close

नेटफ्लिक्स, अमेजन र फेसबुकको भुक्तानी गर्न प्रिपेड कार्ड कसरी लिने ?

टेकपाना टेकपाना

चैत ९, २०७७ ११:४६

नेटफ्लिक्स, अमेजन र फेसबुकको भुक्तानी गर्न प्रिपेड कार्ड कसरी लिने ?

काठमाडौं । अब अमेजन र नेटफ्लिक्स लगायतका डिजिटल प्लेटफर्मका लागि नेपालबाटै डलर भुक्तानी गर्न सकिने व्यवस्था भइसकेको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै डलर खाता नभएपनि ‘क’ र ‘ख’ वर्गका बैंकबाट प्रिपेड कार्ड लिएर वार्षिक ५ सय डलरसम्म भुक्तानी गर्न सकिने व्यवस्था आइतबारदेखि कार्यान्वयनमा ल्याएको हो ।

यसअघि डलर खाता भएकाले मात्रै विदेशमा डलर भुक्तानी गर्न सक्ने व्यवस्था थियो । तर, अब भने नेपाली बैंकहरुमार्फत नै प्रिपेड कार्ड बनाएर ५०० डलरसम्म खर्च गर्न पाइने भएको छ ।

राष्ट्र बैंकका अनुसार विदेशी सेवा तथा वस्तु आयात गरेबापत रकम भुक्तानीमा कठिनाई भएपछि नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइएको हो । यससँगै वाणिज्य बैंक र विकास बैंकले ग्राहकलाई ५ सय डलर बराबरको प्रिपेड कार्ड जारी गर्न सक्नेछन् ।

जसमार्फत सामाजिक सञ्जाल र अन्य अनलाइन कारोबारको डलरमा भुक्तानी गर्न सकिने छ । राष्ट्र बैंकले आइतबार जारी गरेको अख्तियारी अनुसार परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड व्यक्ति, फर्म, कम्पनी वा संस्था जो कोहीले लिन सक्नेछन् ।

त्यसका लागि सम्बन्धित व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । त्यसरी कार्ड जारी गर्दा कार्ड जारी भएको दिनको विनिमय दरका आधारमा अधिकतम अमेरिकी डलर ५०० वा सो बरावरको परिवर्त्य विदेशी मुद्रा जम्मा गर्न सकिनेछ ।

तर, त्यसका लागि कार्ड जारी गर्दा प्रयोगकर्ताले अनिवार्य स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्नेछ । साथै सम्बन्धित प्रयोगकर्ताको ग्राहक पहिचान विवरण अद्यावधिक भएको हुनेपर्ने उल्लेख छ ।

त्यसरी जारी भएको रकम प्रयोगकर्ताले कार्ड जारी भएको एक वर्षसम्म प्रयोग गर्न सक्नेछन् । एक वर्षसम्म एकै पटक वा पटक–पटक गरेर अमेरिकी डलर ५०० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको कारोबार गर्न सक्ने उल्लेख छ ।

यसरी लिइएको कार्डमार्फत प्रयोगकर्ताले विदेशी अनलाइनमार्फत सामान खरिद गर्न, अमेजन, नेटफ्लिक्सजस्ता प्लेटफर्मका भुक्तानी गर्न वा गुगल तथा फेसबुक जस्ता माध्यममा डिजिटल विज्ञापनको पैसा तिर्न सकिने उल्लेख गरिएको छ ।

यसरी प्रिपेड कार्ड जारी गर्दा बैंकहरुले ग्राहकबाट अन्य बैंक र विकास बैंकबाट सो सुविधा नलिएको स्वघोषणा अनिवार्य गराउनु पर्नेछ । यसको अर्थ एक भन्दा बढी बैंकबाट यो सुविधा लिन पाइने छैन ।

ग्राहकले एकभन्दा बढी बैंकबाट यस्तो सुविधाको उपयोग गरेको पाइएमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम कारबाही हुनेछ ।

यस्ता छन् प्रिपेड कार्ड जारी गर्ने बैंक

  1. नेपाल बैंक लिमिटेड
  2. कृषि विकास बैंक
  3. नविल बैंक
  4. नेपाल इन्भेस्टमेन्ट बैंक
  5. स्ट्याण्डर्ड चार्टर्ड बैंक
  6. हिमालयन बैंक
  7. नेपाल एसबीआई बैंक
  8. नेपाल बंग्लादेश बैंक
  9. एभरेष्ट बैंक
  10. कुमारी बैंक
  11. लक्ष्मी बैंक
  12. सिटिजन्स बैंक
  13. प्राइम कमर्शियल ‌बैंक
  14. सनराइज बैंक
  15. सेञ्चुरी बैंक
  16. सानिमा बैंक
  17. माछापुच्छ्रे बैंक
  18. एनआईसी एसिया
  19. ग्लोबल आईएमई बैंक
  20. एनएमबी बैंक
  21. प्रभु बैंक
  22. शिद्धार्थ बैंक
  23. बैंक अफ काठमाडौं
  24. सिभिल बैंक
  25. नेपाल क्रेडिट एण्ड कमर्स बैंक
  26. राष्ट्रिय बाणीज्य बैंक
  27. मेगा बैंक
  28. गरिमा विकास बैंक
  29. ज्योती विकास बैंक
  30. कामना सेवा विकास बैंक
  31. महालक्ष्मी विकास बैंक
  32. मुक्तिनाथ विकास बैंक
  33. सांग्रिला विकास बैंक
  34. साइन रेसुंगा विकास बैंक
  35. लुम्बिनी विकास बैंक
  36. सप्तकोशी विकास बैंक
  37. एक्सेल विकास बैंक
  38. ग्रीन विकास बैंक
  39. कर्णाली विकास बैंक
  40. मितेरी विकास बैंक
  41. सिन्धु विकास बैंक
  42. तिनाउ मिसन विकास बैंक
  43. सहारा विकास बैंक
  44. नारायणी विकास बैंक
  45. कर्पोरेट विकास बैंक
  46. सालपा विकास बैंक

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१