close

एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु

टेकपाना टेकपाना

फागुन २२, २०७७ २१:१२

एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतिक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले एक औपचारिक कार्यक्रममाझ फागुन १३ गते धुलिखेल अस्पतालअन्तर्गत सञ्चालनमा रहेका ४ वटा स्वास्थ्य केन्द्रलाई टेलिमेडिसिन उपकरण हस्तान्तरण गरेका छन् ।

सोही दिन चोङ् र धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले धुलिखेल अस्पतालमा स्थापित एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रको पनि उद्घाटन गरेका थिए ।

प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण, दूरदराजका सेवाबाट वन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने यस कार्यक्रमको उद्देश्य हो ।

यस पहलअन्तर्गत एनसेलले धुलिखेल अस्पतालद्वारा ग्रामीण भेगमा सञ्चालन गरिरहेको स्वास्थ्य केन्द्रहरुलाई टेलिमेडिसिन उपकरण र सेवा प्रवाहका लागि आवश्यक कनेक्टिभिटी पूर्वाधार निर्माण गरी हस्तान्तरण गर्दैछ ।

धुलिखेल अस्पतालका तर्फबाट मानव संसाधन जस्तै चिकित्सक र परामर्शदाता लगायत कार्यक्रम संचालनका लागि आवश्यक अन्य सहयोगहरु प्रदान हुँदैछ । अस्पतालले कार्यक्रमलाई सफलता पुर्वक संचालन गर्न आवधिक ट्रेनिङ्गहरु र अनुगमन लगायतका कामहरु पनि गर्नेछ ।

पहिलो चरणमा सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा रहेका सामुदायिक स्वास्थ्य केन्द्रहरु मार्फत कार्यक्रम सञ्चालन हुनेछ । यी केन्द्रहरुले कुल १५ हजारभन्दा बढी घरधुरीका जन समुदायहरुलाई सेवा प्रवाह गर्दछ ।

कार्यक्रम सञ्चालनमा आएपछि स्थानीयहरुले दीर्घ रोग, नसर्ने रोग, सरुवा रोग लगायतका रोगहरुको उपचार सेवा पाउनेछन् । अबको चार वर्षमा यो कार्यक्रम २० वा सोभन्दा बढी स्वास्थ्य केन्द्रमा लागू गर्ने एनसेलको योजना रहेको छ ।

कार्यक्रमको बारेमा आफ्नो उत्साह साट्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङ्ले भने, “स्वास्थ्य क्षेत्र हाम्रो व्यावसायिक सामाजिक जिम्मेवारीमा प्रमुख प्राथमिकतामा रहेको छ । स्वास्थ्य सेवाबाट वन्चित समुदायहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने मात्र नभई तत्काल जीवन रक्षा गर्न सक्ने यो कार्यक्रमका लागि धुलिखेल अस्पतालसँग सहकार्य गर्न पाएकोमा गौरव गर्दछौं ।

यो सहकार्य बहुआयामिक छ किनकि यो डिजिटल डिभाइड घटाउने हाम्रो आकांक्षासँग मिल्दो छ । स्वास्थ्य सेवा केन्द्रहरुले गुणस्तरीय सेवामा स्थानीय समुदायको पहुँच सहज बनाउँदै जीवन रक्षा गर्ने साथै उनीहरुको स्रोत र समय बचत गर्न योगदान गर्ने आशा लिएका छौं ।”

धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले भने, “प्रविधिको प्रयोगमार्फत दुरदराजमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि यस एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रको उद्घाटन एउटा ठूलो उपलब्धि हो ।

यस परियोजनामा पर्सनलाईज्ड हेल्थ प्रोग्राम (पिएचपी) पनि समावेश गरिएकाले यो यस प्रकारको पहिलो र नयाँ कार्यक्रम हो । आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत एनसेलले खुला हृदयका साथ सहकार्य गरेकामा हामी धेरै खुसी छौं । चाँडैभन्दा चाँडै हाम्रा स्वास्थ्य केन्द्रहरुमा टेलिमेडिसिन उपकरणहरु जडान गरी सेवा प्रदान गर्न हामी उत्साहित छौं ।”

टेलिमेडिसिन हस्तान्तरण र केन्द्रको उद्घाटनको अवसरमा बोल्दै धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा. रामकण्ठ मकाजु श्रेष्ठले भने, “यस नवीन कार्यक्रमले ज्ञानलाई पनि हेर्न सकिने बनाउन सकिन्छ भनेर सिद्ध गरेको छ । स्वास्थ्य सेवामा पहुँच नभएकाहरुसम्म पुग्न अनि हाम्रो २५ वर्षअघि देखिको परिकल्पना अनुसार ग्रामीण र दुर्गम भेगका जनताका घरदैलोमा नै सेवा प्रदान सबल बनाउने यो सहयोग प्रदान गरेकोमा हामी एनसेल प्रति आभारी छौं ।”

यो कार्यक्रममा टेलिमेडिसिन र पर्सनलाईज्ड हेल्थ प्रोग्राम (पिएचपी) गरी दुई क्षेत्रमा केन्द्रित भई सञ्चालन हुनेछ । टेलिमेडिसिन अन्तर्गत कार्यक्रमले धुलिखेल अस्पतालद्वारा सञ्चालित आठ सामुदायिक स्वास्थ्य केन्द्रहरुबाट आधुनिक टेलिमेडिसिन किट र कनेक्टिभिटीको प्रयोग तथा अस्पतालका चिकित्सक तथा विज्ञहरुसँग सिधै सम्पर्क स्थापित गराई स्थानीय जनसमुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ ।

पिएचपी अन्तर्गत यो कार्यक्रम सञ्चालन भएका क्षेत्रका जन समुदायका स्थानीयहरुले पर्सनलाइज्ड स्वास्थ्य सेवा पाउनेछन् जसका लागि सामुदायिक स्वास्थ्य केन्द्रहरुले त्यहाँका स्थानीय मानिसहरुको स्वास्थ्य सम्बन्धी नियमित जाँच गर्नेछ र समयमा नै आवश्यक स्वास्थ्य उपचार गर्नेछन् ।

पिएचपीलाई कार्यक्रम संचालन गरिने समुदायहरु भन्दा बाहिर समेत लाने उद्देश्यका साथ जन समुदायका मानिसहरुको स्वास्थ्यमा सुधारका लागि तथ्याङ्कमा आधारित व्यवहार परिवर्तनको विकास गर्नु यसको लक्ष्य हो ।

एनसेलले साउन २०७६ मा धुलिखेल अस्पतालसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स् कार्यक्रम संचालनको लागि सम्झौता गरेको थियो । यस कार्यक्रम अन्तर्गत प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामण, दूरदराजका सेवाबाट वन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१