close

गैरकानूनी रहेको भन्दै सबै अनलाइन फार्मेसी बन्द गर्न सरकारको निर्देशन

टेकपाना टेकपाना

चैत १३, २०७७ १५:३२

गैरकानूनी रहेको भन्दै सबै अनलाइन फार्मेसी बन्द गर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले अनलाइन फार्मेसी सञ्चालनमाथि रोक लगाएको छ । औषधि व्यवस्था विभागले गैरकानूनी रुपमा सञ्चालनमा रहेको भन्दै अनलाइनबाट हुने औषधिको खरिद बिक्री बन्द गर्न निर्देशन दिएको हो ।

बिहीबार एक सूचना प्रकाशित गर्दै विभागले हालसम्म अनलाइन फार्मेसी सञ्चालन गर्ने गरी विभागबाट कुनै पनि संस्थाले अनुमति नपाएको स्पष्ट पारेको छ । ‘त्यस्ता अनलाइन फार्मेसीमार्फत औषधिहरुको बारेमा भ्रमात्मक प्रचार प्रसार गरी औषधीको मूल्यमा छुट लगायतका प्रलोभन देखाई बिक्री वितरण गर्ने कार्य भइरहेको पाइएको छ,’ विभागको सूचनामा भनिएको छ ।

त्यस्ता औषधिहरुको सुरक्षितता, गुणस्तर र प्रभावकारिता सम्बन्धमा सम्बन्धित उपभोक्ता आफैं जिम्मेवार हुनुपर्ने भन्दै विभागले अनलाइन फार्मेसीबाट औषधिहरु खरिद गरी प्रयोग तथा सेवन नगर्न, नगराउनुहुन सबै सर्वसाधारण बिरामीहरुलाई सचेत समेत गराएको छ ।

विभागले यस्ता कार्यहरु औषधि ऐन २०३५ को विरुद्ध हुने उल्लेख गर्दै त्यस्ता कार्य नगर्न, नगराउन सम्बन्धित सरोकारवालालाई जानकारीका लागि सूचना प्रकाशित गरेको हो । ‘अन्यथा पाइएमा नियमानुसार कारबाही हुने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ विभागले चेतावनी दिँदै भनेको छ ।

औषधि ऐन २०३५ को दफा १९ मा औषधिको झुट्टा वा भ्रमात्मक प्रचार गर्न नहुने कानूनी व्यवस्था रहेको छ । हाल सामाजिक सञ्जाल, पत्रपत्रिका, अनलाइन लगायतका माध्यममा अनलाइन फार्मेसीको नाममा भारी छूट सुविधा उल्लेख गर्दै प्रचार प्रसार हुन थालेपछि विभागले त्यसप्रति आफ्नो ध्यानाकर्षण जनाएको छ ।

सामाजिक सञ्जाल वा पत्रपत्रिकाहरुमा औषधिहरुको विज्ञापन गर्नुपूर्व औषधि ऐनको दफा १९ अनुसार विभागबाट पूर्व स्वीकृति लिनुपर्ने हुन्छ । त्यसै अनुसार विभागले अर्को व्यवस्था नहुञ्जेल सम्मका लागि अनुमतिबिना सञ्चालनमा रहेका सबै अनलाइन फार्मेसी तत्काल बन्द गर्न भनेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१