close

बैंक तथा वित्तीय संस्थाले जारी गर्ने पेमेन्ट कार्डबारे जान्नैपर्ने कुरा

टेकपाना टेकपाना

फागुन २०, २०७७ २२:४

बैंक तथा वित्तीय संस्थाले जारी गर्ने पेमेन्ट कार्डबारे जान्नैपर्ने कुरा

काठमाडौं । अहिले हाम्रा अधिकांश भुक्तानी प्रणालीहरु डिजिटाइज भइसकेका छन् । हामीमध्ये कतिपयले मोबाइल बैंकिङ, माेबाइल वालेट तथा विभिन्न पीएसपीका सेवा लिइरहेका हुन्छौं । 

मोबाइल तथा इन्टरनेट बैङ्किङ प्रयोग नगर्नेहरु पनि आजकल पैसा निकाल्न बैंक धाउँदैनन् । सबैजसोले प्लास्टिक कार्ड नै प्रयोग गर्छन्, जस्तै; एटीएम, डेबिट, क्रेडिट, मास्टर तथा भिजा कार्ड ।

कार्डहरु पनि यति धेरै छन् कि कसको काम के हो र कसले के सेवा दिन्छ भन्ने कुरामै धेरैजना अलमलमा परिरहेका हुन्छन् । तर चिन्ता नलिनुहोस्, आज हामी तपाईंले प्रयोग गर्ने कार्डहरूबारे विस्तृतरुपमा बुझाउने छौं ।

एटीएम कार्ड भनेको सामान्य कार्ड हो, जसको सहयोगबाट आफ्नो पैसा भएको बैंकको एटीएम मसिनबाट मात्र पैसा निकाल्न सकिन्छ । अब यसो भनिरहँदा कतिको मनमा प्रश्न उठ्न सक्छ कि, मेरो एटीएम कार्डबाट त अतिरिक्त शुल्क तिरेर अर्को बैंकको एटीएम मसिनबाट पनि पैसा निकाल्न सकिन्छ । 

वास्तवमा एटीएम र डेबिट कार्डबीच यही फरक छ । डेबिड कार्ड पनि हेर्दा त एटीएम कार्डजस्तै देखिन्छ । तर यसमा अगाडि मास्टर कार्ड, भिजा जस्ता लोगो देख्न सकिन्छ ।

यदि तपाईंको डेबिट कार्डमा भिजा कार्डको लोगो छ भने भिजा कार्ड चलाउने बैंककाे एटीएममा तपाईंले आफ्नो डेबिट कार्ड प्रयोग गर्न सक्नुहुन्छ । यस्तै मास्टर कार्डलाई स्वीकारोक्ति (एक्सेप्टेन्स) दिने मर्चेन्टकहाँ मास्टर कार्ड पनि प्रयोग गर्न सक्नुहुन्छ ।

डेबिड कार्ड एटीएम मसिनमा पनि प्रयोग हुन्छ । यसलाई अनलाइन पेमेन्टबाहेक भिजा कार्ड, मास्टर कार्डलाई प्रयोग गर्ने सबै किसिमका मर्चेन्टहरुमा गएर प्रयोग गर्न सक्नुहुन्छ । यो पनि तपाईंको बैंक अकाउन्टसँगै लिङ्क हुन्छ । 

क्रेडिट कार्ड भने छुट्टै किसिमको कार्ड हो । यो सबैसँग नहुन सक्छ । वास्तवमा नेपालीमा सरल रूपले बुझ्दा यो एउटा उधार कार्ड हो । यो हेर्दा डेबिड कार्ड जस्तै देखिन्छ । यो बैंक अकाउन्टसँग लिङ्क हुँदैन । एउटा निश्चित मापदण्ड पुरा गरिसकेपछि बैंकले तपाईंलाई क्रेडिट कार्ड दिन्छ ।

क्रेडिट कार्ड प्रयोगकर्तासँग बैंकमा रकम हुन आवश्यक छैन । किनभने तपाईं बैंकबाट उधारो लिई रहनुभएको हुन्छ । क्रेडिट कार्डबाट खर्च गरिसकेपछि निश्चित समयपछि तपाईंले सम्बन्धित बैंकलाई पैसा तिर्नुपर्ने हुन्छ ।

यदि तपाईंले पैसा तिर्नुभएन भने बैंकले तपाईंलाई ब्याजसहित ऋण असुलउपर गर्दछ । क्रेडिट कार्डको मासिक खर्च लिमिट हुन्छ, जुन तपाईंको बैंकले निर्धारण गर्दछ । यसमा पनि मास्टर कार्ड र भिजा कार्डको लोगो हुने हुँदा अनलाइन शपिङहरु तथा कार्ड स्वाइप गर्ने ठाउँहरुमा तपाईंले यसलाई प्रयोग गर्न सक्नुहुन्छ ।

के हो त मास्टर कार्ड र भिजा कार्ड ?

वास्तवमा यी पेमेन्ट गेटवे हुन् । तपाईंसँग कुनै पनि बैंकको डेबिट वा क्रेडिट कार्ड छ भने तपाईंले खर्च गर्ने ठाउँले अर्कै बैंकबाट कारोबार गर्न सक्छ ।

यस्तो बेला तपाईंले आफ्नो बैंकको कार्डबाट भुक्तानी गरेर अर्को बैंकमा पठाउनुपर्ने हुन्छ । वा एउटा बैंकको एटीएम मसिनबाट अर्को बैंकको कार्डले पैसा निकाल्नुपर्ने हुन्छ । यस किसिमको कार्डबाट हुने अन्तरबैंकिङ कारोबारलाई च्यानलको रुपमा सहजीकरण गरिदिने कम्पनीहरु हुन् मास्टर कार्ड र भिजा कार्ड ।

यी कम्पनीहरुले बीचमा बसेर कारोबारलाई सम्पन्न गरिदिन्छन्, जसबाट केही पैसा उनीहरुले कमिसनको रुपमा लिने गर्दछन् । 

मास्टर र भिजा कार्ड ग्लाेबल कम्पनी हुन्, जसले विश्वभर नै यस किसिमका कारोबारलाई सहजीकरण गरिदिन्छन् । मास्टर कार्ड र भिजा कार्डमा खासै ठूलो फरक छैन । यी दुईमा फरक भनेको कुनै बैंकले भिजा कार्ड प्रयोग गर्छ भने कुनैले मास्टर कार्ड ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१