close

विद्युतीय बस र ट्याक्सी समयमै सञ्चालन नहुँदा बिग्रने जोखिम

टेकपाना टेकपाना

फागुन २७, २०७७ १०:१०

विद्युतीय बस र ट्याक्सी समयमै सञ्चालन नहुँदा बिग्रने जोखिम

भैरहवा । वातावरण प्रदूषण कम गर्न लुम्बिनीमा भित्रिएका विद्युतीय बस तीन महिना बित्दा पनि सञ्चालनमा आउन सकेका छैनन् । लुम्बिनीमा वातावरण प्रदूषण कम गर्न भित्रिएका बस र ट्याक्सी समयमै सञ्चालन हुन नसक्दा बिग्रने जोखिम बढेको छ ।

गत मङ्सिर ९ गते तीनवटा विद्युतीय बस लुम्बिनी ल्याइएको थियो भने त्यसपछि बाँकी दुई बस र १४ ट्याक्सी पुस ६ मा ल्याइएको थियो । अहिले यी सवारीसाधनलाई विद्युतीय चार्जिङ स्टेसनको पार्किङमा राखिएको छ ।

बस कसरी सञ्चालन गर्ने भन्ने विषय नटुङ्गिएकाले सञ्चालनमा समस्या भएको लुम्बिनी विकास कोषको दाबी छ । कोषका योजना प्रमुख सरोज भट्टराईले विद्युतीय बस कोषले आफैँ सञ्चालन गर्न नसक्ने भन्दै टेन्डर प्रक्रियामा जाने तयारी गरिएको बताए ।

चीनबाट आयात गरिएका बस र ट्याक्सी जहाज र लरीमा आउँदै डेढ महिना बढी लागेको थियोे । यहाँ थन्किएको तीन महिना बितेको छ । अझै एक÷दुई महिनासम्म त्यत्तिकै राख्दा बिग्रने जोखिम बढेको छ । नचलाएर राख्दा बिग्रने, पार्टपुर्जामा समस्या आउने र टुटफुट हुने जोखिम बढेको प्राविधिकको भनाइ छ ।

तीन महिना हुँदा पनि पर्यटन मन्त्रालयले कोषलाई हस्तान्तरण गरेको छैन । प्राविधिक रूपमा परीक्षण भइरहेकाले समय लागेको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो । एसियाली विकास बैङ्क (एडीबी)ले पनि लुम्बिनी आएर परीक्षण गरेको छ ।

एडीबीको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोड लागतमा बस र ट्याक्सी लुम्बिनी ल्याइएको हो । नेपाल सरकारले साढे तीन करोड रुपियाँ भन्सार शुल्क बेहोरेको छ । विश्वलाई लुम्बिनीसँग जोड्न भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनीसम्म पर्यटक र तीर्थयात्रीलाई ओसारपसार गर्न यी बस र ट्याक्सी प्रयोग गरिनेछ ।

त्यस्तै लुम्बिनीलाई विभिन्न बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँग जोड्न र त्यहाँ आवतजावतका लागि सजिलो बनाउन यी बस र ट्याक्सी ल्याइएका हुन् । अत्याधुनिक बसमा १९ सिट छन् भने उभिएर यात्रा गर्दा ३५ जना अटाउँछन् । ट्याक्सीमा भने पाँच सिट छन् । पूर्ण वातानुकूलित बस अपाङ्गतामैत्री छ भने स्वचालित ढोका छन् । एक पटक फुल चार्ज गरे चार सय किलोमिटरसम्म गुड्ने बताइएको छ ।

लुम्बिनी आसपासमा रहेका ठूलाठूला उद्योगका कारण वातावरण प्रदूषण बढिरहेकाले लुम्बिनीबारे सकारात्मक सन्देश फैलाउन सहयोग पुगोस् भनेर विद्युतीय बस ल्याइएको कोषका सदस्य सचिव शाक्यले बताए ।

बस र भ्यान चार्जिङ गर्ने स्टेसनको काम पनि पूरा भएको छ । पावरहाउसबाट १५४ किलोवाट विद्युत् उत्पादन हुन्छ । यहाँ ३३ वटा गाडी चार्जर स्ट्यान्ड राखिएको छ । यिनमा तीनवटा क्विक चार्जर छन् । ८० किलोवाट क्षमताको ब्याट्री हुने एउटा बस र ४० किलोवाट क्षमताका दुई वटा मिनीबस एकै पटक क्विक चार्ज गर्न मिल्छ । क्विक चार्जबाट फुल चार्ज हुन आधा घण्टा समय लाग्छ ।

बाँकी ३० वटा सामान्य चार्जर हुन् । यसबाट एक घण्टामा फुल चार्ज हुन्छ । ३० वटा जिप र कारका लागि हो । स्टेसनबाट एकै पटकमा १३ सवारीसाधन चार्ज गर्न सकिने जापानको इसाका इलेक्ट्रिक कम्पनीका नेपाली साझेदार चिरञ्जीवी थापाले बताए ।

त्यहीँ इलेक्ट्रिक रिक्सा चार्ज हुने ७५ वटा प्वाइन्ट पनि राखिनेछ । तीन वर्षभित्र लुम्बिनीमा पेट्रोलियम पदार्थले चल्ने सवारीसाधन विस्थापित गर्ने योजनाअनुसार १३ करोड लागतमा चार्जिङ स्टेसन बनाइएको हो । गाेरखापत्रबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१