close

जीडीपी ऋणात्मक हुँदा सूचना तथा सञ्चार क्षेत्रको वृद्धिदर २.३ प्रतिशत

टेकपाना टेकपाना

फागुन २०, २०७७ १९:५३

जीडीपी ऋणात्मक हुँदा सूचना तथा सञ्चार क्षेत्रको वृद्धिदर २.३ प्रतिशत

काठमाडौं । नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सञ्चार तथा सूचना प्रविधिको वृद्धिदर २.३ प्रतिशत देखिएको छ । राष्ट्रिय तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको जीडीपीको वार्षिक वृद्धिदरको प्रारम्भिक आँकडाले यस्तो नतिजा देखाएको हो ।

जब कि आर्थिक वर्ष २०७६/७७ को समग्र जीडीपी ऋणात्मक १.८८ प्रतिशत भएको देखिन्छ । अघिल्लो आर्थिक वर्ष ६.६६ प्रतिशतको जीडीपी वृद्धिदर हुँदा सूचना तथा सञ्चार क्षेत्रको वृद्धिदर ७.०५ प्रतिशत रहेको थियो ।

हालको मूल्यअनुसार गत आवमा सूचना तथा सञ्चार क्षेत्रमा अनुमानित एक खर्ब ८६ अर्ब ८२ करोड रुपैयाँ बराबरको आर्थिक गतिविधि भएको थियो । त्यसका लागि एक खर्ब ९ अर्ब ६५ करोड ३० लाख रुपैयाँ खर्च भएको विभागको तथ्याङ्कमा छ ।

यस हिसाबले सूचना तथा सञ्चार क्षेत्रबाट जीडीपीमा कूल ७७ अर्ब १६ करोड ६० लाख रुपैयाँ बराबरको योगदान देखिएको छ । समग्रमा नेपालको कूल जीडीपी ३९ खर्ब ४३ अर्ब ६५ करोड ६० लाख रुपैयाँ देखिएको छ ।

प्रारम्भिक आँकडाले गत आर्थिक वर्ष नेपालको जीडीपीमा सूचना तथा सञ्चार क्षेत्रको योगदान २.२२ प्रतिशत देखाएको छ ।

आँकडा अनुसार जीडीपीमा सबैभन्दा बढी योगदान पुर्‍याउने ५ क्षेत्रमा क्रमशः कृषि २६.०१ प्रतिशत, मोटरसाइकल १४.९३ प्रतिशत, रियलस्टेट ९.११ प्रतिशत, शिक्षा ८.२९ प्रतिशत र सार्वजनिक प्रशासन तथा प्रतिरक्षा एवम् अनिवार्य सामाजिक सुरक्षा ७.९५ रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१