close

युट्युवमा छोराछोरीले के गर्दैछन्, अब निगरानी गर्न सकिने

टेकपाना टेकपाना

फागुन १९, २०७७ १२:७

युट्युवमा छोराछोरीले के गर्दैछन्, अब निगरानी गर्न सकिने

काठमाडौं । आजको जमानामा इन्टरनेट प्रयोगकर्ताका लागि युट्युव सामान्य रहेन । सानादेखि ठूला सबै उमेर समूहका मानिस युट्युवमा झुम्मिने गर्छन् । एउटा सचेत प्रयोगकर्ताले युट्युवमा कस्ता सामग्री हेर्ने भनेर सहजै छ्ट्याउन सक्छ ।

तर बालबालिका वा कम उमेर समूहका प्रयोगकर्तामा भने युट्युबको गलत प्रयोगको खतरा रहन्छ । त्यतिमात्रै होइन युट्युव सामग्रीमा प्रयोग भएका शब्द र दृश्यले सिधै उनीहरुको मनोविज्ञानमा असर पार्न सक्छ ।

युट्युवमा उपलब्ध सामग्रीका कारण बालबालिका कुनै नराम्रा गतिविधिमा संलग्न हुनसक्ने भएकाले अभिभावकले बेलैमा ध्यान दिन आवश्यक छ । हुन त युट्युवले बालबालिकाको लागि छुट्टै प्लेटफर्मको रुपमा ‘युट्युव किड्स’ सुरु गरेको छ ।

तर यसमा सीमित कन्टेन्टमात्रै उपलब्ध गराइएको छ । यो साना बालबालिकाको लागि त ठीक हुनेछ तर स्कुल पढ्न थालिसकेका बालबालिकाहरूले युट्युव किड्स प्रयाेग नगर्ने र वयस्कले प्रयाेग गर्ने स्मार्टफोन तथा ट्याबमा सहजै पहुँच राखी युट्युवका सामग्री हेर्ने गर्छन् ।

यही कारण युट्युवमा बालबालिकाले के हेरिरहेका छन भनेर निगरानी गर्नसक्ने फिचर आउने भएको छ । त्यसका लागि कम्पनीले नयाँ सिस्टम विकास गरेको छ ।

‘कनेक्टेड एक्सपिरियन्स’मार्फत अभिभावक आफ्ना बालबालिकालाई निगरानी गर्न सक्नेछन् । यसका लागि युट्युवले लामो समयदेखि अभिभावक र विज्ञसँग सहकार्य गरी काम गर्दै आएको थियो ।

‘हामीले नयाँ सिस्टमको विकास गरेका छौं,’ युट्युवले आफ्नो ब्लगमार्फत जानकारी दिँदै भनेको छ, ‘यो फिचर अबको एक महिनाभित्र बेटा भर्सनका रुपमा सार्वजनिक हुनेछ ।’

यो फिचर प्रयोग गर्न दुवै डिभाइसमा एउटै गुगल अकाउन्ट लगइन भएको हुनुपर्ने युट्युवले जनाएको छ । कम्पनीका अनुसार यसमार्फत अविभावकले कन्टेन्ट सेटिङ र सुविधा लिमिट गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४