close

डिजिटल भुक्तानीका लागि आईपेलाई राष्ट्र बैंकको अनुमति

टेकपाना टेकपाना

फागुन २२, २०७७ ९:४९

डिजिटल भुक्तानीका लागि आईपेलाई राष्ट्र बैंकको अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले  डिजिटल वालेट कम्पनी आई पे डिजिटल वालेटलाई भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्रदान गरेको छ । ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२’ अनुसार केन्द्रीय बैंकले कम्पनीलाई दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी गर्ने लाइसेन्स दिएको हो ।

आईपेका अध्यक्ष अमृतमान तुलाधरले अनुमतिपत्र पाएसँगै आई-पेले सन् २०१० देखि नेपालमा सञ्चालन गर्दै आएको गुणस्तरीय र व्यवस्थित सेवालाई अनुमोदन गरेको भन्दै खुशी व्यक्त गरे ।

‘यसबाट हामीले नेपालको सन्दर्भमा नगदरहित डिजिटल भुक्तानी प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै अझ राम्रो गर्दै जान प्रोत्साहन गरेको अनुभूती गरेका छौं,’ उनले भने ।

अनलाइन भुक्तानी तथा डिजिटल वालेटको रुपमा रहेको आईपेले प्रयोगकर्ताहरुलाई इन्टरनेटको माध्यमबाट विभिन्न व्यवसायीहरुबाट वस्तु तथा सेवाहरु अनलाइन खरिद गर्न र सोको भुक्तानी मध्यस्थता गर्दै आएको छ ।

आईपेले आफ्नो डिजिटल वालेट तथा भुक्तानी सेवा सबै व्यक्तिगत एवम् व्यावसायिक प्रयोगकर्ताहरुलाई नि:शुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।

आईपे का प्रमुख कार्यकारी अधिकृत अमिर महर्जनका अनुसार देशभर आईपेका पाँच लाखभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेका छन् । कम्पनीका एक हजारभन्दा बढी एजेन्ट रहेका छन् ।

विगत एक दशकदेखि मोबाइल रिचार्ज/टपअप, बिजुली र पानीको बिल, इन्टरनेट तथा टेलिभिजनको बिल, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ आदि लगायत ई–कमर्स मार्फत किनिएको सामान तथा सेवाहरुको अनलाइन भुक्तानी लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

अबका दिनमा प्रयोगकर्ताहरुको दैनिकी सहज बनाउन थप नवीनतम् डिजिटल वित्तीय सेवाहरु प्रदान गर्ने कम्पनीले जनाएको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१