close

राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्न १०० कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

फागुन १०, २०७७ १४:१२

राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्न १०० कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले उपत्यकाबाहिर नागरिकहरुको विवरण संकलनका लागि घुम्ति सेवा अभियान सञ्चालन गरेको छ । सम्पूर्ण नेपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन थालिएको उक्त अभियानमा विवरण संकलनका लागि विभागले विवरण दर्ता अपरेटर पदका लागि दरखास्त आवेदन खुल्ला गरेको छ । 

खुल्ला प्रतिस्पर्धामार्फत तीन महिनाको करारमा विभागले १०० जना अपरेटरको माग गरेको हो । १८ वर्ष पुरा भएर ३५ वर्ष ननाघेका इच्छुक नेपालीहरुले फाल्गुन ७ गतेदेखि १५ दिनभित्रमा पदका लागि आवेदन दिनुपर्ने विभागले सार्वजनिक सूचनामार्फत जारी गरेको छ । 

तर उक्त आवेदनका लागि सबै प्रक्रिया अनलाइनमार्फत गरिनुपर्ने विभागले बताएको छ । इच्छुकहरुले यो वेबसाइटमा गई युजर आईडी बनाएर नि:शुल्क अनलाइन दरखास्त फारम भर्न सक्नेछन् । साथै इच्छुकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइटमा गएर पनि दर्ता डाउनलोड गर्न सक्नेछन् । 

उक्त पदका लागि उपयुक्त उम्मेद्वारहरुले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तीमा तीन महिनाको कम्प्युटरसम्बन्धी तालिम प्राप्त गरेको हुनुपर्नेछ । वा सय पूर्णाङ्कको कम्प्युटर विषय राखी उत्तीर्ण गरेको प्रमाणपत्र भए छुट्टै तालिमको प्रमाणपत्र आवश्यक नपर्ने विभागले बताएको छ । 

करार सम्झौतामा उत्तीर्ण अपरेटरले विभागले खटाएको उपत्यका बाहिरको जुनसुकै जिल्लाभित्रका स्थानीय तहका वडाहरुमा पुगेर दैनिक ४० जनाको विवरण संकलन गर्नुपर्नेछ । अपरेटरहरुले दैनिक १२ सय रुपैयाँ पारिश्रमिक पाउनसक्ने छन् । 

साथै छनौट हुने अपरेटरले अंग्रेजी र नेपाली युनिकोड रोमनाइज्ड लेआउटमा शुद्ध टाइप गर्न सक्नुपर्नेछ । साथै फिल्डस्तरमा काम गरेको अनुभव पनि हुनुपर्ने छ । 

यस्ताे छ सूचना

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१