close

साधारण सूचनामूलक प्रस्तुति मात्र दिएको थिएँः पाण्डे

टेकपाना टेकपाना

फागुन २४, २०७७ २०:२

साधारण सूचनामूलक प्रस्तुति मात्र दिएको थिएँः पाण्डे

ई. रोशन पाण्डे

नेपाली भू-उपग्रह ‘नेपाली स्याट १’ कहिले, किन र के का लागि अन्तरिक्षमा पठाईयो ? यसले के गरिरहेको छ ? यसका फाइदाहरु के के हुन् ? यो विषयमा रहेका कुराहरु त थुप्रै छन् र ती मध्ये आजको एक जल्दो बल्दो बिषय नेपाली भू-उपग्रह ‘नेपाली स्याट १’ कसको हो ।

म नेपालको तर्फबाट “नेपाली स्याट १” परियोजनाको केन्द्र विन्दुमा छु र युवा वैज्ञानिकको रुपमा अध्ययन अध्यापन गर्दै नास्टमा सेवारत छु । के मलाई वौद्धिक सम्पत्ति अधिकार (आईपीआर) वा बौद्धिक अधिकारका बारेमा थाहा नहोला र ?

सञ्चार माध्यमहरूले कुरै नबुझी आरोप लगाउँदा करियरको उच्चतम विन्दुमामा रहेको प्रोफेसनल तथा विद्यार्थी जीवनमा यस प्रकारको विषयको उठान मात्रले पनि के असर हुन जान्छ ? भोलिका दिनमा कुनै एउटा संकाय/महाशाखाको प्रमुखको दाबेदारमा रहेको व्यक्तिलाई आरोप लगाउनु अघि सोच्नु आवश्यक देख्छु ।

देशको ठूलो सञ्चार मध्यमले यस्तो कुरा अगाडि राख्दा भएका सबै तथ्यहरु नराखी एकपक्षीय कुरालाई सत्य मानि प्रकाशन गरेको देखेर म अत्यन्तै मर्माहत भएको छु ।

आधिकारिक संस्थाको केन्द्र विन्दुमा भएको व्यक्तिले नियमपूर्वक गरेको प्रस्तुतिलाई आधिकारिक नरहेको भन्दै सम्बन्धित निकायबाट आएको पत्रलाई समयमै उपलब्ध नगराई दिने साथै संस्था भित्रकै कर्मचारीले प्रकृयामा रहेको अधिकारिक पत्र सुनियोजित ढङ्गले फसाउने नियतका साथ सार्वजनिक गरिदिने, पत्र पठाउने प्राध्यापक र मबीच नियोजित हिसाबले तनाब सृजना गराउने जस्ता कार्यहरु मलाई असह्य छन् ।

जुलाई २०२० मा आईएसीद्वारा आयोजना भइरहेको सम्मेलनमा मैले संस्थाबाट समर्थन प्राप्त गरी सम्मेलनमा पत्र प्रस्तुत गर्न लागेको थिएँ । यसैबीच कोभिड १९ को महामारीले उक्त सम्मेलन औपचारिकता पुरा गर्नको लागि अनलाइनमा सीमित भयो ।

त्यस कार्यक्रममा मैले “नेपाली स्याट १”को “साधारण सूचनामुलक” प्रस्तुति दिएको थिएँ र उक्त प्रस्तुतिमा राखिएका कुराहरुलाई आईएसीले आफ्नो वेबसाइटमा प्रकाशन गर्‍यो । उक्त प्रकाशनलाई आधार मान्दै देशकै गौरवको रूपमा रहेको परियोजनाको साधारण विवरण मात्र दिने किसिमको सम्मेलनपत्र मैले प्रकाशन गरेको हुँ ।

उक्त परियोजना जापानको क्युटेक र नेपालको नास्टबीच सहकार्यमा गरिएको हो । तर प्रकाशित सम्मेलन पत्रको डिसेम्बर ७, २०२० मा रेफ्रेन्सिङ नमिलेको कुरामा क्युटेकबाट पत्राचार गरिएको कुरा मलाई मौखिक रूपमा जानकारी गराइएको थियो ।

त्यस विषयलाई मैले गम्भीरतापूर्वक लिएर तत्कालै आईएसीको प्रकाशन गर्ने निकायलाई भविष्यमा कुनै समस्या सृजना नहोस् भनि सम्मेलनपत्र सच्याउन मिल्ने भए सच्याउन र यदि नमिल्ने भए त्यस सम्मेलन पत्नलाई आईएसीको वेबसाइटबाट हटाइदिन भनि अनुरोध ईमेलमार्फत मैले डिसेम्बर ९, २०२० मा पठाएँ ।

मैले मेरो कार्यालयलाई पनि लिखित रूपमा नै ईमेल पठाइसकेको जानकारी गराएँ । उक्त ईमेलको जवाफको प्रतिक्षारत हुँदै गर्दा त्यसबीचमा क्युटेकबाट कति वटा पत्रहरु के के सम्बन्धमा आए, मलाई जानकारी गराइएन।

त्यस पछाडि सार्वजनिक भएको क्युटेकको पत्र म कहाँ नआई सञ्चार माध्यममा प्रकाशनका लागि नियोजित रूपमा सार्वजनिक गरियो । टेकपानाको अनलाइन संस्करण मिति २०७७/११/१२ मा प्रकाशित “नास्टका वैज्ञानिकमाथि शोधपत्र चोरीको आरोप, जापानको क्यूटेक विश्वविद्यालयको गम्भीर आपत्ति” सार्वजनिक भयो ।

सञ्चार माध्यमलाई प्राप्त भएको ईमेल (लेटर) मलाई पछि मात्र प्राप्त भयो । डिसेम्बर ९, २०२० को ईमेलको जवाफको प्रतिक्षारत हुदै गर्दा त्यसबिचमा र अगाडि क्युटेकबाट कति वटा पत्रहरु, के के सम्बन्धमा आए मलाई जानकारी भएन वा आउदै थियो । त्यसकारण प्रक्रियामा भएको अन्तरिक कुरालाई नबुझी कसैको खेदो खन्नु वा आरोप लाउन हतार गर्नुले समाचार एकपक्षीय रहेको स्पस्ट देखिन्छ ।  

यसरी प्रस्ट सूचना समयमा प्राप्त नहूनाले क्यूटेकका प्राध्यापक र मबीच सिधा संवाद हुन नपाएकाले यो स्थितिको सृजना भयो । अब त यो मेरो भन्दा पनि संस्थाको दायित्व र जिम्मेवारी हो ।

त्यसैले अब सञ्चार माध्यममा कसैको चरित्र हत्या गर्नु भन्दाअघि आधिकारिक पत्र अनाधिकृत तवरले सार्वजनिक गर्ने व्यक्तिको पर्दाफास हुन जरुरी छ । तिललाई पहाड बनाइ कुरा बढाउन मलाई मन छैन ।

तर मेरो चरित्र माथि नै आक्रमण गर्दा मैले चाहिँ आरोप कसलाई लगाउँ ? सस्थालाई, संचार माध्यमलाई वा त्यस व्यक्तिलाई ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१