काठमाडौं । ब्राजिलले फाइभजी नेटवर्क विस्तारमा ह्वावेमाथि प्रतिबन्ध नलगाउने भएको छ । संयुक्त राज्य अमेरिका र कतिपय युरोपेली मुलुकले चिनियाँ कम्पनी ह्वावे प्रविधिमाथि प्रतिबन्ध लगाएका कारण ब्राजिलले पनि उस्तै निर्णय गर्ने अनुमान गरिएको थियो ।
तर, हालैमात्र ब्राजिलकाे राष्ट्रिय दूरसञ्चार एजेन्सीले फाइभजीको बोलकबोल नीति पारित गरेको छ । मस्याैदामा ह्वावेलाई प्रतिबन्ध लगाउने प्रावधान राखिएपनि पास भएको नीतिमा भने साे विषय सामावेश नगरिएकाे बताइएकाे छ ।
साे नीतिकाे पूर्णपाठ भने हालसम्म बाहिर आएको छैन । तर, विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ह्वावे सहभागी हुनसक्ने गरी प्रावधान राखिएकाे छ ।
यसअघि ब्राजिलका सेवाप्रदायकले पनि यदि ह्वावेलाई सहभागी नगराउने हो भने हाल प्रयोगमा रहेको पूर्वाधारलाई हटाएर नयाँ पूर्वाधार खडा गरी सेवा उपलब्ध गराउन खर्बौ रकम खर्च हुने बताएका थिए ।
हाल ब्राजिलको दूरसञ्चार क्षेत्रमा प्रयोग भएको पूर्वाधारमध्ये ५० प्रतिशत हिस्सा ह्वावेकै रहेको छ । त्यसैले पनि सरकारले ह्वावेलाई फाइभजीमा सहभागी नगराउने प्रावधानबाट पछि हटेको हुनसक्ने अनुमान गरिएकाे छ ।
नयाँ नियम अनुसार सहभागी हुने कम्पनीले सन् २०२२ सम्म फाइभजी विस्तार गरिसक्नुपर्ने उल्लेख छ । ब्राजिलले हाल फोरजीमा प्रयोग भइरहेकै फ्रिक्वेन्सीमा फाइभजी उपलब्ध गराउने बताएको छ ।