म्यापपरका लागि नयाँ साझेदारीको मोडेलमा विश्वव्यापी स्तरमा सबैको अनुभवलाई एकसाथ जुटाएर काम अगाडि बढेको छ ।

यो मिसनमा सबै इच्छुक एजेन्सी एकसाथ मिलेर यसको लागत विभाजन गरिरहेका छन् र प्रविधिलाई थप स्तरिय बनाइरहेका छन् । सबै स्पेस एजेन्सी मिलेर मंगल ग्रहमा पहिलो मानव मिसनका लागि बाटो खुलाउने अपेक्षा गरिएको छ ।

यो मिसनमार्फत मंगल ग्रहमा बरफको बारेमा जानकारी हासिल गर्न निकै आवश्यक छ । जुन वैज्ञानिक रुपमा निकै उपलब्धिमुलक हुनेछ र यसबाट मानव मिसनलाई सहायता प्राप्त हुनेछ ।

यदि अनुसन्धानकर्ता मंगल ग्रहबाट बरफका टुक्रा एकत्रित गर्न सक्षम रहेको खण्डमा त्यसबाट भूगर्भ इतिहासमा एउटा नयाँ रेकर्ड बनाउन सक्षम हुनेछन् । यसबाट पुरानो जीवनको प्रमाण समेत हात पर्नसक्ने अपेक्षा गरिएको छ ।

नासाका प्लेनेटरी साइन्स डिभिजनका डेपुटी डाइरेक्टर तथा मार्स एक्सप्लोरेसन कार्यक्रमका निर्देशक एरिक आयन्सनले भविष्यमा मंगल ग्रहमा मानवका लागि सहयोगी हुनुका साथै यो मिसनबाट ग्रहको सतहभित्र बरफको जानकारी वैज्ञानिक खोजमा निकै ठूलो योगदान मिल्ने बताए ।

सतहको नजिक पानी र त्यसमाथिको तह देख्न सकिनेछ । यसबाट मंगल ग्रहमा पर्यावरण कस्तो रहने गर्दथ्यो र अहिले कस्तो छ भन्ने कुरा समेत थाहा पाउन सकिनेछ ।

कयौं यस्ता प्रश्नहरु छन्, जसको जवाफ वैज्ञानिकहरु खोजिरहेका छन् । त्यसमा समेत यो मिसन कामयाव हुने अपेक्षा गरिएको छ । यसबाट मंगल ग्रहमा जीवन संभव छ कि छैन भन्ने कुरा समेत थाहा हुनेछ ।

एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१